नेपाल-अङ्ग्रेज युद्ध : आरम्भ र अन्त्य

नेपाल-अङ्ग्रेज युद्ध : आरम्भ र अन्त्य


नेपालको आधुनिक इतिहासमा ‘नेपाल-अङ्ग्रेज युद्ध’ (१८१४-१८१६) केवल दुई सैन्य शक्तिबीचको टक्कर मात्र थिएन, यो दुई देशबीचको फरक राजनीतिक विचारधारा र विस्तारवादी मनोकाङ्क्षाहरूको महासंग्राम थियो । एकातिर गोर्खालीहरूको ‘एकीकरण अभियान’मार्फत विशाल नेपाल बनाउने सपना थियो भने अर्कोतिर इस्ट इन्डिया कम्पनीको व्यापारिक एकाधिकार र साम्राज्य विस्तार गर्ने रणनीति थियो । यस ऐतिहासिक विकास क्रमलाई सूक्ष्म रूपमा नियाल्दा, यो युद्धको बीउ लुम्बिनीको उर्वर तराई क्षेत्र स्योराज (शिवराज)मा रोपिएको देखिन्छ भने यसको राजनीतिक र भौगोलिक बिसर्जन सुदूरपश्चिमको डोटी राज्यका राजा दीप शाहीको भूमिकामा पुगेर टुङ्गिएको पाइन्छ ।

ऐतिहासिक दस्तावेजहरूको अध्ययन गर्दा स्योराज त्यो प्रस्थानबिन्दु हो जहाँ सीमा-विवादले औपचारिक युद्धको रूप लियो । तर, युद्धको अन्त्य र सुगौली सन्धिपछिको व्यवस्थापनमा डोटीका राजा दीप शाही यस्ता निर्णायक पात्र बने जसको कारण नेपालको तत्कालीन विशाल सिमाना खुम्चाउन सहयोग पुऱ्यायो र महाकाली नदीलाई स्थायी सीमा मान्न बाध्य बनायो । एकातिर स्योराजको विवादले युद्धको ज्वाला सल्काएको देखिन्छ भने अर्कोतिर दीप शाही र पश्चिमी मोर्चाका घटनाक्रमले त्यो ज्वालालाई शान्त पार्दै नेपालको नयाँ भौगोलिक नक्सा कोर्न बाध्य तुल्याएको देखिन्छ । प्रस्तुत लेखको मुख्य प्रसङ्ग स्योराज तप्पा र डोटीको राजा दीप शाहीभित्र जेलिएका ती भित्री अदृश्य राजनीतिक र सामाजिक कारणको विवेचनात्मक विश्लेषणमा आधारित छ ।

स्योराज तप्पा : युद्धको सुरुवात

सन् १७८६ अघि स्योराज प्यूठान राज्यअन्तर्गत प्रशासित थियो, तर कहिलेकाहीँ अवधको अधिकारअन्तर्गत बासी परगन्नाबाट कर उठाइन्थ्यो । सन् १७८६ पछि यो क्षेत्र गोरखा राज्यको एकिकरण अभियानमा गोरखा राज्यको नियन्त्रणमा आयो । गोरखा राज्यको नयाँ शासकहरूले ब्यवस्थित प्रशासनिक प्रणाली लागू गरे र ‘चौधरी’ भनिने स्थानीय अधिकारीहरूमार्फत शासन सञ्चालन गरे । जमिनको आर्थिक महत्व बुझेर गोरखालीहरूले जङ्गल फँडानी, जमिन नापजाँच तथा बसोबास प्रोत्साहन गर्न थाले । समयसँगै स्योराज एक उत्पादनशील कृषि क्षेत्रमा परिणत भयो । यस अवधिमा यसलाई प्रशासनिक रूपमा ‘टप्पा’को रूपमा मान्यता दिइएको थियो ।

खेती विस्तार र बसोबास बढ्दै जाँदा स्योराज आर्थिक रूपमा अत्यन्त महत्वपूर्ण बन्यो । विशाल कृषियोग्य जमिन, उच्च राजस्व उत्पादन र नयाँ बसोबासका लागि उपलब्ध जमिनका कारण यसको महत्व बढ्दै गयो । तर यसैसँगै विवाद पनि बढ्न थाल्यो । क्षेत्रको सिमाना स्पष्ट नभएकाले नेपाल र इस्ट इन्डिया कम्पनीबीच दाबी-प्रतिदाबी सुरु भयो । पहिले दुर्गम जंगल क्षेत्र रहेको स्योराज बिस्तारै राजनीतिक विवादको प्रमुख केन्द्र बन्न पुग्यो ।

