सामाजिक एवम् सांस्कृतिक जागरणकी अग्रणी योद्धा : योगमाया

सामाजिक एवम् सांस्कृतिक जागरणकी अग्रणी योद्धा : योगमाया


यो दुनियाँमा दैनिक कयौँ मानिसहरू जन्मन्छन् र मर्छन पनि । यसरी जन्मने र मर्ने क्रममा सबै मानिसहरूको लेखाजोखा हुन सक्दैन । तथापि जसले यस धरतीमा जन्म लिएपछि आफू उभिएको धरती, समाज र राष्ट्रका लागि केही गरेर गएका हुन्छन् । उनीहरूलाई भावि पुस्ताले चिरकालसम्म सम्झनामा राख्दै उनको कर्मलाई स्मरण गर्दै सम्मान गर्ने गर्छ । यही पंक्तिमा पर्ने व्यक्तित्व हुन्- योगमाया न्यौपाने ।

उनी सामाजिक, राजनीतिक, आर्थिक सुधार, दासप्रथा, सतीप्रथा, जातीय भेद्भावको अन्त्य, न्याय, महिला मर्यादा, विधुवा अधिकार लगायतका सामाजिक न्यायसँग सम्बन्धित विभिन्न माग तत्कालिन सरकारसँग राख्दा सरकारले नसुनेपछि सरकार र त्यसबेलाको राज्यसंचालन सम्बन्धी कुराहरूको विरोधमा विद्रोहको आगो ओकल्दै आफ्ना ६८ जना अनुयायीहरूका साथ अरुण नदीमा जल समाधि लिई आत्मदाह गर्ने, गराउने नेपाली महिला आन्दोलनकी प्रथम अग्रणी योद्धा समेत हुन् । उनको जन्म सन् १८६४ (वि.सं. १९२०) मा पूर्वी नेपालको भोजपुर, दिङ्गला, थुम इलाकामा पर्ने नेपाले डाँडा गा.वि.स., वडा नं. ४ मा पर्ने मजुवा, सानो सिम्ले गाउँमा पिता श्रीलाल न्यौपाने तथा माता चन्द्रकला न्यौपानेका सुपुत्रीका रुपमा भएको थियो ।

तात्कालिन सामाजिक परिवेश अनुरुप उनको विवाह त्यही गाउँका मनोरथ कोइरालासँग केवल ५ वर्षको उमेरमा भएको पाइन्छ । तर विवाहको २ वर्ष बित्दा-नबित्दै उनका श्रीमान् मनोरथ स्वर्गारोहण भएपछि उनी बालबिधुवा बन्न पुगिन् । ७ वर्षको बाल्यकालमा बाल बिधुवा बन्न पुगेकी उनीमाथि अलच्छिना, कुलङ्गार, पोइटोक्वी जस्ता लान्छनाहरू लगाएर पतिको घरमा बस्न नसक्ने अवस्था आइलागेपछि आश्रयका लागि माइतीघरमा गइन् । तर माइतीले पनि अर्कालाई जिम्मा लगाएर टाउको हलुङ्गो भयो भनी ठानिएकी साहाराबिहिन चेलीलाई भने आश्रय दिन गाह्रै मानेको थियो । तथापि केही दिनका लागि मुस्किलले उनले माइतीघरमा आश्रय पाइन् । तर माया-ममता र उनीमाथि परेको सामाजिक पीडाको औषधि भने पाइनन् । समय बित्दै जाने क्रममा कसैको सहाराको आशा गरेर बाँच्दै जाने क्रममा उनी एक स्थानीय युवकप्रति आकर्षित भइन् । उनीहरू दुबैको मन मिलेर विवाह गर्न राजी भए । तर समाजले उनीहरूको विवाह हुने कुरामा विधुवा विवाह हुन सक्दैन भनेर भाँजो हालेपछि उनीहरू भागेर भारतको आसाममा पुगी जीवन निर्वाह गर्नथाले । उनीहरूबाट १ बच्ची जन्मेपनि बच्न सकिनन् । पीडामाथि पीडा थपिइरहेकै अवस्थामा योगमाया दोस्रोपटक विधुवा भइन् । अर्थात् उनका दोस्रा श्रीमान् पनि आसाममा बिते । र, केही समयपश्चात् उनी तेस्रो विवाह गर्न बाध्य भइन् । जसबाट छोरी नैनकला जन्मिइन् । तर योगमाया आफ्नो तेस्रो पतिसँग पनि लामो समय रहिनन् । उनले सल्लाह गरेर नै आसाम छोडी छोरीलाई लिएर पुनः माइती सिम्ले फर्किइन् । भाइ अग्निधर र बुहारी गंगा न्यौपानेले उनलाई आश्रय दिए तर समाजले स्वीकारेन । उल्टो अग्निधर र गंगासमेत सामाजिक बहिष्कारमा पर्न थालेपछि छोरी नैनकलालाई माइतमै छाडेर आफू त्यहाँबाट अनिश्चितकालिन यात्रामा हिँडिन् ।

