बेरुत आक्रमणमा हेजबुल्लाहका कमान्डरसहित धेरै लडाकूको मृत्यु, कुवेतमा ड्रोन आक्रमण

बेरुत आक्रमणमा हेजबुल्लाहका कमान्डरसहित धेरै लडाकूको मृत्यु, कुवेतमा ड्रोन आक्रमण


बेरुतको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा हिजबुल्लाहका रादवान युनिटका कमान्डर अहमद बलुत मारिएको इजरायलले दाबी गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)का अनुसार यस कारबाहीमा नासिर युनिटका गुप्तचर प्रमुख मोहम्मद अली बाजी र हवाई सुरक्षा निगरानी अधिकारी हुसेन हसन रोमानी पनि मारिएका छन् ।

गाजा शहरमा भएको छुट्टै हमलामा हमास नेता खलिल अल-हयाका छोरा अज्जाम अल-हयाको मृत्यु भएको पनि पुष्टि भएको छ, जसले यस क्षेत्रमा तनाव अझ बढाएको देखिन्छ ।

यसै वर्षको फेब्रुअरी २८ देखि सुरु भएको मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ताका लागि प्रयास भइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने दाबी गर्दै भनेका छन्, ‘इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्न आवश्यक थियो, यो भएको छ अब छिट्टै युद्ध अन्त्य हुनेछ ।’

कुवेती विमानस्थलमा ड्रोन आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ । कुवेतको उड्डयन प्राधिकरणका अनुसार उक्त ड्रोनले विमानस्थलको एउटा इन्धन ट्याङ्कलाई लक्षित गरी आक्रमण गरेको थियो ।

कुवेती समाचार संस्थाका प्रवक्ता अब्दुल्लाह अल-राजीले आक्रमणमा भौतिक संरचनामा मात्र क्षति सीमित रहेको र कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको उल्लेख गर्दै भनेका छन्, ‘आक्रमणपछि तुरुन्त विपत् व्यवस्थापन सेवाले आगो निभाउने प्रयास गरिरहेको छ ।’

यसैबीच, इरानको संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकी सैन्य रणनीतिप्रति कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट जारी गर्दै इरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई ‘अपरेसन ट्रस्ट मी ब्रो’ र ‘अपरेसन फक्सियोस’ नाम दिएका छन् ।

उनले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, ‘अपरेसन ट्रस्ट मी ब्रो’ असफल भयो । अब ‘अपरेसन फक्सियोस’को साथ तपाईंको नियमित दिनचर्यामा फर्कनु पर्नेछ।’