(इतिहास)
नेपालको आधुनिक इतिहासमा नेपाल-अंग्रेज युद्ध एउटा यस्तो निर्णायक मोड हो जसले मुलुकको वर्तमान सिमाना, राजनीति र परराष्ट्र नीतिको जग बसाल्यो । १८औं शताब्दीको उत्तरार्धमा सुरु भएको गोर्खाली साम्राज्यको विस्तार र भारतमा आफ्नो प्रभुत्व जमाउँदै गरेको ब्रिटिस इस्ट इन्डिया कम्पनीको स्वार्थ बाझिएपछि यो भीषण युद्धको सूत्रपात भएको थियो ।
✍ वसन्त गौतम
नेपालको एकीकरण
नेपालको एकीकरण १८ औँ शताब्दीको मध्यतिर वि.सं. १८०१-१८७३ बीच राजा पृथ्वीनारायण शाहले सुरु गरेको ठूलो एउटा अभियान यात्रा हो । यसको मुख्य उद्देश्य स-साना राज्यहरूलाई एकै ठाउँमा ल्याएर बलियो र एकीकृत नेपाल बनाउनु थियो । यस अभियानमा सैनिक शक्ति र कूटनीतिक उपाय दुवै प्रयोग गरिएको थियो । नुवाकोट विजयपछि गोरखा राज्य विस्तार हुँदै गयो र बिस्तारै धेरै स-साना राज्यहरू नेपालमा समेटीए। यसै प्रक्रियाबाट पश्चिममा सतलज देखि पूर्वमा टिस्टासम्म फैलिएको ठूलो भूभागलाई एउटै राष्ट्रका रूपमा जोडीयो । यही अभियानका कारण आजको आधुनिक नेपालको आधार तयार भयो र सिङ्गो नेपाल बन्यो ।
अंग्रेजहरूले नेपाल तिर वि.सं. १८२४को दशकदेखि नै आँखा गाडेका थिए । नेपाल-अंग्रेज युद्ध केवल भूमि जित्ने वा हार्ने लडाइँमात्र थिएन यो नेपाली राष्ट्रियता, वीरता र स्वाभिमानको लडाइँ पनि थियो । यस युद्धले नेपालीलाई ‘वीर गोर्खाली’ को पहिचान दिलायो भने अंग्रेजहरूलाई नेपाली सँग सधैँका लागि सचेत हुन बाध्य बनायो । आजको नेपालको सार्वभौमिकता र भौगोलिक स्वरूप यही युद्ध र त्यसपछिको कूटनीतिक उतार चढावको जगमा उभिएको छ।
नेपाल-अङ्ग्रेज युद्ध र सुगौली सन्धि
नेपालको आधुनिक इतिहासमा नेपाल-अंग्रेज युद्ध एउटा यस्तो निर्णायक मोड हो जसले मुलुकको वर्तमान सिमाना, राजनीति र परराष्ट्र नीतिको जग बसाल्यो । १८औं शताब्दीको उत्तरार्धमा सुरु भएको गोर्खाली साम्राज्यको विस्तार र भारतमा आफ्नो प्रभुत्व जमाउँदै गरेको ब्रिटिस इस्ट इन्डिया कम्पनीको स्वार्थ बाझिएपछि यो भीषण युद्धको सूत्रपात भएको थियो ।
नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीको बीच सम्पन्न भएको सुगौली सन्धि नेपालको इतिहासमा अत्यन्त महत्वपूर्ण घटना मानिन्छ । यस सन्धिले नेपाल-अंग्रेज युद्ध को अन्त्य गराउँदै नेपाल-अंग्रेज सम्बन्धको नयाँ चरण सुरु गरेको थियो । सन्धिको मस्यौदा तयार गरी दुवै पक्षबीच औपचारिक रूपमा हस्ताक्षर वि.सं. १८७२ मंसिर १८ गते भएको थियो । यही दिन सन्धिको आधार तयार भयो र नेपाल तथा अंग्रेजबीच सहमति स्थापित भयो ।
तर, सन्धि हस्ताक्षर मात्र पर्याप्त थिएन यसलाई औपचारिक रूपमा अनुमोदन गर्नु पनि आवश्यक थियो । नेपालले सन्धिलाई पूर्ण रूपमा स्वीकार गरी इस्ट इन्डिया कम्पनीलाई मिति वि.सं. १८७२ फागुन २३ गते बुझाएको हो । यसै दिनदेखि सन्धि पूर्ण रूपमा लागू भएको मानिन्छ । यस सन्धिमा नेपालको तर्फबाट गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए भने अंग्रेजको तर्फबाट लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राद्शाव सहभागी थिए। सन्धि अनुमोदन हुँदा नेपालका राजा गिर्बाण युद्धविक्रम शाह शासनमा थिए ।
