न्याय क्षेत्रमा सुशासन कायम गर्न लागिपर्ने प्रधानन्यायाधीशको प्रतिबद्धता

न्याय क्षेत्रमा सुशासन कायम गर्न लागिपर्ने प्रधानन्यायाधीशको प्रतिबद्धता


प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज (१९ जेठ) प्रधानन्यायधीशसँग गरेको भेटमा उनले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन् ।

प्रधानन्यायाधिश डा. शर्माले भने, ‘आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवम सुशासनसम्बन्धी विषयमा मैले कार्ययोजनामा नै राखेको छु । आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउछु ।’

न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उनको भनाइ थियो ।

प्रधानन्यायाधीशसँगको भेटमा मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्षहरू यम वीरही, लीलाधर उपाध्याय, दुर्गा दुलाललगायतले न्याय निष्पक्ष, सरल, छिटो हुनुपर्ने र आमजनताले न्यायको महसुस हुने गरी न्याय दिनुपर्नेलगायत विषयमा सुझाव दिए ।