- विकाश रौनियार, धादिङ
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङका दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीस्वरूप विद्यालय झोला वितरण गरेको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ र ५ मा रहेका विद्यालयहरूमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा विद्यार्थीहरूलाई झोला हस्तान्तरण गरिएको हो ।
कार्यक्रमअन्तर्गत श्री ओर्बाङ आधारभूत विद्यालयका ७२ जना विद्यार्थी र श्री चन्द्रोदय माध्यमिक विद्यालयका ४८ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको थियो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौं (बागमती प्रदेश)का प्रबन्धक सुरेन्द्र प्रसाद शाहले यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप उत्साह जगाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै टेलिकमका प्रतिनिधिहरूले सरकारी स्वामित्वको संस्था भएकाले नाफामुखी कार्यसँगै सामाजिक सेवामा पनि प्रतिबद्ध रहेको बताए । दुर्गम क्षेत्रमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्न यस्ता साना सहयोगले पनि ठूलो अर्थ राख्ने उनीहरूको भनाइ थियो ।
नेपाल टेलिकमले यसअघि पनि देशका विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षणका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौं (बागमती प्रदेश) का उपप्रबन्धक डम्बरबहादुर चन्द, नेपाल टेलिकम धादिङका कार्यालय प्रमुख विकास महर्जन तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया