(अनुभव/अनुभूति)
✍ प्रिमुला भण्डारी
साँझ पर्न थालेको थियो । ब्रह्मपुत्रका विशाल छालहरू सुनौलो घाममा चम्किरहेका थिए । असमको एउटा सानो गाउँमा ८५ वर्षका वृद्ध धनबहादुर गोर्खा आफ्नो घरको आँगनमा बसेर टाढा क्षितिजतिर हेरिरहेका थिए । उनको नाति आयुषले सोधे, ‘हजुरबा, हामी नेपाली हौँ कि असमी ?’
धनबहादुर केहीबेर मुस्कुराए । उनका आँखाहरूमा वर्षौंअघिको इतिहास झल्कियो ।
‘बाबु, यही प्रश्नले त हाम्रो पूरै जीवन बित्यो ।’
त्यसपछि उनले आफ्नो कथा सुनाउन थाले ।
धनबहादुरका हजुरबा विक्रमबहादुर सन् १८९० तिर नेपालको पहाडी गाउँबाट असमतिर आएका थिए । त्यो बेला असम आजको जस्तो थिएन । चारैतिर घना जंगल, जंगली जनावर र बिरानो भूमि थियो ।
भोक थियो ।
गरिबी थियो ।
तर, आशा पनि थियो ।
आफ्ना साना छोराछोरीको भविष्यका लागि विक्रमबहादुरले पहाडका परिचित बाटाहरू छोडे र ब्रह्मपुत्रतिर झरे।
धेरै दिनको पैदल यात्रापछि उनीहरू असम पुगे । त्यो दिन उनीहरूलाई थाहा थिएन कि उनीहरूको निर्णयले भावी पुस्ताको भाग्य बदल्नेछ ।
जंगल फाँडियो ।
बाँस काटियो ।
गोठ बनाइयो ।
खेत जोतियो ।
पसिनाले माटो भिज्यो ।
विक्रमबहादुरले पहिलो पटक असमको माटोमा धान रोप्दा भनेका थिए- ‘यो भूमि अब पराइ होइन !’
त्यस दिनदेखि गोर्खाहरूले असमलाई केवल बस्ने ठाउँ होइन, आफ्नो घर बनाउन थाले ।
कसैले दूध बेच्न थाले ।
कसैले गाई पालन गरे ।
कसैले चिया बगानमा काम गरे ।
कसैले खदानबाट कोइला निकाले ।
कसैले सीमामा बन्दुक बोके ।
कसैले विद्यालय खोले ।
कसैले गाउँमा मन्दिर बनाए ।
एक-एक इँटा जोडेर उनीहरूले आफ्नो भविष्य निर्माण गरे ।
समय बित्दै गयो ।
नेपालका पहाडहरू सम्झनामा सीमित हुँदै गए ।
असमका नदी, खेत र गाउँहरू आफ्ना बन्न थाले ।
धनबहादुर यहीँ जन्मिए ।
उनका बा यहीँ जन्मिए ।
उनका छोराछोरी पनि यहीँ जन्मिए ।
उनीहरूले नेपाली भाषा बोल्थे, दशैं मनाउँथे, तिहारमा देउसी खेल्थे तर उनीहरू बिहुमा पनि नाच्थे, असमिया गीत पनि गाउँथे । जुबिन दा आफ्नै दाइ बने ।
उनीहरू नेपाली पनि थिए ।
उनीहरू असमी पनि थिए ।
उनीहरू भारतीय पनि थिए ।
यही मिश्रित पहिचान नै उनीहरूको वास्तविक परिचय थियो ।
तर इतिहास सधैं सहज हुँदैन ।
कहिलेकाहीँ कसैले सोध्थ्यो,
तिमी नेपालबाट आएको हो ?
धन बहादुरको मन चसक्क हुन्थ्यो ।
उनका बाबुको चिहान असममा थियो ।
उनका हजुर बाको समाधि असममा थियो ।
उनले कहिल्यै नेपाल देखेका पनि थिएनन् ।
तर, अझै कसैले उनलाई विदेशी झैं हेर्थ्यो ।
त्यो पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।
NRC को समय आयो ।
धेरै गोर्खा परिवारले आफ्नो नागरिकता प्रमाणित गर्न कागज बोकेर कार्यालय धाउनु पर्यो ।
जसका पुर्खाले एक सय वर्षअघि जंगल फाँडेका थिए, उनीहरूलाई आफ्नै माटोमा आफ्नो अस्तित्व प्रमाणित गर्नु पर्यो ।
धनबहादुरले गहिरो सास फेरे र आयुषतिर हेरे ।
बाबु, पहिचान केवल कागजले तय गर्दैन, पहिचान त्यो माटोले बनाउँछ जहाँ तिम्रा पुर्खाले पसिना बगाए, त्यो भाषाले बनाउँछ जसमा तिमी सपना देख्छौ र त्यो समाजले बनाउँछ जसलाई तिमी आफ्नो भन्छौ ।
उनले ब्रह्मपुत्रतिर औँला देखाए ।
हेर, यो नदी जस्तै हाम्रो जीवन पनि धेरै धाराहरूको संगम हो । हामीमा नेपालको सम्झना छ, असमको आत्मा छ र भारतको भविष्य छ ।
NRC ले धेरैलाई चिन्ता, पीडा र प्रश्नहरू दियो तर त्यसले एउटा सत्य पनि उजागर गर्यो । गोर्खाहरूको इतिहास यस भूमिसँग गहिरोसँग गाँसिएको छ । संघर्षहरू आए, शंका उठे तर पुस्तौँदेखि यहाँ जरा गाडेका मानिसहरूको आत्मा विश्वास र धैर्य कहिल्यै हराएन ।
साँझको घाम बिस्तारै अस्ताउँदै थियो । आयुष चुपचाप हजुरबाको कुरा सुनि रहेको थियो ।
सायद उत्तर नेपाली वा असमीमध्ये कुनै एकमात्र हुनुमा थिएन । उत्तर त दुवैलाई आत्मसात् गरेर अघि बढ्नुमा थियो । किनकि, पहिचान विभाजनको रेखा होइन, अनुभवहरूको पुल हो र जबसम्म ब्रह्मपुत्र बगिरहन्छ तबसम्म यस किनारमा बस्ने गोर्खाहरूको कथा पनि बगिरहनेछ – आफ्नो अस्तित्वमा गर्व गर्दै, आफ्नो बहुआयामिक पहिचानलाई अँगाल्दै र आउने पुस्तालाई आशा, सहअस्तित्व र दृढताको सन्देश दिँदै ।
- प्रिमुला काटेज
चर्च रोड (गान्तोक), सिक्किम
(भाषा साहित्यतर्फ बेलाबखत कलम चलाइरहने प्रिमुला भण्डारी सिक्किमनिवासी हुनुहुन्छ । उहाँ सिक्किमका पूर्व मुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार स्व। नरबहादुर भण्डारी तथा नेपाली भाषालाई भारतको लोकसभामा अथक लडाईं लडेर संवैधानिक मान्यता दिलाउने पूर्व सांसद श्रीमती दिलकुमारी भण्डारीकी छोरी हुनुहुन्छ ।)
प्रतिक्रिया