रास्वपाका सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्ने धारणा अघिसारेका छन् । पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आइतबार (२७ वैशाख) उनले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिए ।
सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने उल्लेख गर्दै भने, ‘सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन, कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौँ । हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौँ ।’
सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौँ भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे । जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकाले सोहीअनुसार काम गर्नुपर्ने उनको तर्क थियो ।
‘विगतमा दलहरूले अनवरत सङ्घर्ष गरेर एकतन्त्रीय शासन ढालेका हुन्, जीवन जोखिममा राखेर परिवर्तनको यात्रामा होमिएका पार्टीहरूसँग केही असहमति भए पनि हामीले उहाँहरू जस्तो धेरै सङ्घर्ष गर्नुपरेको छैन, हिजो व्यवस्था बदलियो तर अवस्था नबदलिएकाले जनताले हामीलाई पत्याएका हुन् । विभिन्न राजनीतिक दलमा आस्थावानहरूले आफ्नो दल छोडेर हामीलाई मत दिएका छन्, त्यसैले कसैको मानमर्दन गर्नुहुँदैन’, उनले भने ।
सभापति लामिछानेले सबै सुकुम्वासी र भूमिहीनलाई सरकारले अधिकार दिने दाबी गर्दै उनले भने, ‘हामीले चुनावमा गरेका वाचाअनुसार काम गर्छौं । सुकुमवासी समस्यालाई उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान गर्छौं । संविधानको मर्मअनुसार सबैका अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।’
प्रतिक्रिया