सुगौली सन्धिदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिको दाबीलाई ‘दुवै पक्षले मिचेका छन्’ भन्ने भाषामा ढालिदिएर प्रधानमन्त्रीले नेपालको नैतिक स्थितिलाई नै कमजोर बनाए । र, उनको यो भनाइलाई १८१ जोडी हातहरूले ताली दिएर वैधानिकता प्रदान गरे । नेपाली जनता राष्ट्रियताको मुद्दामा अत्यन्त संवेदनशील छन्, तर आफ्नै प्रतिनिधिहरूले सदनभित्र राष्ट्रघातको ताली बजाउँदा उनीहरूको पीडा कल्पना गर्न सकिन्छ ।
✍ नारायण शर्मा घिमिरे
संसदमा बजेको एउटा ताली केवल ध्वनि मात्र हो कि राष्ट्रिय चेतनाको अभिव्यक्ति पनि हो ? जब राष्ट्रिय सार्वभौमिकता र सीमाको प्रश्न उठ्छ, तब संसदमा उठेका हातहरू केवल राजनीतिक समर्थनका प्रतीक हुन् कि इतिहासप्रति उत्तरदायी निर्णयका सूचक ? नेपालको राजनीति सधै उत्ताउलो प्रकृतिको रही रहेको छ, आज यी प्रश्नहरुको उत्तर छायामा परेका छन् किनकि यहा मतदाताको मादकताले राजनीतिको डोरी समाएको छ ।
तालीको संदेश :
हामीले सिक्दै र बुझ्दै आएको कुरा हो कि तालीको राजनीति केवल व्यक्तिप्रतिको निष्ठा हो र जवाफदेहिताको राजनीति भने सत्य र संस्थाप्रतिको निष्ठा । संसदको रोस्टममा गुञ्जिएको एउटा वाक्यभन्दा पनि त्यसपछि बजेको ताली कहिलेकाहीँ बढी अर्थपूर्ण हुने रहेछ । किनकि एउटा व्यक्तिले बोलेको कुरा उसको विचार हुन सक्छ, उसले हतासमा भनि दिएको हुन सक्छ, तर त्यसमा एकैसाथ उठेका सयौं हातहरू सबै गलत थिए भन्न सकिदैन, जसको सहयोगले रोस्टमको अभिव्यक्तिलाई सामूहिक समर्थनमा रूपान्तरण गरिदियो । राष्ट्रियता, सार्वभौमिकता र सीमाको प्रश्नमा संसदले देखाएको प्रतिक्रिया त्यस दिनको समाचार मात्र हुँदैन । त्यो भविष्यका पुस्ताले पढ्ने राजनीतिक संस्कृतिको दस्तावेज पनि बन्छ भन्ने तथ्य नबुझ्नु ति ताली र टेबल ठोकेर समर्थन गर्ने संसदको दिमागी सुन्यता हो ।
केही दिनअघि संसदको रोस्टममा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले एउटा यस्तो वाक्य उच्चारण गरे जसले राष्ट्रियताको भावना बोकेका हरेक नेपालीको छातीमा चोट पुर्यायो । ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ, प्रधानमन्त्री भएपछि थाहा पाएँ’ भन्ने उनको भनाइ सकिन नपाउँदै सरकारसमर्थक १८१ जना सांसदहरूका हातहरू एकैचोटि उठे । तालीको गड्गडाहटले सदन भरियो, टेबल ठोकेको आवाजले संसद भवन गुन्जियो । ती राष्ट्रिय स्वन्तन्त्र पार्टीका सांसदहरू थिए, जसका हातहरूले नेपालको सार्वभौमिकता र सीमा दाबीलाई कमजोर पार्ने भनाइको समर्थन गरे । यो घटना सामान्य संसदीय ताली बजाउने मामला होइन । यो नेपालको राष्ट्रिय हितमाथिको स्पष्ट आघात हो । सुगौली सन्धिदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिको दाबीलाई ‘दुवै पक्षले मिचेका छन्’ भन्ने भाषामा ढालिदिएर प्रधानमन्त्रीले नेपालको नैतिक स्थितिलाई नै कमजोर बनाए । र, उनको यो भनाइलाई १८१ जोडी हातहरूले ताली दिएर वैधानिकता प्रदान गरे । नेपाली जनता राष्ट्रियताको मुद्दामा अत्यन्त संवेदनशील छन्, तर आफ्नै प्रतिनिधिहरूले सदनभित्र राष्ट्रघातको ताली बजाउँदा उनीहरूको पीडा कल्पना गर्न सकिन्छ ।