गोरखाली सेनाले पाल्पा राज्य जितेर बुटवल र स्योराजमा नियन्त्रण स्थापित गरेपछि स्थिति झन् जटिल बन्यो । नेपालले आफ्नो अधिकार दाबी गरिरहँदा बेलायतीहरूले भने सन् १८०१ मा अवधका नवाबबाट उक्त क्षेत्र आफूहरूले प्राप्त गरेको दाबी गरे । स्योराज रतनपुर बासी परगन्नाको भाग, करिब ९० हजार बिघा जमिनमा फैलिएको थियो र यसमा २२ वटा गाउँ समावेश थिए, जसले यसलाई रणनीतिक र आर्थिक रूपमा महत्वपूर्ण बनाएको थियो ।

समग्रमा, स्योराज मलेरिया-प्रभावित जंगलबाट उर्वर कृषि क्षेत्रमा रूपान्तरण भएको क्षेत्रको रूपमा महत्वपूर्ण छ, जसले गोरखा प्रशासनको प्रयासलाई झल्काउँछ । साथै, यसको स्वामित्वसम्बन्धी विवादले एङ्ग्लो–गोरखा युद्धको सुरुवातमा निर्णायक भूमिका खेलेको थियो र आधुनिक नेपालको सीमाना निर्धारणमा समेत गहिरो प्रभाव पारेको थियो ।

तनाव बढ्दै जाँदा बेलायतीहरूले स्योराजमा दाबी गरे, तर नेपाल सरकारले आफ्नो दाबी छोड्न अस्वीकार गऱ्यो । त्यसपछि गभर्नर-जनरल लर्ड हेस्टिङ्सले गोरखाली सेनालाई विवादित क्षेत्रबाट हट्न आदेश दिए र बुटवलमा बेलायती अधिकार स्थापित गर्न प्रहरी चौकी स्थापना गरे ।

सन् १८१४ मे महिनामा नेपाली सेनाले बुटवलस्थित बेलायती प्रहरी चौकीमा आक्रमण गऱ्यो । यस घटनामा १८ जना प्रहरी, उनीहरूको अधिकारी मुनाराम खानसहित मारिए । यसले बेलायतीहरूलाई अत्यन्त आक्रोशित बनायो र यसलाई आफ्नो शक्तिमाथिको सीधा चुनौती ठानी सन् १८१४ नोभेम्बर १ मा औपचारिक रूपमा युद्ध घोषणा गरियो ।

डोटी राज्यका राजा दीप शाही : युद्धको पुर्णबिराम

पहाडी डोटी राज्य १८औँ शताब्दीको अन्त्यसम्म एक स्वतन्त्र र शक्तिशाली राज्य थियो । यसको प्रभाव सुदूरपश्चिमदेखि भारतको कुमाउ र गढवालसम्म फैलिएको थियो । पूर्वमा कर्णाली, पश्चिममा महाकाली (कहिलेकाहीँ कुमाउका भूभागसम्म) उत्तरमा हिमालय र दक्षिणमा तराईको उर्वर मैदान (हालको कैलाली र कञ्चनपुर) सम्म डोटी राज्य फैलिएको थियो । कैलाली-कञ्चनपुरलाई डोटीको ‘माल’ (राजस्व क्षेत्र) भनिन्थ्यो । सन् १७९० मा चौतरिया अमरसिंह थापाको नेतृत्वमा आएको गोर्खाली फौजसँग डडेल्धुराको नारीदाङमा भीषण युद्ध भयो । आधुनिक हतियारले सुसज्जित गोर्खाली फौजसँग डोटीका राजा दीप शाहीको केही लागेन – पराजित भए र आफ्ना भारदारहरूसहित ज्यान जोगाउन बेलायतीको शरणमा पुगे । बेलायतीहरुले दीप शाहीलाई भारतको लखिमपुर खेरीस्थित खैरिगढमा बस्ने ब्यवस्था गरिदिए । उनले यस ठाउँलाई केवल बस्ने थलो मात्र बनाएनन्, बरु आफ्नो गुमेको राज्य फिर्ता लिने रणनीति बुन्ने कार्यक्षेत्र र सैन्य क्याम्पका रूपमा प्रयोग गरे । त्यहाँ रहँदा उनले आफूलाई केवल एक शरणार्थीका रूपमा मात्र प्रस्तुत गरेनन्, बल्कि अङ्ग्रेजहरूको एक सच्चा ‘रणनीतिक साझेदार’का रूपमा उभ्याए । उनले बेलायती अधिकारीहरूसँग निरन्तर पत्राचार गर्दै आफू गोर्खाली शासन अन्त्य गरी बेलायतीहरुको प्रभाव स्वीकार गर्न तयार रहेको विश्वास दिलाए । यो बफादारी पछाडि उनको एउटै स्वार्थ थियो- गोर्खालीहरूलाई धपाएर डोटीको राजसत्ता पुनः प्राप्त गर्नु ।