नेपाल-अंग्रेज युद्धका प्रमुख मोर्चाहरू :
| क्र.सं. | युद्धस्थल | वि. सं. | इ. सं. |
| १. | नालापानी (खलंगा) | १८७१ कात्तिक १५ | ३१ अक्टोबर १८१४ |
| २. | जैथक (नाहन) | १८७१ पुस १३ | २७ डिसेम्बर १८१४ |
| ३. | पर्सा (वीरगन्ज) | १८७१ पुस १८ | १ जनवरी १८१५ |
| ४. | जितगढी (बुटवल) | १८७१ पुस २४ | ७ जनवरी १८१५ |
| ५. | देउथल (मलाउ) | १८७२ वैशाख ५ | १६ अप्रिल १८१५ |
| ६. | अल्मोडा (कुमाउँ) | १८७२ वैशाख १६ | २७ अप्रिल १८१५ |
| ७. | हरिहरपुर गढी | १८७२ फागुन १७ | २७ फेब्रुअरी १८१६ |
| ८. | मकवानपुर गढी | १८७२ फागुन १८ | २८ फेब्रुअरी १८१६ |
अनुमोदनमा ढिलाइ
वि.सं. १८७२ मंसिर १८ गते सुगौली सन्धिमा औपचारिक रूपमा हस्ताक्षर भए तापनि नेपाल सरकार यसलाई पूर्ण रूपमा स्वीकार गरी अनुमोदन गर्ने पक्षमा थिएन । तराईको भू-भाग गुमाउनुपर्ने पीडा र अपमानजनक शर्तका कारण नेपालले अनुमोदनमा ढिलाइ गरेपछि इस्ट इन्डिया कम्पनीले दबाब सिर्जना गर्ने रणनीति बनायो । नेपाली दरबारलाई सन्धि स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले अंग्रेजहरूले पुनः युद्धको योजना बुने र सन्धि अनुमोदन नहुँदै नेपालका दुई रणनीतिक महत्त्वका स्थलहरू ‘मकवानपुर गढी र हरिहरपुर गढी’माथि भीषण आक्रमण सुरु गरे ।
मकवानपुर गढी
मकवानपुर गढी नेपालको इतिहासमा एक अत्यन्तै महत्वपूर्ण र रणनीतिक किल्ला हो । यो बागमती प्रदेश अन्तर्गत पर्ने मकवानपुर जिल्लाको सदरमुकाम हेटौडाबाट करिब १७ किलोमिटर उत्तर-पूर्वतर्फको डाँडामा अवस्थित छ ।
इतिहासतर्फ फर्केर हेर्दा मकवानपुर गढीको निर्माण सेन वंशीय राजाहरूले गरेका थिए । विशेष गरी तुला सेनले यसको आधार तयार पारेका थिए भने पछि लोहन सेनले यसलाई अझ सुदृढ बनाएको मानिन्छ । नेपाल एकीकरण अघि यो मकवानपुर राज्यको राजधानीको रूपमा स्थापित थियो र यहाँका अन्तिम सेन राजा दिग्बन्धन सेन थिए । पृथ्वी नारायण शाहले वि.सं. १८१९ भदौ ९ गते मकवानपुर गढीमाथि विजय हासिल गरेका थिए । यो विजय गोर्खाली सेनाका लागि अत्यन्त रणनीतिक उपलब्धि सावित भयो किनकि यसले काठमाडौँ उपत्यकालाई दक्षिण तर्फबाट आउने व्यापारिक तथा सैनिक सहयोगबाट अलग गरिदियो। साथै पृथ्वीनारायण शाहकी जेठी रानी इन्द्रकुमारी देवी मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी भएकाले यस गढीसँग शाह वंशको पारिवारिक सम्बन्ध पनि जोडिएको थियो ।