जिन्दगीमा अपमान, पीडा, सामाजिक कुदृष्टि, अभाव र गरीबीले थिल्थिल्याएका कारण योगमाया धर्मलाई नै साहारा मानेर विभिन्न तीर्थस्थल डुल्न थालिन् । उनले यात्राका क्रममा विविध जाती, संस्कृति र भूगोललाई बुझ्न थालिन् । यसैक्रममा उनले बालागुरु षडानन्द, प्युठानका स्वर्गद्वारी महाप्रभू अभयानन्द जस्ता व्यक्तित्वहरूसँग भेट गरिन् । स्वामी अभयानन्दबाट आध्यात्मिक ज्ञान पाइन् साथै त्यहीँ उनले अक्षराम्भ पनि गरिन् । उनको अधिकांश समय व्रत, तप, न्यास-ध्यान एवं भजनमा बित्न थाल्यो । सन्यास लिएकी योगमायाले अरुण नदीको किनारमा अवस्थित गौँडेनीमा गई तपस्विनीको रुपमा लामो साधना, भजन, ध्यान गरिन् । उनी योगिनी भइन् ।

उनले धर्म–संस्कार, आचरणमा सुधार ल्याउन अनेक प्रयत्न गरिन् । तात्कालिन समाज र सरकारको सामाजिक न्याय विरुद्धको कृयाकलापको विरुद्धमा उनले सबै जातजातिलाई समान मानिन् । उनले समाज र परिवर्तन तथा शासकविरुद्ध हाँक छेडिन् । उनको मुखबाट निस्कने ज्ञानमय, काव्यमय, वाणी सुन्न दिनहुँजसो भीड लाग्नथाल्यो । अब योगमायाको प्रसिद्धि नेपालमा मात्र होइन, भारत र भुटानसम्म पनि फैलन पुग्यो । उनले सतीप्रथा, दासप्रथा, जातपातको अन्त्य, न्याय, महिला मर्यादा, विधुवा अधिकार, मानापाथीको एकरुपता लगायतका राजनीतिक तथा सामाजिक परिवर्तनको माग राखिन् राणा प्रधानमन्त्री जुद्धसंशेरसमक्ष । तर उनको माग पूरा भएन । आश्वासन भने पाइरहिन् । आफ्नो माग पूरा नभएपछि योगमाया काठमाडौं गइन् राजासमक्ष माग राख्ने उद्देश्यले । तर, राणाहरूले भेट्न दिएनन् ।

ज्ञान र काम नभएकी देखाउन विद्वान्हरूवीच योगमायालाई तर्क-वितर्क गर्न लगाइयो । उनका सामू जुद्धसंशेरले ल्याएका विद्वान्हरू निरीह भए । शास्त्रास्त्रको नतिजापछि जुद्धसंशेरले योगमायालाई प्रत्यक्ष भेटेर योगमायाको माग ‘सत्य, धर्म र भिक्षा’ पूरा गर्ने वाचा गरेर उनलाई मझुवागौडेनी (भोजपुर) पुऱ्याउन लगाए । यसैक्रममा उनले आफ्ना माग पूरा गराउन पटक-पटक सरकारलाई घच्घच्याइरहिन् । धनकुटा गौँडो र भोजपुर गोश्वारा अड्डालाई पनि घच्घच्याइरहँदा पनि माग पूरा नभएपछि उनले सरकारको विरुद्धमा वि.सं. १९९५ सालको मंसिरे पूर्णिमाका दिन यज्ञ गराएर २४० जना अनुयायीहरूलाई आत्मदाह गर्न तयार गराइन् । ठूलो खाल्टो, धेरै दाउरा र प्रशस्त घ्यू बन्दोबस्त भयो, आत्मदाह गर्न । तर शासकवर्गले उनीहरूको कार्यक्रम भाँडे र केही समातिए । योगमाया तीन महिनामै मुक्त भइन् तर दुई वर्षपछि मात्रै अरु छुटे । त्यसपछि भने योगमायामाथि शासकको कठोर दृष्टिकोण पर्नथाल्यो । उनीमाथि विभिन्न आरोप लगाएर दुःख दिन थालियो । उनको विचार संकलित काव्यकृति ‘सर्वार्थ योगवाणी’माथि प्रतिबन्ध लाग्यो । सरकार, समाज तथा संस्कृतिको विरोधका साथै आफ्ना मागमा अडिग योगमायाले ४५ जना महिला र २३ जना पुरुषसहित ६८ जना अनुयायीको साथमा वि.सं. १९९८ असार २१ गतेका दिन अरुण नदी (भोजपुर, नेपाले डाँडा, मजुवा)मा सामूहिक जलसमाधि लिइन् ।

यसरी एक सामाजिक जागरण एवं सांस्कृतिक आन्दोलनकी प्रथम महिला योद्धा एवं कवयत्रीका साथै महान् विभूति योगमाया न्यौपानेको जीवनलीला टुङ्गिन्छ । उनको जीवनीका अन्य पाटा एवं उनको योगदानलाई चिरस्थायी बनाउँदै उनको सम्मानमा सरकार एवं जनस्तरबाट समेत केही काम हुनु जरुरी छ । साथै मुलुकको विद्वत् वर्गसँग उनका बारेमा अनुसन्धनात्मक कृतिहरू जनमानसमा ल्याउन समेत यही लेखमार्फत् अनुरोध गर्दछु ।

(भोजपुर दिङ्ला क्षेत्रका स्थानीय बूढापाकाबाट प्राप्त जानकारीको आधारमा – लेखक)