इरानका सर्वोच्च नेता खामेनेई स्वस्थ रहेको दाबी

इरानका सर्वोच्च नेता खामेनेई स्वस्थ रहेको दाबी


इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशङ्काबीच उनको कार्यालयका एक वरिष्ठ सहयोगीले उनी पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेका छन् । अमेरिकी दाबी र बाह्य अड्कलबाजीलाई खारेज गर्दै इरानी पक्षले यस्तो सूचना ‘मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास’ भएको जनाएको छ ।

सर्वोच्च नेताको कार्यालयसँग सम्बद्ध तथा विशेषज्ञ सभाका सदस्य उप अयातुल्ला मोहसेन कोमीले खामेनेईको स्वास्थ्यबारे उठाइएका प्रश्नहरूलाई पश्चिमी रणनीतिको हिस्सा भएको टिप्पणी गरे । उनका अनुसार नेताको सार्वजनिक उपस्थिति नदेखिएको विषयलाई आधार बनाएर शत्रुपक्षले भ्रम फैलाउने प्रयास गरिरहेको छ ।

कोमीले भनेका छन्, “केहीले नेताको स्वास्थ्यबारे जिज्ञासा राखिरहेका छन्, तर यस्तो प्रश्न उठाउनु नै शत्रुको योजना हो । उहाँ किन देखिनुहुन्न्, किन सन्देश आउँदैन भन्ने विषय उठाएर प्रतिक्रिया उक्साउने प्रयास भइरहेको छ ।” उनले यस्ता गतिविधिको उद्देश्य आन्तरिक र बाह्य रूपमा भ्रम सिर्जना गर्नु रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार हाल इरानी नेतृत्वको मुख्य प्राथमिकता सर्वोच्च नेताको सुरक्षा सुनिश्चित गर्नु हो । केही चोटपटक लागे पनि खामेनेई सुरक्षित रहेको र अवस्था नियन्त्रणमा रहेको उनको भनाइ छ । “उहाँ घाइते हुनुभएको थियो, तर अहिले पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ र सक्रिय रूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ”, कोमीले स्पष्टिकरण दिएका छन् ।

कोमीले बम आक्रमण भएको भवनमा खामेनेई उपस्थित रहेको पुष्टि गर्दै संयोगवश ठूलो क्षतिबाट जोगिएको उल्लेख गरे । विस्फोट हुनुभन्दा केही मिनेटअघि उनले स्थान परिवर्तन गरेका कारण ज्यान जोगिएको दाबी गरिएको छ । उक्त घटनामा अन्य व्यक्तिहरूको मृत्यु भएको पनि जनाइएको छ ।

हाल खामेनेईले वार्ता, क्षेत्रीय गतिविधि र रणनीतिक निर्णयहरू प्रत्यक्ष रूपमा निगरानी गरिरहेको कोमीले जानकारी दिए । उनका अनुसार सर्वोच्च नेताले वार्ताकार टोलीलाई विभिन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे स्पष्ट निर्देशनसमेत दिइसकेका छन् ।

यसअघि भारतस्थित इरानी प्रतिनिधि मोहम्मद हुसेन जियेनियाले पनि खामेनेईको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका थिए । उनले हालैको संवादका आधारमा नेता सामान्य अवस्थामा रहेको जनाएका हुन् ।

यद्यपि, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने फरक सन्दर्भ प्रस्तुत गरेका छन् । फेब्रुअरी २८ मा पूर्व सर्वोच्च नेता अली खामेनेईको परिसरमा भएको हवाई आक्रमणपछि मोजताबा खामेनेई सार्वजनिक रूपमा कम देखिएको उल्लेख गरिएको छ । उक्त आक्रमणमा उहाँका परिवारका सदस्यहरू समेत मारिएको रिपोर्ट गरिएको थियो ।

त्यसपछि उनको पहुँच सीमित गरिएको र उपचार प्रक्रियामा रहेको खबरहरू बाहिरिएका थिए । सीमित व्यक्तिहरू — विशेषगरी चिकित्सकहरू — मात्र उनको सम्पर्कमा रहेको बताइएको थियो । यद्यपि इरानी अधिकारीहरूले पछिल्ला सबै अड्कलबाजीलाई अस्वीकार गर्दै नेता पूर्ण रूपमा सक्रिय रहेको दाबी दोहोर्‍याएका छन् ।