मकवानपुर गढीसँग सम्बन्धित अर्को महत्वपूर्ण घटना मीर कासिमको आक्रमण हो । गढी गुमाएपछि राजा दिग्वन्धन सेनले बंगालका नवाब मीर कासिमसँग सहयोग मागेका थिए । त्यसपछि मीर कासिमले गुर्गिन खाँको नेतृत्वमा करिब ३,००० सैनिक पठाए । तर, गोर्खाली सेनाले छापामार युद्ध शैली अपनाउँदै विदेशी सेनालाई पराजित गर्यो । यसलाई नेपाली सेनाले विदेशी शक्तिमाथि प्राप्त गरेको पहिलो ठूलो विजयको रूपमा लिइन्छ ।
हरिहरपुर गढी
हरिहरपुरगढी नेपालको बागमती प्रदेश सिन्धुली जिल्लाको दक्षिण-पश्चिम भागमा अवस्थित एक अत्यन्तै प्राचीन तथा सामरिक दृष्टिले महत्वपूर्ण किल्ला हो । यस गढीको निर्माण सिम्रौनगढका कर्णाट वंशीय राजा हरिहर सिंह देवले वि.सं. १३७८ तिर गरेका थिए। उनकै नामबाट यस स्थानको नाम ‘हरिहरपुर’ रहन गएको हो । पछि यो गढी मकवानपुरका सेन राजाहरूको अधीनमा आयो । पृथ्वीनारायण शाहले वि.सं. १८१९ असोजतिर यसमाथि नियन्त्रण स्थापित गरेका थिए । यस गढीमा नेपाली सेनाले अंग्रेज सेनासँग कडा संघर्ष गरेका थिए । यहाँबाट वरपरका क्षेत्रहरू सजिलै निगरानी गर्न सकिने भएकाले यो किल्ला सैनिक दृष्टिले निकै बलियो मानिन्थ्यो ।
हरिहरपुर गढीले तराई र काठमाडौँ उपत्यका जोड्ने पुरानो व्यापारिक मार्गको सुरक्षा गर्ने काम पनि गर्थ्यो । त्यसैले यो स्थान सैनिक मात्र होइन, आर्थिक र व्यापारिक हिसाबले पनि महत्वपूर्ण थियो । आजका दिनमा हरिहरपुर गढी ऐतिहासिक सम्पदाका रूपमा चिनिन्छ । यहाँका भग्नावशेषहरूले नेपालको वीरता र इतिहासको झल्को दिन्छन् र यो स्थान अध्ययन तथा पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ ।
मकवानपुर र हरिहरपुर गढीको युद्धको स्वरूप
मकवानपुर र हरिहरपुर गढीको मोर्चामा अंग्रेज र नेपाली सैनिकको संख्यात्मक उपस्थिति निकै फरक देखिन्थ्यो । मकवानपुर गढीको मुख्य मोर्चामा अंग्रेजका तर्फबाट जनरल डेभिड अक्टरलोनीले १३,००० देखि २०,००० को विशाल फौजको नेतृत्व गरेका थिए भने यसको रक्षाका लागि नेपाली पक्षबाट चौतरिया शमशेर शाहको कमान्डमा झन्डै २,५०० देखि ३,००० सैनिकहरू मात्र तैनाथ थिए । त्यसैगरी, हरिहरपुर गढीको मोर्चामा अंग्रेज कर्नल केलीको नेतृत्वमा २,५०० देखि ३,५०० को संख्यामा सैनिकहरू अघि बढेका थिए जसको प्रतिरोध गर्न काजी रणजोर थापाले केवल १,००० देखि १,२०० नेपाली सिपाहीहरूको नेतृत्व सम्हालेका थिए । दुवै मोर्चामा अंग्रेजहरूको सैन्य संख्या र प्रविधि नेपाली फौजको तुलनामा कयौँ गुणा बढी भए तापनि नेपाली सैनिकहरूले आफ्नो सीमित साधन र स्रोतका बीच वीरतापूर्वक लडाइँ लडेका थिए ।
मकवानपुर र हरिहरपुर गढीको युद्धमा महिलाहरूको भूमिका
यस युद्धमा मुख्य रूपमा नेपाली सैनिकहरूले प्रत्यक्ष लडाइँ लडेका भए पनि स्थानीय जनसमुदायको सहयोग अत्यन्त महत्वपूर्ण थियो । विशेषगरी महिलाहरूको भूमिका सहयोगी तर प्रभावकारी देखिन्छ । उनीहरूले युद्धका बेला सैनिकहरूलाई खाद्यान्न, पानी, र आवश्यक सामग्री पुर्याउने काम गर्थे । साथै, गढीको रक्षा गर्न ढुङ्गा-मुढा प्रहार गर्ने, घाइतेहरूको हेरचाह गर्ने र आवश्यक सूचना आदान-प्रदानमा सहयोग गर्ने जस्ता कार्यमा पनि उनीहरू सक्रिय थिए ।
