‘भारत नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक’

‘भारत नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक’


भारत यात्रामा रहेका रास्वपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (२० जेठ) नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरेका छन् । साथै उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने जनाएका छन् ।

प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेका छन् ।

भेटका अवसरमा नेपाल-भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी (भाजपा)बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको बताइएको छ ।

त्यस अवसरमा भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछानेलगायत नयाँ दिल्लीस्थित नेपाली राजदूताबासका उच्च अधिकारीको पनि सहभागिता थियो ।

भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको पाँचदिने यात्राका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

तस्बिर : प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट