४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण


दशकौँ लामो द्वन्द्वमुक्त मुलुक घोषणा भएको झन्डै एक महिनापछि ४७ जना माओवादी विद्रोहीले आत्मसमर्पण गरेको भारतीय प्रहरीले जनाएको छ ।

भारतले विगत दुई वर्षदेखि नक्सलवादी विद्रोहको ‘अन्तिम अवशेष’विरुद्ध अभियान चलाउँदै आएको छ । नक्सलवादी विद्रोहको नामाकरण हिमालयको फेदमा रहेको नक्सलबारी भनिने एउटा गाउँको नामबाट राखिएको थियो, जहाँ करिब ६ दशकअघि माओवादी प्रेरित विद्रोह सुरु भएको थियो। विगतमा यो समूहले मध्य भारतको खनिज-समृद्ध वनमा सीमान्तकृत आदिवासीको अधिकारका लागि सङ्घर्ष गरिरहेको भन्ने गर्थ्यो ।

दक्षिणी राज्य तेलङ्गानाको प्रहरीले भनेको छ, ‘४७ जना माओवादी सदस्यहरूले मूलधारमा सामेल हुने निर्णय गर्दै आत्म समर्पण गरेका छन् । लगभग सबै भूमिगत प्रमुख नेताहरू अब आन्दोलनबाट बिदा लिएका छन् ।’

भारतका गृहमन्त्री अमित शाहले ३० मार्चमा देशलाई नक्सलमुक्त घोषणा गरेका थिए ।

सन् १९६७ मा केही गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूको विरूद्ध विद्रोह गरेयता १२ हजारभन्दा बढी विद्रोही, सैनिक र नागरिकहरू मारिएका छन् ।

सन् २००० को दशकको मध्यमा आन्दोलन उत्कर्ष अवस्थामा पुगेको थियो । विद्रोहले देशको विभिन्न भागहरूमा अनुमानित १५ हजार देखि २० हजार तालिमपप्त सशस्त्र लडाकुहरूको जोहो गरेको थियो तर हालैका वर्षहरूमा यो निकै कमजोर भएको थियो ।

प्रहरीले बाँकी सदस्यलाई पनि हतियार त्याग्न अपिल गरेको छ ।

अधिकारीहरूले आत्मसमर्पण गरेका विद्रोहीहरूलाई व्यावसायिक तालिम र पुनस्र्थापना कार्यक्रममार्फत नयाँ नागरिक पहिचान प्रदान गर्न लागिएको बताएका छन् ।

आत्मसमर्पण गरेका ४७ जना माओवादीलाई उनीहरूको पुनर्स्थापनाका लागि कुल एक लाख ५९ हजार अमेरिकी डलर दिइनेछ, जसमा प्रत्येक माओवादीलाई भण्डै तीन हजार ४०० अमेरिकी डलर दिइनेछ ।

विद्रोहीहरूले जङ्गलको बाटोमा राखेका सयौं बारुदी सुरुङहरू सफा गर्नु सरकारका लागि अबको एउटा प्रमुख चुनौतीपूर्ण काम बाँकी नै छ ।