यतिबेला काङ्ग्रेसको अवस्था हेर्दा विरक्तलाग्दो र निराशाजनक छ । गगन थापाले कुनै दुर्घटना हुनुभन्दा अघि नै पार्टीलाई एक बनाउने सुत्र अवलम्बन गरी अगाडि बढ्न सके उनी स्वयम् र काङ्ग्रेसको समेत हित हुने देखिन्छ, सभापतिको क्षमता र कार्यकुशलता समेत देखिन सक्छ ।
✍ ओम आचार्य

‘विशेष अधिवेशन’बाट नेपाली काङ्ग्रेसका सभापति बनेका गगन थापाले आफ्नो कार्यसमितिको वैधानिकतामा कुनै द्विविधा नराखी निश्चिन्त भएर कार्यसञ्चालन गर्दै आएका छन् । थापाको नेतृत्वले नियमित महाअधिवेशन गर्ने विषयदेखि लिएर क्रियाशील सदस्य सम्बन्धमा पनि निर्णय गरिसकेको छ । गत फागुनको प्रतिनिधिसभाको निर्वाचनको समीक्षा-बैठक कोशी प्रदेशमा सम्पन्न गरिसकेको छ भने अन्य प्रदेशमा पनि गर्दै जाने भएको छ । क्रियाशील सदस्यलाई अध्यावधिक गर्न सबै जिल्लाहरूमा जरा अभियानको लागि प्रतिनिधिसमेत खटाइसकेको छ ।
निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरिसकेपछि काङ्ग्रेसलाई चलायमान बनाइराख्न अदालतको निर्णय आउनुभन्दा अगाडिदेखि नै कुनै विलम्ब नगरी शंसय नराखी सभापतिले कार्यसमितिलाई सक्रिय गराउँदै आएका छन् ।
जेनजी आन्दोलनमा पार्टीको केन्द्रिय भवनमा भएको आगजनीले पुऱ्याएको भौतिक संरचनाको क्षतिको मर्मत र सम्भारमा जुटेर पुर्वअवस्थामा पुऱ्याएको छ ।
पार्टीको दैनिक प्रशासनको कार्यमा मात्रै वर्तमान कार्यसमिति गम्भीर देखिन्छ । अहिले यस्तो दैनिक प्रशासनिक कामले मात्र पुग्दैन, पार्टीले आफ्नो गुमेको वर्चस्वलाई कायम राख्न अन्य राजनीतिक दलहरुसँग पनि समन्वय गरी प्रतिपक्षको भूमिकामा दह्रो र सशक्त भूमिका निर्वाह गर्न उत्तिकै जरुरी छ ।
सभापति गगन थापाको नेतृत्वको कार्यसमितिभित्र काङ्ग्रेसकै सिनियर र पार्टी सञ्चालन गर्न अनुभवीहरूको ठुलै हिस्सा बाहिरै छन्, जसलाई संस्थापनइतर पक्ष भनेर चिनिन्छ । पूर्व कार्यवाहक सभापति पुर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, डा. शशांक कोइराला लगायत धेरै नेताले सभापति गगन थापाको वर्तमान पदाधिकारीमा असहमति जनाउँदै नियमित महाअधिवेशन आयोजक समिति बनाउनुपर्ने भनाइ राख्दै आएका छन् । उनीहरू अन्तरकलह मिलाउन राजनीतिक रणनीतिको लडाइँमा छन् । काङ्ग्रेसभित्र आन्तरिक एकताका लागि लडाइँ गर्दै आएका छन् । माथि उल्लेख गरिएका नामहरू फगत् व्यक्ति हुन् भनेर सभापतिले सोच्नु हुँदैन । काङ्ग्रेसभित्र उनीहरूको बेग्लै इतिहास छ र त्यो इतिहासलाई मार्ने या रोक्ने काम अहिलेको कार्यसमितिले नगरोस् । यसमा गगन थापा विशेष सचेत र संयम हुनुपर्छ । उल्लिखित नेताहरूको पछाडि काङ्ग्रेसको ठुलै झुन्ड छ – यो कुरालाई मनन गरेर धारण गर्नु जरुरी छ ।
गगन थापाले संस्थापन र संस्थापनइतर दुबै समुहलाई बोक्न काँध बलियो बनाउने समय आएको छ । उनमा ठुलो जिम्मेवारी र त्यागको पनि त्यत्तिकै आवश्यकता छ ।
काङ्ग्रेसलाई पुस्तान्तरण र रुपान्तरणको नाममा संगठन परिमार्जित गर्न जति जरुरी छ त्यति नै आवश्यक छ सिनियर नेताहरूको अनुभव र क्षमतालाई आत्मसात गर्दै अवलम्बन गर्नु र समेट्नु !