त्यस समयको सामाजिक संरचनामा महिलाहरू प्रत्यक्ष युद्धमा हतियार समातेर लड्ने परम्परा सामान्य थिएन । त्यसैले मकवानपुर र हरिहरपुर गढीको युद्धमा महिलाहरूले प्रत्यक्ष रूपमा लडेको स्पष्ट र आधिकारिक ऐतिहासिक प्रमाण वा तथ्यांक उपलब्ध छैन । यो युद्ध मुख्यतया पुरुष सैनिक टुकडीहरूले नै नेतृत्व गरेर लडेका थिए ।
तर, यसको अर्थ महिलाहरूको योगदान सानो थियो भन्ने होइन । युद्ध जित्नका लागि आवश्यक आपूर्ति, मनोबल, र सहायक कार्यहरूमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण थियो । उनीहरूको सहयोग बिना गढीको रक्षा कार्य प्रभावकारी रूपमा सञ्चालन हुन गाह्रो हुन्थ्यो ।
यसरी हेर्दा, मकवानपुर र हरिहरपुर गढीको युद्धमा महिलाहरू प्रत्यक्ष लडाकु नभए पनि उनीहरूले महत्वपूर्ण सहायक भूमिका निर्वाह गरी नेपालको इतिहासमा मौन तर महत्वपूर्ण योगदान दिएका छन् ।
सुगौली सन्धि सन् १८१५ का ९ सर्तहरू (धाराहरू)
धारा १ : ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालका राजाबीच सदाका लागि शान्ति र मित्रता कायम रहनेछ ।
धारा २ : युद्धभन्दा पहिले दुवै राज्यबीच विवादमा रहेका तराईका सम्पूर्ण भू-भागमा नेपालले आफ्नो दाबी छोड्नुपर्नेछ र ती भू-भागहरू ब्रिटिस सरकारको अधीनमा हुने स्वीकार गर्नुपर्नेछ ।
धारा ३ : नेपालका राजाले तल उल्लेखित क्षेत्रहरू सदाका लागि ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई सुम्पिनुपर्नेछ:
क) काली र राप्ती नदीका बीचका सम्पूर्ण तराई क्षेत्र ।
ख) राप्ती र गण्डकी नदीका बीचका बुटवल बाहेकका सम्पूर्ण तराई क्षेत्र ।
ग) गण्डकी र कोशी नदीका बीचका क्षेत्रहरू (जसमा ब्रिटिस सरकारको अधिकार स्थापित भइसकेको छ) ।
घ) मेची र टिष्टा नदीका बीचका सम्पूर्ण तराई क्षेत्र ।
ङ) पहाडी क्षेत्र र मेची नदीको पश्चिममा पर्ने नगरकोटको इलाका र मोरङबाट पहाड जाने बाटो ।
धारा ४ : माथिको धारा ३ मा उल्लेखित तराईका क्षेत्रहरू गुमाउँदा नेपालका भारदारहरूलाई हुने आर्थिक हानि परिपूर्तिका लागि ब्रिटिस सरकारले वार्षिक २ लाख रूपैयाँ पेन्सन (वृत्तिको रूपमा) दिनेछ ।
धारा ५ : नेपालका राजाले काली नदीभन्दा पश्चिममा पर्ने मुलुक र त्यहाँका बासिन्दाहरूसँगको सम्पूर्ण सम्बन्ध र दाबी परित्याग गर्नुपर्नेछ।
धारा ६ : नेपालका राजाले सिक्किमका राजाको अधिकार क्षेत्रभित्र कुनै पनि किसिमको हस्तक्षेप नगर्ने र यदि सिक्किम र नेपालबीच कुनै विवाद उत्पन्न भएमा ब्रिटिस सरकारको मध्यस्थता स्वीकार गर्नुपर्नेछ ।
धारा ७ : नेपाल सरकारले ब्रिटिस सरकारको अनुमतिबिना कुनै पनि युरोपेली, अमेरिकी वा ब्रिटिस नागरिकलाई आफ्नो सेवामा राख्न पाउने छैन ।
धारा ८ : दुवै राज्यबीच मित्रता सुदृढ गर्न एक-अर्काको देशमा मान्यता प्राप्त प्रतिनिधि (रेसिडेन्ट) राख्ने सहमति गरियो ।
