समयमै अध्यादेश प्रमाणीकरण गर्न आग्रह

समयमै अध्यादेश प्रमाणीकरण गर्न आग्रह


सरकारले ल्याएको अध्यादेश यतिबेला राजनीतिक वृत्तमा चर्चाको सन्दर्भ बनिरहेको छ । जनहितका काम छिटोछरितो रुपमा सम्पादन गर्नका लागि अध्यादेश ल्याउनुपरेको सरकार पक्षको दाबी छ भने विपक्षीले चाहिँ सरकार निरंकुश र अलोकतान्त्रिक मार्गमा अघि बढ्न खोजेको भन्दै विरोध जनाइरहेका छन् । अध्यादेश पास नगर्न विपक्षी दलहरुले दबाब दिएकाले राष्ट्रपति रामचन्द्र पौडेलसमेत विलखबन्दमा परेका छन् । पास नगर्दा सरकार रिसाएर आफूविरुद्ध अनपेक्षित कदम चालिदेला भन्ने त्रास, पास गरिदिँदा संसदीय परिपाटीविरुद्ध गएको भन्दै आलोचना र विरोध हुने सम्भावना ! यस्तो दोधारमा परेका छन् राष्ट्रपति, जसले गर्दा अध्यादेश पारित हुन विलम्ब भइरहेको छ ।

यस्तो परिवेशमा चर्चित युवा गुरु केदार बरालले राष्ट्रिय हितलाई सर्वोपरि राखी राष्ट्रपतिबाट समयमै अध्यादेश प्रमाणीकरण हुनुपर्ने धारणा अघिसार्नुभएको छ । उहाँले भन्नुभएको छ- ‘राष्ट्रपतिज्यूले अहिले प्रस्तुत भएका अध्यादेशहरूलाई केवल कानुनी कागजपत्रका रूपमा होइन, देशको भविष्यसँग जोडिएको सुधारको अवसरका रूपमा हेर्न आवश्यक छ । यी निर्णयहरू कुनै व्यक्ति, दल वा सीमित स्वार्थका लागि होइनन्, सार्वजनिक सेवा सहज बनाउन, प्रशासनिक जटिलता हटाउन र जनताले छिटो परिणाम पाउन ल्याइएका कदम हुन् । त्यसैले यस्ता विषयमा राष्ट्रपतिज्यूले राष्ट्रिय हितलाई सर्वोपरि राखी समयमै प्रमाणीकरण गर्नु आजको आवश्यकता हो ।’

गुरु केदार बरालले अगाडि भन्नुभएको छ- ‘आज देशमा नयाँ पुस्ताले आशा बोकेको छ । युवा नेतृत्वले पुराना ढर्रा तोडेर देश बनाउने संकल्पका साथ काम गर्न खोजिरहेको बेला राज्यका सबै संवैधानिक निकायहरूले पनि सकारात्मक सहयोग गर्नु जरुरी हुन्छ। परिवर्तनको बाटो सधैं सजिलो हुँदैन, त्यसमा अवरोध, आलोचना र स्वार्थका राजनीति पनि आउँछन् । तर देश बनाउने अभियानलाई रोकेर होइन, सहजीकरण गरेर मात्र परिणाम दिन सकिन्छ ।’

‘प्रधानमन्त्रीले अघिसारेका सुधारका कामहरूलाई दलगत चस्माबाट होइन, राष्ट्र निर्माणको दृष्टिकोणबाट हेर्नुपर्छ। विगतमा धेरैले आफ्नो स्वार्थ, गुट र पार्टी हितका कारण देशलाई पछाडि धकेलेका उदाहरण छन् । अब फेरि त्यही गल्ती दोहोऱ्याउने समय होइन । देशले गति खोजिरहेको छ, जनताले परिणाम खोजिरहेका छन्, युवाले अवसर खोजिरहेका छन् । त्यसैले राष्ट्रपतिज्यूले दलभन्दा माथि उठेर, व्यक्ति भन्दा माथि उठेर, राष्ट्रहितलाई केन्द्रमा राखी यी अध्यादेशहरू प्रमाणीकरण गर्नु देशप्रतिको जिम्मेवारी हुनेछ । जब युवाले देश बनाउन हात बढाउँछन् तब राज्यका सबै निकायले पनि साथ दिनुपर्छ। यही साथले नयाँ नेपाल निर्माणको आधार तयार हुनेछ।’