दीप शाही केवल एक विस्थापित राजा मात्र थिएनन्, उनी सुदूरपश्चिम र कुमाउँ भूगोलका ज्ञाता पनि थिए । गोर्खाली फौजलाई परास्त गर्ने पहाडी युद्धकला र त्यहाँका कठिन बाटाहरूको पूर्ण ज्ञान थियो । उनलाई गोर्खाली सेनाका लुक्ने ठाउँ किल्लाहरूको कमजोर पक्ष र खाद्यान्न आपूर्तिको मार्गबारे विस्तृत जानकारी थियो, साथै उनलाई कुन समयमा कुन बाटोबाट आक्रमण गर्दा शत्रुहरूलाई घेर्न सकिन्छ भन्ने ‘रणनीतिक नक्सा’ बनाउन पनि आउँथ्यो ।

उनले खैरिगढमा बसेर अङ्ग्रेज एजेन्टहरू (विलियम फ्रेजर र एडवर्ड गार्डनर) लाई गोर्खाली सेनाको सङ्ख्या, किल्लाको बनावट र पहाडी बाटोहरूको गोप्य जानकारी दिन थाले । यो सूचना कुमाउ र सुदूरपश्चिममा अङ्ग्रेजको लागि ठुलो सहयोग सावित भयो । उनले खैरिगढबाटै डोटी र कुमाउका जनताहरूलाई ‘अङ्ग्रेज आएपछि पुरानै राजाको शासन फर्किनेछ’ भन्ने विश्वास दिलाएर गोर्खाली सेनाविरुद्ध जनमत तयार पारी सैनिकमा भर्ती पनि गराउन थाले ।

युद्धका क्रममा दीप शाहीले कुमाउँ र डोटीका स्थानीय सामन्त र जनतालाई गोर्खाली प्रशासनविरुद्ध उक्साउन महत्वपूर्ण भूमिका खेले । उनले ‘अङ्ग्रेजहरू हाम्रो मुक्तिका लागि आएका हुन्’ भन्ने सन्देश फैलाएर स्थानीय स्तरमा गोर्खाली फौजविरुद्ध विद्रोहको वातावरण सिर्जना गरे । यसले गर्दा गोर्खाली सेनाले एकातिर अङ्ग्रेजसँग लड्नु पर्ने र अर्कोतिर भित्रैबाट हुने जनविद्रोह र असहयोगको सामना गर्नुपर्ने स्थिति आयो । यो राजनीतिक समर्थनले नै अङ्ग्रेजहरूलाई अल्मोडा र श्रीनगर कब्जा गर्न सहज बनाइदिएको थियो ।

दीप शाहीले आफ्ना पुराना विश्वासपात्र र सैनिकहरूलाई ब्रिटिस फौजमा भर्ती हुन प्रोत्साहित गरे । पहाडी भूभागमा लड्न सक्ने ‘स्थानीय गाइड’ र ‘भरिया’हरू उपलब्ध गराएर उनले ब्रिटिस सेनाको गतिशीलता बढाइदिए । यसले गर्दा अङ्ग्रेजहरूलाई भारी तोप र हातहतियार पहाडका चुचुरासम्म पुऱ्याउन सजिलो भयो जुन गोर्खालीहरूका लागि निकै घातक सावित भयो ।

युद्धको तयारीका क्रममा दिप शाही भट्केलान् भनेर ब्रिटिस अधिकारीहरूले दीप शाहीलाई पटक-पटक आश्वासन दिइरहन्थे कि गोर्खालीहरूलाई परास्त गरेपछि डोटीको प्राचीन गौरव र सत्ता उनैलाई सुम्पिइनेछ ! यो आश्वासन र लोभकै भरमा उनले आफ्ना सबै गुप्तचर संयन्त्र र सैन्य सूचना अङ्ग्रेजलाई बुझाए ।

