पाङबोछे गुम्बामा रहेको त्यो रहस्यमय यतीको खोपडी र हातको पञ्जा

पाङबोछे गुम्बामा रहेको त्यो रहस्यमय यतीको खोपडी र हातको पञ्जा


पाङबोछेमा रहेको यो गुम्बालाई सोलुखुम्बु जिल्लाको सबैभन्दा पुरानो गुम्बाको रुपमा लिने गरिन्छ । १६औँ सताब्दिमा लामा सांग्वा दोर्जीले बनाएको भनिएको यो गुम्बाको पछि वि.सं. १७२४ मा मर्मत गरेको भन्ने लेखिएको भेटिन्छ । यो गुम्बा यहाँ रहेको हिम मानव यतीको खोपडी र हिममानव यतीको हातको पञ्जाको अस्थिपञ्जरको कारणले निकै प्रख्यात थियो । प्राय: मानिसहरु हिममानव यतीको खोपडी र पञ्जा हेर्न पुग्दथे ।

पाङबोछे गुम्बाका लामाहरुका अनुसार धेरै वर्षअगाडि एक पाङबोछे गुम्बाको लामा ध्यान गर्न हिमालयतर्फ लाग्दा बाटोमा रहेको एक गुफामा यतीलाई भेटेछ । शायद बिरामी अवस्थाको यती थियो होला । ध्यान पुरा गरि फर्कंदा त्यही गुफामा यतीको मृत्यु भएको देखेपछि लामाले यतीको खोपडी र हातको पञ्जा लिएर फर्केछ । त्यही पञ्जा र खोपडीलाई गुम्बाले सुरक्षित राखेछ ।

सन् १९५७ मा ब्यापारी टम स्टिक तथा उनको टोली सगरमाथा आधार शिविरको यात्रामा आँउदा पहिलो पटक हिममानव यतीको खोपडी र हातको पञ्जाको फोटो खिचेर लगे । यसरी पहिलो पटक विश्वले यतीको खोपडी र हात रहेको थाहा पाए । गुम्बामा यतीको खोपडी हेर्नेको भिड लाग्न थालेपछि शुल्क लिएर खोपडी तथा पञ्जा हेर्ने ब्यवस्था मिलाए । जसले गर्दा गुम्बाको राम्रो आम्दानी हुन थाल्यो ।

हुन त हिलारी र तेन्जिङले सगरमाथा आरोहण गरेको एक वर्षपछि नै सन् १९५४ मा पनि बेलायती पत्रिका डेली मेलले यतीको खोजविनको लागि एउटा टोली पठाएको थियो । यो टोलीका सदस्यले पनि यतीको खोपडी हेरेका थिए, तर केही महत्व दिएनन् । यसै टोलीका भारतीय अन्वेषक डा. विश्वमणि विश्वासले निकै समय खोपडी बारेमा अध्ययन गरेका थिए ।

त्यसपछि सन् १९५९ मा टम स्टिकको समुहमा त्यस क्षेत्रमा पुगेका Peter Byrne ले त्यसबेला गुम्बाका मुख्य लामालाई १० हजार सहयोग गरेर हिममानव यतीको हातको अस्थिपञ्जरबाट एउटा औला भाँचेर लगे । गुम्बाको लामाले बाचा गरेअनुरुप उनले लण्डनबाट उस्तै नक्कली औंला बनाएर ल्याए, जुन पछि सो हातमा जोडियो । भाँचेर ल्याएको यतीको भनिएको औंला नेपालबाट जहाजमा लैजान कठिनाइ हुने हुँदा वीरगंजको बाटो कलकत्ता पुऱ्याए । कलकत्तामा त्यतिबेला हलिवुड स्टार जिमी स्टिवार्ट र उनकी श्रीमती ग्लोरिया आएका थिए । उनलाई सो औंला लुकाएर लण्डन पुऱ्याउन सहयोग मागियो । ग्लोरियाले आफ्नो भित्री कपडा राख्ने बक्सामा राखेर लण्डन पुऱ्याइदिए ।

ग्लोरिया लण्डन पुऱ्याएपछि यसको सत्यता पत्ता लगाउनको लागि प्राइमेटोलोजिस्ट साथी ओस्मान हिललाई जिम्मा लगाए । हिलले यसको बारेमा निकै रिसर्च गरे । मानिसकै नभए पनि मानव जातिको पूर्वजको हुन सक्ने जिकिर गरे । त्यसपछि निकै समय चासो नै रहेन । अचानक अमेरिकी टेलिभिजन एनबिसीले अनसोल्भ्ड मिस्ट्रीको श्रृखंलाको कार्यक्रममा यतीको हातको पनि चर्चा गर्दै एउटा इपिसोड प्रसारण गऱ्यो । यो कार्यक्रम प्रसारण भएको केही समयमा नै यतीको हात र खोपडी गुम्बाबाट चोरी भयो ।

सन् २०११ मा बिबिसी टेलिभिजनले यससम्बन्धी कार्यक्रम बनाउने भएपछि पत्रकार म्याथ्यु हिलले रोयल जुलोजिकल सोसाइटी अफ स्कटलाण्डलाई पत्ता लगाउन जिम्मा दिए । यसपटक डिएनए टेस्ट गरियो जसको नतिजाअनुसार यो हात मानिसकै भएको प्रमाणित भयो ।

सन् २०१० मा न्यूजिलैण्डको वेटा वर्कशपले सो हातको डुप्लिकेट बनाएर गुम्बालाई दियो । साथै बेलायतको The Hunterian Museum ले पनि सो औंला फर्काउन चाहँदा पनि गुम्बाले कुनै चासो नदिएको हुँदा सोही म्यूजियममा नै रहेको जानकारी दिएको थियो ।

अहिले पाङबोछेको गुम्बामा नक्कली यतीको खोपडी र हातको पञ्जा भए पनि हेर्नेहरुको भिड भने खासै नहुने सुनिएको छ ।