- विशेष सम्वाददाता
आगामी भाद्रमा गर्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आउँदो असार महिनाको दोस्रो सातामा गरिने भएको छ । भाद्रमा महाधिवेशन गर्ने मानसिकता नेतृत्वले बनाएको र सोहीअनुरूप तयारी भैरहेका बेला अचानक पार्टी सभापतिको मन बदलियो, त्यसपछि औपचारिकता पुरा गर्ने गरी असारमै महाधिवेशन गर्न लागेको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार प्रधानमन्त्री बनेसङ्गै बालेन्द्रमा देखिएको आत्मकेन्द्रीत ब्यवहार तथा समय लम्बिँदै जाँदा कतै बालेन्द्र नै सभापतिको पदीय जिम्मेवारी लिन अग्रसर हुने हो कि भन्ने आशङ्काले हतार हतारमा महाधिवेशन सम्पन्न गर्ने निर्णयमा रास्वपाको नेतृत्व पुगेको हो !
ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको सामना गरिरहेको पार्टी नेतृत्वले कानूनी पन्जाबाट नउम्किएसम्म आफू प्रधानमन्त्री बन्ने ढोका नखुल्ने भएकोले उनी यस अघि जसरी भएपनि कानूनी पर्खाल भत्काउन लागिपरेका थिए । महान्यायाधिवक्ता र प्रधानन्यायाधीश नियुक्तिमा पार्टी सभापतिले बालेन्द्रमाथि जोडदार दबाब दिनुको कारण पनि कानूनको पन्जाबाट उन्मूक्ति पाउनका लागि भन्ने स्पष्ट भइसकेको छ ।
अब महाधिवेशनबाट पाच वर्षका लागि सभापति बनिसकेपछि पार्टी सभापति नै प्रधानमन्त्री बन्ने खेल सुरु गरिने बुझिएको छ । तर कुन प्रक्रिया अपनाएर सरकारको नेतृत्व बदल्ने भन्ने विषय भने यकिन नभएको बताइन्छ । बालेन्द्रमाथि चौतर्फी दबाब पैदा गराएर राजीनामा गराउने, सम्सदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधानमन्त्री पद त्याग्न बाध्य तुल्याउने, विभिन्न आरोप लगाएर पदबाट फिर्ता बोलाउने या निश्चित समय दिएर आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा जाने मध्ये एउटा विकल्प रोजिने सम्भावना देखिएको छ ।
बालेन्द्र पार्टी र संसदीय दलको बैठकमा सहभागिता जनाउन उदासिन रहने गरेको, पार्टीका सांसदहरूलाई भेट नदिने र उनीहरूसङ्गको सम्पर्कमा रहने नगरेको, पार्टीको भावना र निर्देशनलाई उपेक्षा गरी आफ्नो बेग्लै कोटरी खडा गरेर राजकाजको काम गर्ने गरेको जस्ता आरोप लगाएर बालेन्द्रलाई फिर्ता बोलाउन सकिने सोच रास्वपाको नेतृत्व तहले बनाएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।
समय बित्दै जाँदा परिस्थिति बदलिने र बालेन्द्र नै सभापति बन्न अग्रसर हुने आशङ्का बढेपछि असारको दोस्रो साता चितवनमा महाधिवेशन गर्ने मात्र आन्तरिक निर्णय भएको होइन, कसलाई सभापति बनाउने भन्ने समेत निर्णय भैसकेको छ । त्यसैले महाधिवेशनमा रास्वपाका कसैले पार्टी सभापतिमा प्रतिष्पर्धा गर्न चाहे पनि उक्त सम्भावना नरहेको स्पष्ट भएको छ ।
प्रतिक्रिया