विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तरराष्ट्रिय योग दिवसका अवसरमा पहिलो पटक कैलाश-मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ ।
काठमाडौँमा मंगलबार (२ असार) आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमिका रूपमा विश्वसामु चिनाउने उद्देश्यसहित कैलाश-मानसरोवरमा विशेष योग अभ्यास कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देशका रूपमा स्थापित गर्नाका साथै यहाँको प्राचीन योग, तपस्या, ध्यान तथा आध्यात्मिक सभ्यतालाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु हो ।
योग दिवस मनाउन सहभागी टोली असार ३ गते कैलाश-मानसरोवरतर्फ प्रस्थान गर्नेछ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक योग तथा ध्यान अभ्यास गरिने कार्यक्रम तय गरिएको छ ।
“भगवान् शिवको तपोभूमि मानिने कैलाश-मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तरराष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो’, अध्यक्ष शर्माले भन्नुभयो, ‘हिमालयको मौन सौन्दर्य र कैलाश-मानसरोवरको पवित्र वातावरणमा योग केवल शारीरिक अभ्यास मात्र नभई आत्मिक जागरण र शान्तिको मार्ग बन्ने हाम्रो विश्वास छ ।’
कार्यक्रममा नेपाल, भारतलगायत विभिन्न देशका योगी, ध्यान साधक, योग प्रशिक्षक, तपस्वी, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियानकर्मी गरी एक सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
समाजका शाखा तथा साधना केन्द्र नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा सञ्चालनमा रहेका छन् ।
आयोजकका अनुसार कैलाश-मानसरोवरमा हुने अन्तरराष्ट्रिय योग यात्रा तथा साधनाले नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन तथा अन्तरराष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सहयोग पुग्नेछ । साथै युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्न पनि कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।
अभियानले नेपाललाई ‘योग र ध्यानको उद्गमस्थल’का रूपमा विश्व समुदायमा स्थापित गर्न मद्दत पुग्ने तथा विभिन्न देशका साधकहरूको सहभागिताले नेपाललाई अन्तरराष्ट्रिय योग केन्द्रका रूपमा चिनाउन थप टेवा पुग्ने आयोजकको विश्वास रहेको छ ।
प्रतिक्रिया