एनअारएनए यूकेकाे अधिवेशन अब सेप्टेम्बर २० मा हुने

एनअारएनए यूकेकाे अधिवेशन अब सेप्टेम्बर २० मा हुने


logo-nrnaलन्डन । गत १२ तारिख, गैरअावासीय नेपाली संघ यूकेकाे कार्यसमितिको बैठकको निर्णयले बेलायतको राष्ट्रिय परिषदमा पहिला निर्णय गरिएको महाधिबेशनको मितिलाई धेरैजसो सदस्यहरुको अनुरोधमा समय अबधि बढाउन माग गरिएको हुँदा सर्बसम्मतिले २ हप्तापछि सार्दै २० सेप्टेंबर २०१५ आइतबारको दिन साउथ ईस्ट लन्डनमा सम्पन्न गर्ने निर्णय गरेकाे समाचार विज्ञप्ति निकालेकाे छ । सोहीअनुसार सदस्यता बन्ने र नवीकरण गर्ने समय सीमालाई पनि सदस्यहरुको अनुरोधमा पर सारी १५ अगस्त साँझ ६ बजेसम्म तोकिएको छ ।
विज्ञप्तिअनुसार, एनआरएन यूकेले डा. राघव धितालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा एनआरएन यूकेका पूर्व महासचिव रामशरण सिंखडा सदस्यसचिव तोकिएका छन् र सदस्यहरुमा डा चन्द्र लक्सम्बा, विश्वआदर्श पण्डित, भक्त गुरुंग, पूर्ण लक्सम र शिवजी श्रेष्ठ छन् । संरक्षक परिषदका सबै सदस्य र बेलायतबाट आईसीसीमा प्रतिनिधीत्व गर्ने सबै सदस्य सम्मिलित अनुगमन समिति पनि गठन गरिएको छ । बैठकले प्राध्यापक डा. सूर्य सुवेदीको संयोजकत्वमा इलेक्सन कम्प्लेन्ट्स कमिसन पनि गठन गरेको छ, जसमा डा. पदम सिंखडा, राजु थापा, डा. हेमराज शर्मा, जया राई, सुरेशजंग शाह, हितमान गुरुंग, सुमन खरेल, उमेश मोक्तान र नरेन्द्र कंडेल सदस्य रहेको सो कमिसनले सदस्यतासम्बन्धी कुनै पनि गुनासो र उजुरीबारे छानबिन गर्नेछ ।
त्यस्तै बैठकले गणेश इजमको संयोजकत्वमा विधान संसोधन समिति पनि बनाउने निर्णय गरेको छ जसमा फणिन्द्र भट्टराई र उत्तरमान तिगेला सदस्य छन् । केही दिनपहिले सार्वजनिक गरिएको कमल गुरुङकाे नेतृत्वको आर्थिक छानबिन समितिको प्रतिवेदनलाई बैठकले अपुरो ठहर गरेको छ । सो प्रतिवेदन अपुरो रहेको तथा ढिलो गरी र प्रक्रिया नपुरयाएर सार्वजनिक गरिएको भन्दै यसलाई पूर्णता दिन लेखापरीक्षकको जिम्मा लगाउने निर्णय भएको छ । त्यस्तै बैठकले निवर्तमान अधयक्ष योगेन क्षेत्रीलाई अगस्ट १५ सम्मको समयसीमा दिंदै खातापाता बुझाउन निर्देशन दिएको छ । क्षेत्रीले सो समय सीमासम्म पनि खातापाता नबुझाए उनलाई एनआरएन यूकेको संरक्षकबाट स्वत: हट्ने निर्णय समेत गरिएको छ ।
महासचिब आर के त्रिपाठीलाई नेपालमा हुने सिस्मिक डिजाइन अर्थक्वेक माेडेल (Sesmic Design Earthquake Model, Research Presentation) बेलायतको रिसर्च प्रस्तुत गर्न ३ हप्ताको लागि नेपाल पठाउने र नेपालमा भवन बिभाग, इन्जिनीयर्स एसोसिएशनको प्रबिधिकहरुसँग प्रस्तुत गर्ने निर्णयका साथै महाविनाशकारी भूकम्पकाे मारमा परेका कार्यसमितिका सदस्य बुद्धि थापा मगरको अनुरोधमा £२०००.०० संकलन गरी मिलान टोल सुधर समितिमार्फ़त घरहरु सफा गर्न आर्थिक सहयोग गर्ने निर्णय साेही विज्ञप्तिमार्फत सार्वजनिक गरिएकाे छ ।