इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स-सुमात्रा राजमार्गमा यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको बताइएको छ ।
दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास रिजन्सी क्षेत्रमा बुधबार (२३ वैशाख) दिउँसो भएको उक्त दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो । स्थानीय विपद् व्यवस्थापन एजेन्सीले जनाएअनुसार बस दक्षिण सुमात्राको लुबुक्लिङ्गाउ शहरबाट जाम्बीतर्फ गइरहेको थियो । प्रारम्भिक अनुसन्धानले बसमा ठक्करअघि प्राविधिक समस्या देखिएको सङ्केत गरेको छ ।
बसबाट अचानक स्पार्क निस्किएको हुनसक्ने अनुमान गरिएको छ । सम्भावित ठूलो दुर्घटनाबाट बच्न चालकले बसलाई सडकको दायाँपट्टि मोड्ने प्रयास गरेका थिए, तर सोही समयमा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको तेल ट्याङ्कर ट्रकसँग बस सीधै ठोक्किन पुगेको थियो ।
ठक्कर अत्यन्त शक्तिशाली भएकाले केही क्षणमै दुवै सवारीमा आगो फैलिएको थियो । आगलागीले बस र ट्याङ्करलाई पूर्ण रूपमा ढाकेको थियो । धेरै यात्रु बाहिर निस्किन नपाउँदै आगोले घेरेपछि उनीहरू सवारीभित्रै फसेका थिए ।
दुर्घटनामा बसचालकसहित १३ जना यात्रु तथा ट्याङ्करका चालक र सहचालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकांश शव जलेको अवस्थामा भेटिएकाले पहिचान गर्नसमेत कठिनाइ भएको जनाइएको छ ।
इन्डोनेसियामा कमजोर सडक पूर्वाधार, अपर्याप्त सुरक्षा मापदण्ड र तीव्र गतिका कारण सडक दुर्घटना बारम्बार हुने गरेका छन् । गत साता मात्रै राजधानी जकार्ताबाहिर एउटा रेलले ट्र्याकबीच अड्किएको ट्याक्सीमा ठोक्किएपछि रोकिएको यात्रुवाहक रेललाई अर्को लामो दूरीको रेलले ठक्कर दिएको थियो । त्यस घटनामा महिलाका लागि छुट्याइएको डब्बामा रहेका कम्तीमा १५ जना महिलाको मृत्यु भएको थियो ।
प्रतिक्रिया