सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिएपछि पार्टीको संसदीय दलभित्र देखिएको सङ्कट तत्काललाई टरेको छ । शाहलाई दलको नेताबाट हटाउनुपर्ने प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य डम्मरी महराले प्रस्ताव फिर्ता लिएकी हुन् ।
प्रस्ताव फिर्ता लिएकी महराले पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको प्रतिक्रिया दिएकी छन् । मुख्यमन्त्री शाहले पनि पत्रकार सम्मेलनमार्फत असन्तुष्ट सांसदसँग छलफल संवाद गरिने बताएका छन् । यसअघि दलका नेता शाहलाई हटाउन मंगलबार (१९ जेठ) कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
तत्कालका लागि मूख्यमन्त्री शाहको संकट टरेपनि कांग्रेस नेता एवं प्रदेशसभा सदस्य दिवानसिंह विष्टले विधानअनुसार दलको नेता हटाउन दर्ता गरिएको अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्ने र गोप्य मतदानबाट निर्णय हुने भएकाले नेता परिवर्तन हुने दाबी गरेका छन् । उनले भनेका छन्, ‘प्रदेशसभा संसदीय दलमा हामी नौ जना बहुमत सदस्यले नेता परिवर्तनका लागि नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छौँ, माननीय डम्मरी महराले आफ्नो निर्णय फिर्ता लिएको जानकारी आए पनि प्रक्रिया रोकिने छैन ।’
प्रदेशसभामा कांग्रेसका १८ सदस्य छन् । कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा लामो समयदेखि विदेश रहँदै आएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनमा शाह नेतृत्वको सरकार छ । नेताबाट हटाउन विष्टसहित मानबहादुर रावल, गीताकुमारी चौधरी, तुल्सी देवकोटा, जुनाकुमारी दानी, ललिता सुनार, पदमबहादुर शाही, बेलबहादुर रानामगर र डम्मरी महराले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरिएको थियो ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा एक सदस्य निलम्बनमा छन् । स्वतन्त्र सदस्य डा. तारा जोशीले केही महिनाअघि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया