जोशीलाई कामनपा नगरप्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान

जोशीलाई कामनपा नगरप्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं महानगरका नगरप्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका विष्णुप्रसाद जोशीलाई दर्ज्याानी चिन्ह प्रदान गरिएको छ । काठमाडौं महानगरपालिकाको सभाकक्षमा बुधबार (२० जेठ) आयोजिक एक समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ही सुशोभन अवसरमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार, सामाजिक समितिका संयोजक रामकुमार केसीसहित जनप्रतिनिधि, विभागीय प्रमुखहरु र नगर प्रहरी बलका अधिकृतहरु सहभागी थिए । यही जेठ ३ गते बसेको ४९औँ कार्यपालिका बैठकले जोशीलाई नगर प्रहरी उपरीक्षकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति गरेर महानगर प्रहरी बलको प्रमुखमा मुकर्रर गर्ने निर्णय गरेको थियो ।

सुशोभन अवसरमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरबासीले दुःख पर्दा नगर प्रहरी बल सम्झने गरी सेवा प्रदान गर्न निर्देशन दिइन् । उनले भनिन्, ‘महानगरपालिकाको मुहार नगरप्रहरी बलको सेवा र आचरणमा देखिन्छ । त्यसैले कानुनले तोकेका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन, शिष्टता र नम्रताबाट महानगरबासीको साथीका रुपमा आफूलाई स्थापित गराउनुहोला । कार्यालयले नगर प्रहरीको वृत्ति विकास र क्षमता विकासमा भेदभाव विना सबैलाई आत्मसम्मान प्रदान गर्ने गरी कार्यालयले प्रक्रिया अगाडि बढाउनेछ । पदोन्नति हुनुपर्ने अधिकृतहरुलाई प्रक्रिया पूरा भएपछि माथिल्लो पदमा लगिनेछ । बलले महानगरपालिकाको गौरव उच्च राख्ने काम गर्नुहोला ।’

शहरी सुन्दरता र व्यवस्थापनमा निर्देशित काम जवाफदेही भएर सम्पन्न गर्नुहुनेछ भन्ने विश्वाश आफूले लिएको कार्यवाहक प्रमुख डंगोलको भनाइ थियो ।

त्यस क्रममा प्रहरी बलका प्रमुख जोशीले कर्तव्यप्रति इमान्दार र निष्ठामा कुनै पनि कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

२०५० साल भदौ १४ गते नगरप्रहरी सेवामा प्रवेश गरेका जोशी २०६५ साल भदौ १५ गते नगर प्रहरी निरीक्षक, २०७२ साल माघ १ गते नगर प्रहरी नायव उपरीक्षक, २०७७ फागुन १० गते नगरप्रहरी उपरीक्षक र २०८३ जेठ ३ गते नगर प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका हुन् ।

नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । महानगरपालिकाले वि.सं. २०५० भदौ १४ गते नगर प्रहरी सेवा थालेको हो । त्यस बेला नगरप्रहरी नायव उपरीक्षकको नेतृत्वमा विभिन्न तहमा २१९ प्रहरीको दरबन्दी थियो ।