परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै पक्षबीच लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श भएको जनाइएको छ ।
यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो ।

नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा पनि विचारविमर्श भएको सञ्चार मन्त्रालयले जनाएको छ ।
अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताउनुभयो । उहाँले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेका उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा गर्नुभयो ।
उहाँले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौती व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताउनुभयो । लगानी विस्तार र डिजिटल पूर्वाधार विकासका क्षेत्रमा अमेरिका सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयोे ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताउनुभयो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम रहेको नीतिगत तथा कानूनी व्यवस्थाबारे पनि जानकारी गराउनुभयो ।
photo: rss
प्रतिक्रिया