दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते


स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले दिल्ली विमानस्थलबाट उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ । उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन् ।

यो घटना आइतबार (२६ अप्रिल) बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १ः०८ बजे धावनमार्गमा थियो।

विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए। आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ।

विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो। विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए ।

सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक विमान रहेको बताइएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।