सन् १८१६ को सुगौली सन्धिपछि अङ्ग्रेजहरूको प्राथमिकतामा बदलाव आयो । उनीहरूलाई अब दीप शाहीको सहयोग चाहिएको थिएन, बरु नेपालको नयाँ सरकार (राणा र भारदारहरू)सँग स्थिर सम्बन्ध चाहिएको थियो । अङ्ग्रेजहरूले डोटीलाई नेपालकै सार्वभौमसत्ताभित्रै स्वीकार गरिदिए । दीप शाहीले आफ्नो राज्य फिर्ता पाउने त परको कुरा उनले दाबी गरेको तराईको भूभाग (कैलाली–कञ्चनपुर) समेत अङ्ग्रेजहरूले आफ्नै नियन्त्रणमा राखे । यसरी अङ्ग्रेजले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा भएपछि दीप शाहीलाई काम सकिएपछि फालिने साधन जस्तै व्यवहार गरे । सुरुमा अङ्ग्रेजले दीप शाहीलाई प्रयोग गरेपनि पछि रणनीतिक रूपमा उनलाई साथ दिएनन् । पश्चिमका गोर्खाली प्रशासक बम शाहसँग अङ्ग्रेजको भित्री साठगाँठ भएकाले उनीहरूले दीप शाहीलाई भन्दा बम शाहलाई बढी महत्त्व दिए । अङ्ग्रेजहरू दीप शाही जस्ता विस्थापित राजालाई पुनःस्थापित गरेर थप अर्को युद्ध निम्त्याउन चाहँदैनथे ।

दीप शाहीको मुख्य लक्ष्य आफ्नो राज्य फिर्ता पाउनु थियो तर १८१६ को सुगौली सन्धिले उनको सपना चक्नाचुर पारिदियो । अङ्ग्रेजहरूले डोटीलाई नेपालकै भाग स्वीकार गरे । अङ्ग्रेजको रुचि दीप शाहीलाई राजा बनाउनु भन्दा पनि तराईको वन र उब्जाउ भूमिको राजस्व हडप्नु थियो ।

यस युद्ध र त्यसपछिको सन्धिले नेपालको ‘विशाल नेपाल’को स्वरूपलाई खुम्च्याएर वर्तमान भौगोलिक सीमामा सीमित गरिदियो । स्योराजबाट सुरु भएको विवादले डोटी र कुमाउ-गढवालसम्मको भू-भाग नेपालले गुमाउनुपर्ने स्थिति सृजना गऱ्यो । यद्यपि, दीप शाहीको कूटनीतिक दबाब र अङ्ग्रेजसँगको साठगाँठले गर्दा डोटी क्षेत्रको प्रशासन र सीमा निर्धारणमा दीर्घकालीन असर पऱ्यो । यही युद्धको उपजको रुपमा नसिरी बटालियनको जन्म भयो जसमा ९० प्रतिशत सेना नेपाली नै थिए भने बाँकी १० प्रतिसत पनि नेपाली मुलका कुमाउँ गडवालका नेपाली थिए ।

यसरी सन् १८१६ देखि ४४ वर्ष १८६० सम्म कैलाली र कञ्चनपुर ब्रिटिसकै अधीनमा रही रहे । पछि सन् १८५७ को सिपाही विद्रोह दबाउन जङ्गबहादुर राणाले गरेको सहयोगको गुन तिर्न अङ्ग्रेजले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई नै फिर्ता दिए जसलाई नयाँ मुलुक भनियो ।

नेपाल-अङ्ग्रेज युद्ध (१८१४–१६) को समग्र विश्लेषण गर्दा यो स्पष्ट हुन्छ कि यो युद्ध केवल सीमानाको सामान्य किचलो मात्र थिएन बरु यो दुई उदयमान शक्तिहरूको अस्तित्व र विस्तारको टकराव थियो । यस ऐतिहासिक घटनाक्रममा स्योराज (शिवराज) र राजा दीप शाही दुईवटा यस्ता तत्व देखिए जसले युद्धको आरम्भ र अन्त्यलाई जोड्ने काम गरे ।

अन्त्यमा, नेपाल-अङ्ग्रेज युद्धको इतिहासमा स्योराज ‘आगोको झिल्को’ थियो भने राजा दीप शाही त्यो झिल्कोलाई फैलाउन मद्दत गर्ने र अन्ततः युद्धलाई बिट मार्ने ‘निर्णायक पात्र’ थिए । यो अध्ययनले के पुष्टि गर्छ भने राष्ट्रिय इतिहासको निर्माणमा केवल ठूला युद्ध र सेनापतिहरूको मात्र हात हुँदैन बरु स्योराज जस्ता भौगोलिक बिन्दु र दीप शाही जस्ता विस्थापित पात्रहरूको अदृश्य भूमिकाले पनि देशको नक्सा र भविष्य निर्धारण गर्न उत्तिकै भूमिका खेलेको हुन्छ । यो युद्धले नेपाललाई आफ्नो सिमाना जोगाउन सिकाए पनि यसले आफ्नै भित्रका विद्रोही शक्तिहरूलाई व्यवस्थापन गर्न नसक्दाको मूल्य कति भारी हुन्छ भन्ने पाठसमेत सिकाएको छ ।