धारा ९ : यो सन्धिमा नेपालका राजाले हस्ताक्षर गरी १५ दिनभित्र ब्रिटिस सरकारलाई बुझाउनु पर्नेछ ।
नेपाल सरकारले सुगौली सन्धि अस्वीकार गर्नुको मुख्य कारणहरु :
राष्ट्रिय अपमान र भूमिको मोह
नेपाल सरकारले सुगौली सन्धिलाई अपमान जनक ठान्नुको मुख्य कारण तराईको उर्वर भूमि गुमाउनु थियो। राजस्वको प्रमुख स्रोत रहेको तराई क्षेत्र गुम्दा नेपालकोआर्थिक मेरुदण्ड नै भाँचिने र देश असक्षम हुने डरले भारदारहरू यो सन्धिको विरुद्धमा थिए ।
योद्धा र भारदारहरूको अडान
अमरसिंह थापा र भीमसेन थापा सुगौली सन्धिको घोर विरोधी थिए । विशेषगरी अमरसिंह थापा राष्ट्रको भूमि त्याग्नुभन्दा युद्धमै वीरगति प्राप्त गर्नु गौरवपूर्ण ठान्थे । गोर्खालीको स्वाभिमान र सेनाको उच्च मनोबल बचाउन उनीहरू अन्तिमसम्म लड्ने पक्षमा दृढ थिए ।
चीनको पर्खाइ
नेपालले चिनियाँ सैन्य वा कूटनीतिक सहयोगको आशामा सुगौली सन्धिलाई करिब तीन महिनासम्म लम्ब्याएको थियो । काठमाडौँ दरबारको यो एउटा रणनीतिक चाल थियो तर चीनबाट समयमै ठोस सहयोग प्राप्त हुन नसक्दा नेपालको यो कुटनीतिक प्रयास अन्ततः असफल भयो ।
अपमानजनक सुगौली सन्धि
अंग्रेज जनरल डेभिड अक्टरलोनीको नेतृत्वमा आएको विशाल फौज काठमाडौँ नजिकैको हरिहरपुर गढीसम्म आइपुगेपछि नेपाल विवश भयो। राजधानी नै कब्जा हुने र देशको अस्तित्व मेटिने खतरा बढेपछि नेपाल सरकारले पूर्ण विनाशबाट जोगिन बाध्य भएर अपमानजनक सुगौली सन्धि स्वीकार गर्यो ।
अन्तमा: सुगौली सन्धिमा अनुमोदन
सुगौली सन्धिमा हस्ताक्षर भइसके पनि यसको अनुमोदन प्रक्रियामा नेपालले ढिलाइ गरिरहेको थियो, किनकि सन्धिका सर्तहरू निकै कठोर थिए । नेपालले सन्धि अनुमोदन गर्न ढिलाइ गरेको र खास चासो नदेखाएको थाहा पाए पछि डेभिड अक्टरलोनीले काठमाडौं कब्जा गर्ने उद्देश्यले ठूलो आक्रमण गर्ने रणनीति बनाए । यही ढिलाइका कारण वि.सं. १८७२ फागुन १७-१८ मा हरिहरपुरगढी र मकवानपुरगढी क्षेत्रमा भीषण युद्ध भयो । यस भीषण युद्धपछि अंग्रेजहरूले करिब २०,००० सेनासहित काठमाडौँतर्फ अघि बढ्ने योजना बनाए ।
हरिहरपुरगढी र मकवानपुरगढी क्षेत्रको संघर्षहरूमा नेपाली सेनाले साहसका साथ प्रतिरोध गरे पनि पराजय भोग्नुपर्यो । नेपाली सेना पराजित भएपछि अंग्रेज सेना काठमाडौंतर्फ अगाडि बढ्न थाल्यो र दरबारमा ठूलो त्रास फैलिनपुग्यो । यस्तो अवस्थामा यदि तत्काल सन्धि नगर्ने हो भने नेपालको स्वतन्त्र अस्तित्व नै समाप्त हुने खतरा स्पष्ट देखियो । काठमाडौँ उपत्यका नै जोखिममा पर्ने देखिएपछि देशलाई थप क्षतिबाट जोगाउन नेपाल सरकार सन्धि अनुमोदन गर्न बाध्य भयो ।
अन्ततः चन्द्रशेखर उपाध्यायले वि.सं. १८७२ फागुन २३ मा जनरल अक्टरलोनीलाई सन्धिको आधिकारिक पत्र (लालमोहर) बुझाए । यसरी मकवानपुरगढी र हरिहरपुरगढी केवल किल्ला मात्र नभइ नेपाल-अंग्रेज युद्धका निर्णायक रणनीतिक केन्द्रका रूपमा इतिहासमा सदैव अमर भए ।
प्रतिक्रिया