- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका १ माकरस्थित हाटबजार क्षेत्रमा नक्कली नेपाली नोटसहित तीन ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत सोमबार साँझ ७ बजेको समयमा स्थानीय चाउमिन पसलमा केही संदिग्ध व्यक्तिले नक्कली नोट साट्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बर्दघाट र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट गएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालका अनुसार नियन्त्रणमा लिइएका अभियुक्तहरुको साथबाट रु. १०००/- दरका ६ थान र रु. ५००/- दरका ४ थान गरि जम्मा रु. ८ हजार बराबरको नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ परेका व्यक्तिमाथि मुद्रासम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत पश्चिम नवलपरासीबाट म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढेको जनाइएको छ ।
बर्दघाट, महेशपुर, सुर्यपुरा लगायत बजारमा नक्कली नोटको सुक्ष्म प्रयोग हुन थालेको सुचनाले सर्वसाधारणमा आफुहरु झुक्किने हो कि भन्ने त्रास बढ्न थालेको बुझिएको छ ।
प्रतिक्रिया