डीएसपीमाथि आयुक्त कार्यालयमा मुद्दा

डीएसपीमाथि आयुक्त कार्यालयमा मुद्दा


मोही हटाउन घुस
तीन पुस्तादेखि घर बनाएर जग्गा भोगचलन गर्दै आएका मोहीहरुलाई रित्तो हात प्रहरी लगाएर हटाउन खोज्दा बौद्ध तीनचुलीमा प्रहरी र मोही पक्षबीच झडप भएको छ । झडपका क्रममा बौद्ध वृत्तका इन्स्पेक्टर दीपक खड्कासमेत घाइते भए । काठमाडौं महानगरपालिका–६ को ५ (क) कित्ता नं. ३३ को एक रोपनी १२ आना तीन पैसा जग्गामा रामबहादुर लामा र ठूली लमेनीले घर बनाएर बस्दै आएका थिए । उनीहरुले भोगचलन गर्दै आएको जग्गामा बनेको घर एक्कासि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउने क्रममा प्रहरीले भत्काउन सुरु गरेपछि स्थानीयहरु प्रतिकारमा उत्रिएका थिए । काठमाडौं प्रहरी परिसरले ०६९ जेठ १३ गते उक्त घर तत्काल नभत्काउन बौद्ध वृत्तलाई आदेश दिएको थियो । तर, उक्त आदेश पनि नमानी वृत्तका डीएसपी श्याम ज्ञवालीले जेठ १७ गते प्रहरीलाई घर भत्काउन पठाएपछि असमझदारी उत्पन्न भई झडप भएको खुलासा भएको छ । मोही ठूली लमेनी र रामबहादुर तामाङको नाममा जोताहा निस्सा र ०५५ चैत १० गते मालपोत कार्यालय चाबहिलले दिएको अस्थायी जग्गाधनीपूर्जासमेत रहेको छ । मोहीहरुले जिल्ला अदालत काठमाडौंबाट त्यही आधारमा मुद्दा जितेका हुन् । तर, सर्वोच्चमा मोहीको पक्षका केहीको बद्मासीले गर्दा मुद्दा जग्गाधनीको पक्षमा फैसला हुन गएको पीडित ठूली लमेनीको भनाइ छ । उनले भनिन्, ‘स्थायी पूर्जा, भूमिकर तिरेको रसिद, जोताहाको अस्थायी निस्सा सबै छ, तर सर्वोच्चले यी आधार हुँदाहुँदै पनि हामीलाई हरायो । बाबुबाजेका पालादेखि बस्दै आएका हामीलाई मुद्दा हारेपछि समझदारीमै घर खाली गर्न लागेको अवस्थामा प्रहरी प्रशासन प्रयोग गरी जबर्जस्ती हटाउन खोजियो ।’ जग्गाधनी कृष्णमान शाक्यले मुद्दा जित्नासाथ उक्त जग्गा गोमादेवी आचार्यलाई बिक्री गरेको र आचार्यले प्रहरीको सहयोग लिएर जग्गामा बनेको घर भत्काउन लगाएकोले स्थानीय आक्रोसमा आएर प्रहरीमाथि जाइलागेका थिए । जग्गा खाली गराउने सर्वोच्चको फैसलाअनुसार मुद्दा जिते पनि लामो समयदेखि बस्दै आएका मोहीलाई राहतस्वरुप केही क्षतिपूर्ति दिएर हटाउने पक्षमा स्थानीयले पहल गर्दागर्दै डीएसपी ज्ञवालीलाई प्रभावमा पारी जबर्जस्ती घर भत्काएर जग्गा खाली गराउन लागेको आरोप गोमादेवीमाथि लागेको छ । ँयो ज्यादती हो,’ मोही रामबहादुर लामाले भने, ँमेरा बाबु सन्तमान नै यो जग्गा कमाएर बसेका हुन् ।’ भूमिसुधार कार्यालय काठमाडौंका प्रमुख दिनेशप्रसाद शर्माले घुस खाएर मोही लगत कट्टा गरेको गुनासोसमेत पीडित ठूली लमेनी र रामबहादुर लामाको छ । जोताहा लमेनी र लामा नै नभई जग्गाधनीको मात्र उपस्थितिमा शर्माले मोही लगत कट्टा गरेको आरोप भूमिसुधार अधिकारी शर्मामाथि छ । पीडित पक्षका अनुसार जोताहा र जग्गाधनी दुवैको उपस्थितिमा मात्र लगत कट्टा गर्नुपर्ने ऐनमा व्यवस्था रहे पनि शर्माले जग्गाधनीको प्रभावमा परी उक्त निर्णय गरेका हुन् ।
डीएसपी श्याम ज्ञवालीले जग्गाधनी आचार्यबाट प्रभावित भई काठमाडौं परिसरको आदेशसमेत अटेर गरी घर भत्काउन पठाएको भन्दै उनका विरुद्ध १५ लाख रुपैयाँ घुस लिएको आरोपसहित महानगरीय प्रहरी आयुक्तको कार्यालयमा उजुरी परेको छ । महानगरीय आयुक्त कार्यालयले पनि यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको छ । पीडित पक्षका अनुसार गोमाले डीएसपी र इन्स्पेक्टर दुवैलाई प्रभावमा पारी जबर्जस्ती घर भत्काउन लगाएकी हुन् ।
डीएसपीले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै उजुरीमा पीडित मोही कानुनतः हारे पनि व्यावहारिक रूपमा उनीहरुलाई केही राहत दिन प्रहरीले पहल गर्नुपर्नेमा एक्कासि प्रहरी नै घर भत्काउन लागेपछि स्थानीयसमेत प्रहरीको भूमिकाबाट रुष्ट भई विवादमा उत्रिएका थिए । अदालतको फैसला कार्यान्वयन गराउने क्रममा प्रहरीको भूमिका एकपक्षीय भएको गुनासोबारे पनि आयुक्त कार्यालयले छानबिन गर्ने भएको छ । लामो समयदेखि सो जग्गामा घर बनाएर बसेकाहरुलाई हटाउँदा अदालतका कर्मचारी, वडाका सचिवलगायतसँग सर्वपक्षीय सहमति गरी प्रहरीले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा डीएसपी ज्ञवालीले प्रहरीलाई नै पिक, गैंचीलगायतका सामान पठाएर भत्काउन लगाएको पीडितको गुनासो छ ।