लिखतसम्बन्धी कसुरमा वीरगञ्ज महानगरका प्रमुख पक्राउ

लिखतसम्बन्धी कसुरमा वीरगञ्ज महानगरका प्रमुख पक्राउ


वीरगञ्ज महानगरपालिका प्रमुख (मेयर) राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज (१९ जेठ) उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले भनेका छन्, ‘हामीले उहाँको खोजीका लागि विशेष टोली परिचालन गरेका थियौँ, यसैक्रममा ठोरीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो । नगरप्रमुख सिंहलाई सम्भवत् आजै अदालतमा पेस गर्नेछौँ ।’

नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।

पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्न भनेको थियो ।