नेपाली सेनाको पहलमा खानेपानी पूर्वाधार निर्माण

नेपाली सेनाको पहलमा खानेपानी पूर्वाधार निर्माण


धादिङको गजुरी गाउँपालिका-१ खानीपँधेरा उप्रेती गाउँका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधानतर्फ उन्मुख भएको छ । गाउँमा १५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की तथा धारा निर्माण सम्पन्न भएसँगै स्थानीयले स्वच्छ र शुद्ध खानेपानीको सहज पहुँच पाउने आशा गरेका छन् ।

पहाडी भूगोलका कारण खानेपानीको स्रोत सीमित हुँदा यहाँका बासिन्दा दैनिक पानीको जोहो गर्न लामो समय खर्चिन बाध्य थिए । विशेषगरी बिहान र बेलुका पानी भर्न धारामा लामो लाइन लाग्ने, पर्याप्त पानी नपुग्ने तथा कतिपय अवस्थामा टाढाबाट पानी बोक्नुपर्ने समस्या वर्षौंदेखि रहँदै आएको थियो।

यही समस्यालाई मध्यनजर गर्दै श्री भैरव गण, गजुरी ब्यारेकले द्रुत प्रभाव परियोजना क्विक इम्प्याक्ट प्रोजेक्ट (क्यूआईपी) अन्तर्गत १५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की तथा धारा निर्माण गरेको हो । परियोजना सम्पन्न भएसँगै स्थानीयवासीको दैनिक जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

परियोजनाअन्तर्गत निर्माण गरिएको ट्याङ्की र धाराले गाउँमा स्वच्छ खानेपानीको उपलब्धता बढाउनुका साथै पानीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाले अब सहज रूपमा खानेपानी उपभोग गर्न सक्ने भएका छन् ।

श्री भैरव गण गजुरी ब्यारेकका गणपति असीम श्रेष्ठका अनुसार परियोजनाको मुख्य उद्देश्य ग्रामीण बस्तीमा आधारभूत आवश्यकताका रूपमा रहेको स्वच्छ खानेपानीको पहुँच विस्तार गर्नु हो । उनका अनुसार खानेपानीको सहज आपूर्तिले स्थानीयको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

परियोजनाबाट दैनिक करिब १ हजार २ सयदेखि १ हजार ५ सय जनासम्म प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ। यसले स्थानीय बासिन्दालाई मात्र होइन, विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक तथा महिलाहरूलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ । पानी संकलनमा खर्च हुने समय बचत हुँदा अन्य उत्पादनशील काममा समय उपयोग गर्न सकिने स्थानीयको भनाइ छ ।

कुल ५ लाख १५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त पूर्वाधार परियोजना सम्पन्न भएपछि स्थानीय समुदायलाई हस्तान्तरण गरिनेछ। स्थानीय तह र समुदायको सक्रिय सहभागितामा यसको संरक्षण तथा दिगो व्यवस्थापन गरिने जनाइएको छ ।

खानेपानीजस्तो आधारभूत आवश्यकताको पहुँच सुनिश्चित गर्न यस्ता साना तर प्रभावकारी परियोजनाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ। खानीपँधेरामा निर्माण भएको यो खानेपानी आयोजना केवल एउटा पूर्वाधार मात्र नभई स्थानीय बासिन्दाका लागि सहज जीवन र स्वस्थ भविष्यतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।