नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार लोकतान्त्रिक पद्धति, संवैधानिक मर्यादा र स्थापित राजनीतिक संस्कृतिप्रति अपेक्षित रूपमा इमान्दार देखिन नसकेको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसी वाग्मति प्रदेशद्वारा काठमाडौंमा आयोजित ‘उन्नत लोकतन्त्रका चुनौती’ विषयक बिमर्श कार्यक्रममा महरले संघीय संसदमा राष्ट्रपति द्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै सभाहलबाट बाहिरिनुलाई गलत र अस्वाभाविक व्यवहार भएको टिप्पणी गरेका छन् । ‘राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारकै आधिकारिक दस्तावेज हो । यस्तो संवेदनशील र गरिमामय क्षणमा प्रधानमन्त्री बीचमै बाहिरिनु संसदीय शिष्टाचार र लोकतान्त्रिक संस्कारअनुकूल देखिँदैन’, महरले भने ।
उनले लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया मात्र नभई स्थापित मान्यता, परम्परा, संवैधानिक अनुशासन र राजनीतिक संस्कृतिको समष्टि भएको उल्लेख गरे । ‘पदभन्दा पद्धति ठूलो हुन्छ । राज्यका जिम्मेवार व्यक्तिहरूले आफ्नो व्यवहारबाट लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाको सम्मान गर्नुपर्छ’, उनले बताए ।
महरले पछिल्ला केही गतिविधिहरूले देशभित्र स्थापित मान्यता, मर्यादा र राजनीतिक परम्परामाथि प्रहार भइरहेको अनुभूति जनतामा बढ्दै गएको उल्लेख गर्दै सरकारलाई लोकतान्त्रिक आचरणप्रति गम्भीर बन्न भद्र चेतावनी दिएका छन् ।
‘संविधान, संसद र राष्ट्रप्रमुखसँग जोडिएका विषयहरूमा सरकार अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । बहुदलिय ब्यबस्थामा राजनीति दलहरु र नेतृत्व यस बिषयमा गम्भीर बन्नु जरुरि छ ।अन्यथा यस किसिमको सरकारि रबैयाले लोकतान्त्रिक संस्कृतिमाथि नकारात्मक प्रभाव पार्न सक्छ’, महरले बताएका छन् ।
प्रतिक्रिया