सरकारी पूर्वाग्रह र नाकाबन्दीले संकटमा मिडिया

सरकारी पूर्वाग्रह र नाकाबन्दीले संकटमा मिडिया


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिई केवल सरकारी मिडियामा मात्र सीमित गर्ने जुन निर्णयको सङ्केत गरेको छ, यसले निजी क्षेत्रका सञ्चारमाध्यमहरुमाथि गम्भीर प्रहार गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलन र नागरिक सचेतनाको यात्रामा निजी क्षेत्रका सञ्चारमाध्यमको भूमिका एउटा बलियो खम्बाका रूपमा रहँदै आएको छ । तर, पछिल्लो समय रास्वपा सरकारले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने जुन नीतिगत संकेत वा निर्णय गरेको छ, यसले लोकतन्त्रको चौथो अंगमाथि गम्भीर प्रहार गरेको छ । यो कदम केवल आर्थिक नियन्त्रण मात्र नभई, स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने एकाधिकारवादी सोचको उपज त होइन ?- प्रश्न उठेको छ ।

वि.स. २०१० को दशकदेखि नै नेपालको शासकीय स्वरूप परिवर्तनका लागि निजी क्षेत्रका मिडियाले सारथिको भूमिका निर्वाह गरेका छन् । जतिबेला राज्य संयन्त्र र सरकारी सञ्चारमाध्यमहरू सत्ताको गुणगानमा व्यस्त थिए, त्यतिबेला सीमित स्रोत र साधनका बीच निजी छापा माध्यमहरूले नै नागरिकलाई सुसूचित गर्ने र परिवर्तनको पक्षमा उभ्याउने काम गरेका थिए । २००७, २०४६ र २०६२/’६३ का राजनीतिक परिवर्तनका प्रत्येक ऐतिहासिक मोडहरूमा निजी सञ्चारमाध्यमहरूले नै जनमत निर्माण गरेको इतिहास छ ।

जेलनेल र प्रतिबन्धका बीच पनि निजी मिडियाले नै नागरिकका हक-अधिकार एवम् प्रेस स्वतन्त्रताका लागि पहरेदारी गरेका हुन् । आजको लोकतान्त्रिक जग निर्माणमा निजी क्षेत्रको सात दशक लामो लगानी र बलिदान रहेको तथ्यलाई वर्तमान सरकारले नजरअन्दाज गर्नु विडम्बनापूर्ण छ । विज्ञापन कुनै दया वा दान होइन, यो सूचनाको हक र बजारको हिस्सा हो । लोकतन्त्रमा राज्यका सूचनाहरू समानुपातिक ढंगले नागरिकसम्म पुग्नुपर्छ ।

सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित राख्नुले २ खतरा उत्पन्न हुन्छ । १. विज्ञापनबाट वञ्चित गरेर निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने र अन्ततः बन्द गर्न बाध्य पार्ने । २. केवल सरकारी भाष्य मात्र जनतामा पुगोस् भन्ने संकुचित सोचको विकास गर्ने । प्रेस स्वतन्त्रताको अर्थ केवल छाप्न पाउनु मात्र होइन, प्रेसलाई बाँच्न सक्ने वातावरण प्रदान गर्नु पनि राज्यको दायित्व हो ।

अझ रोचक र विडम्बनापूर्ण पक्ष त के छ भने, आज जुन राजनीतिक शक्ति सत्तामा छ, त्यसको उदयमा पनि पछिल्लो समय निजी सञ्चारमाध्यम र सामाजिक बहसकै ठूलो हात छ । वैकल्पिक राजनीतिको वकालत गर्ने शक्तिले नै प्रेसलाई नियन्त्रण गर्ने र संकुचित बनाउने बाटो रोज्नु ‘आफैंले टेकेको हाँगा काट्नु’ सरह हो । वस्तुतथ्यलाई नजरअन्दाज गरेर लिइएको यस्तो अपरिपक्व निर्णयले सरकारको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न-चिह्न खडा गरेको छ । सरकारी सञ्चारमाध्यमको मात्र संरक्षण गर्ने नीतिले प्रेस जगतमा ‘सिण्डिकेट’ जन्माउने छ, जुन खुल्ला बजार र लोकतन्त्रको मर्मविपरीत हुन्छ ।

अतः सरकारले आफ्नो यस आत्मघाती र एकाधिकारवादी निर्णयमाथि तत्काल पुनर्विचार गर्न अपरिहार्य छ । निजी क्षेत्रका मिडिया, विशेषगरी साप्ताहिक र छापा माध्यमहरू, जसले दशकौंदेखि लोकतन्त्रको पहरेदारी गरिरहेका छन्, तिनको अस्तित्व संकटमा पार्नु भनेको अन्ततः लोकतान्त्रिक पद्धतिलाई नै कमजोर बनाउनु हो । सरकारले विज्ञापनको न्यायोचित र समानुपातिक वितरण सुनिश्चित गर्दै निजी प्रेसको योगदानको सम्मान गरोस् । राज्यले अभिभावकीय भूमिका निर्वाह गर्दै प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको सम्वर्द्धनमा टेवा पुऱ्याउने र संकट टार्ने तर्फ सरकारको प्राथमिकता हुनैपर्छ । सञ्चारमाध्यमलाई शत्रु होइन, समृद्ध नेपाल बनाउने अभियानको साझेदार बनाउने उदार दृष्टि सशीघ्र सरकारको होस्- हाम्रो कामना र जोडदार माग यही हो ।