रास्वपाको नेतृत्व लिन बालेन्द्र बाध्य हुनसक्ने !

रास्वपाको नेतृत्व लिन बालेन्द्र बाध्य हुनसक्ने !


आफूले बनाएको घरमा अचानक मालिक बन्न अरू नै आइपुगेको अवस्थाबाट स्तब्ध हुन पुगेका रास्वपाको पुरानो कित्ता अब पार्टी पनि कब्जा हुने सम्भावनालाई लिएर पिरोलिन थालेको पाइएको छ । ठगी, अनुचित कमाइ, सम्पत्ति शुद्धीकरण लगायतका अनेकौँ आरोपमा मुद्दा खेपिरहेका रास्वपाका सभापति आफूमाथिको मुद्दाका कारण निर्भयका साथ स्वतन्त्र भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । उनी उपयुक्त समयको पर्खाइमा रहेको बुझिन्छ । आफूमाथि लागेको मुद्दा नटुङ्गिएसम्म रास्वपा सभापति ‘चुपचाप बालेन्द्रको साथ’ दिने बाध्यात्मक अवस्थामा देखिन्छन् । तर उनका समर्थकहरूमा भने छट्पटी निकै बढेको पाइन्छ । शय दिन ‘अर्थात् हनिमून पिरियड’ पुरा भएपछि बालेन्द्रविरूद्ध उनीहरूबाट कुनै न कुनै स्तरको विद्रोह हुनसक्ने जानकारहरूको भनाइ छ ।

उता बालेन्द्र साह भने सरकारले गर्ने काममा पार्टीको हस्तक्षेप नहोस् भन्ने चाहन्छन् । पार्टीको दैनिक काममा आफूले हस्तक्षेप नगर्ने र सरकारले गर्ने काममा पनि पार्टीको हस्तक्षेप नहोस् भन्ने बालेन्द्रको चाहना भएको बुझिन्छ । रास्वपाको मुख्य नेतादेखि अधिकाङ्श ब्यक्तिहरू कुनै न कुनै प्रकारको अनियमिततासङ्ग जोडिएको बालेन्द्रले बुझेका छन् र उनी आफ्नो कार्यकालमा भ्रष्टाचार र अनियमितता शुन्य होस् भन्ने चाहन्छन् । बालेन्द्रको ब्यवहार अहिलेसम्म स्वच्छ रहेको छ र, भनिन्छ- उनले कहिल्यै भ्रष्टाचार गर्ने छैनन् ।

पार्टीका संस्थापकहरूलाई उछिन्दै पार्टीमा प्रवेश गरेको दुई महिना पुरा नहुँदै प्रधानमन्त्री बन्न सफल बालेन्द्रलाई पार्टीले अनावश्यक दबाब दिएमा उनी पार्टी सभापतिको जिम्मेवारी लिनसमेत आफै अग्रसर भए भने कुनै आश्चर्य हुनेछैन । बालेन्द्रलाई अप्ठ्यारो पार्नसक्ने ब्यक्तिहरूमा पार्टीसभापति स्वयमका अतिरिक्त स्वर्णिम वाग्ले र मनिष झाको समेत नाम लिइन्छ । भनिन्छ, स्वर्णिम वाग्ले वर्तमान पार्टी सभापति र बालेन्द्रका बीचमा खेलेर आफै सभापति र प्रधानमन्त्री बन्ने महत्वाकाङ्क्षा राख्दछन् । दुई जनाबीच अन्तरविरोध पैदा गराएर या दुबैलाई एक ठाउँमा ल्याएर आफ्नो स्थान बलियो बनाउने चालवाजी वाग्लेले गरिरहेको बताइन्छ ।

त्यस्तै, मनिष झा चाहिँ बालेन्द्रप्रति सधैं नकारात्मक रहिआएका छन् र बालेन्द्रले पनि झालाई खतरनाक ब्यक्तिका रूपमा पहिचान गरिसकेको बुझिन्छ । वाग्ले र झा जस्ता ब्यक्तिहरूको गतिविधिमाथि बालेन्द्रले कडा निगरानी राखिरहेको सम्बद्ध सूत्रहरूको भनाइ छ ।

रास्वपाले आगामी ६ महिनाभित्र आफ्नो महाधिवेशन गर्ने निर्णय लिएको छ । उक्त महाधिवेशनमा बालेन्द्र आफै सभापतिको जिम्मेवारी लिन अग्रसर हुने सम्भावना बढेको छ । पार्टीका तर्फबाट सरकारमाथि दबाब बढ्दै गएमा बालेन्द्र पार्टीको नेतृत्व पनि आफै लिन बाध्य हुने अनुमान बालेन्द्रका निकटवर्तीहरूले गरेका छन् ।