तत्कालिन केन्द्रिय समितिको असहमति र विमति हुँदाहुँदै विशेष अधिवेशनबाट सभापति बनेका गगन थापालाई पार्टी सञ्चालन गर्न अहिले कठिन र कष्टप्रद छ । थापाको नेतृत्वमा निर्मित केन्द्रिय समिति पार्टीभित्रको द्वन्द्व र ठुलै विवाद तथा कष्टकारी प्रसवबाट जन्मेको हुँदा त्यस्तो जन्म सर्वस्विकार्य र सबैको मोह/प्रेम दिने काम अब गगन थापाकै एकल निर्णय बढी जिम्मेवार छ । गगन थापाले संस्थापन र संस्थापनइतर दुबै समुहलाई बोक्न काँध बलियो बनाउने समय आएको छ । उनमा ठुलो जिम्मेवारी र त्यागको पनि त्यत्तिकै आवश्यकता छ । संस्थापनइतरको आन्तरिक एकताको शर्तलाई ‘काङ्ग्रेसको हितमा हो’ भनेर सकेसम्म न्युनतम् बिन्दुमा सहमति गरेर पार्टीलाई एक बनाउने जिम्मा मुलतः सभापति गगन थापाकै दायित्व र धर्म हो ।
विराटनगरमा भएको कोशी प्रदेशको समीक्षा बैठकमा सभापति गगन थापा आउँदा काङ्ग्रेसको ‘परम धाम’, ‘प्रेरणाको श्रोत’ भनेर उल्लेख गर्ने गरिएको कोइराला निवासमा गगन थापा नपुग्नुलाई धेरैले रुचाएनन् । यो काङ्ग्रेसभित्रको संस्कार पनि होइन । यस्तो क्रियाकलापले अहिले भएको काङ्ग्रेसभित्रको द्वन्द्व घट्ने हैन बढ्न सक्छ । सभापतिले अहिले त्यो निवासमा को छ भनेर भन्नुभन्दा त्यो निवासको गरिमा, महत्व र ऐतिहासिकतालाई अहिलेसम्म काङ्ग्रेसले बचाएर राखेको छ र त्यो काङ्ग्रेसको धरोहर हो – यसरी बुझे राम्रो हुन्छ । त्यसलाइ कम आँक्नु हुँदैनथ्यो ।
समग्रमा भन्नुपर्दा, यतिबेला काङ्ग्रेसको अवस्था हेर्दा विरक्तलाग्दो र निराशाजनक छ । गगन थापाले कुनै दुर्घटना हुनुभन्दा अघि नै पार्टी एक बनाउने सुत्र अवलम्बन गरी अगाडि बढ्न सके स्वयमको मात्र नभइ काङ्ग्रेसको समेत हितमा देखिन्छ, सभापतिको क्षमता र कार्यकुशलता समेत देखिन सक्छ । अन्यथा, पार्टीमा बिग्रह आए उनको कार्यकालमा काङ्ग्रेसभित्र आउने ठुलै क्षतिको दोष गगन थापाको थाप्लोमा आउनेछ, त्यो भारी उनले बोक्नुपर्ने छ !
प्रतिक्रिया