राजनीतिक निष्ठा र राष्ट्रिय हितबीचको सम्बन्ध :
नेपालमा पछिल्ला केही वर्षयता ‘भरिलो राष्ट्रवाद’ र ‘खोक्रो राष्ट्रवाद’ भन्ने भाष्य व्यापक रूपमा प्रयोग हुन थालेको छ । राष्ट्रहित, राष्ट्रिय स्वाभिमान, सीमा, सार्वभौमिकता वा राष्ट्रिय पहिचानका विषयमा बोल्ने व्यक्तिहरूलाई उनीहरूको राजनीतिक आस्था र सम्बन्धका आधारमा वर्गीकरण गर्ने प्रवृत्ति बढेको देखिन्छ । आफ्नो पक्षबाट उठेको राष्ट्रवादी आवाजलाई ‘भरिलो’ र ‘प्रगतिशील’ भनेर व्याख्या गर्ने, तर असहमत पक्षबाट उठेका समान प्रश्नहरूलाई ‘खोक्रो राष्ट्रवाद’, ‘सस्तो लोकप्रियता’ वा ‘भावनात्मक राजनीति’ भनेर खारेज गर्ने संस्कृतिले स्वस्थ राष्ट्रिय बहसलाई कमजोर बनाएको छ । राष्ट्रवादको मूल्याङ्कन त्यसको तथ्य, तर्क र राष्ट्रिय हितका आधारमा होइन, बोल्ने व्यक्तिको राजनीतिक पहिचानका आधारमा हुन थालेपछि राष्ट्रियताको विमर्श नै ध्रुवीकृत बन्न पुगेको छ ।
सम्भवतः संसदमा बजेका ती तालीहरू पनि यही मानसिकताको उपज हुन सक्छन् । जब कुनै राजनीतिक समूहले आफूलाई राष्ट्रवादको एकमात्र वैध प्रतिनिधि ठान्न थाल्छ, तब उसका अभिव्यक्तिहरूलाई तथ्यको कसौटीमा जाँच्ने संस्कार कमजोर बन्दै जान्छ । परिणामस्वरूप, पहिले ‘खोक्रो राष्ट्रवाद’ भन्दै अरूलाई उपहास गर्नेहरू स्वयं आफ्नै पक्षबाट प्रस्तुत भएका विवादास्पद वा अपुष्ट दाबीहरूमा पनि उत्साहपूर्वक ताली बजाउन पुग्छन् । यसले एउटा विडम्बनापूर्ण अवस्था सिर्जना गर्छ, जहाँ राष्ट्रवाद सत्यको परीक्षण गर्ने माध्यम नभई राजनीतिक निष्ठा प्रदर्शन गर्ने साधनमा रूपान्तरित हुन्छ । तर राष्ट्रप्रेमको वास्तविक मापन कसले बोलेको हो भन्नेमा होइन, के बोलेको हो र त्यसको आधार के हो भन्नेमा हुनुपर्थ्यो ।
किन बिबादित बने ति हातहरु :
लोकतान्त्रिक शासन प्रणालीमा कुनै मन्त्रीको अभिव्यक्ति विवादित बन्दा त्यसको राजनीतिक जिम्मेवारी अन्ततः प्रधानमन्त्रीले लिनुपर्छ। त्यसैले संसदमा मन्त्रीका अभिव्यक्तिबारे प्रश्न उठ्दा प्रधानमन्त्रीले जवाफ दिनु सामान्य अभ्यास हो । तर जब विवादको केन्द्रमा स्वयं प्रधानमन्त्री हुन्छन्, तब स्थिति फरक बन्छ। त्यस अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिलाई तथ्य र प्रमाणको आधारमा परीक्षण गर्ने जिम्मेवारी संसदको हुन्छ । संसदको भूमिका त्यस बेला रक्षाकवच बन्ने होइन, जवाफदेहिता सुनिश्चित गर्ने हुन्छ ।
संसदमा उठेका १८१ जोडी हातहरू, तिनले बजाएका तालीहरू र तिनको मौनताले इतिहासमा आफ्नो स्थान अवश्य बनाउनेछन् । तर, त्यसै इतिहासले प्रश्न गर्नेहरू, प्रमाण खोज्नेहरू र राष्ट्रिय हितको नाममा सत्यको पक्षमा उभिनेहरूलाई पनि छुट्टै स्थान दिनेछ । किनकि, अन्ततः राष्ट्रप्रेम तालीमा होइन, सत्यप्रतिको निष्ठामा प्रकट हुन्छ । र, इतिहास तमासा हेर्नेहरूको भन्दा जिम्मेवारी वहन गर्नेहरूको पक्षमा बढी न्यायपूर्ण हुन्छ ।
यही कारणले विवादित भनाइपछि सांसदहरूले तथ्य, प्रमाण र आधारबारे प्रश्न उठाउनु अपेक्षित थियो । तर यदि त्यसको सट्टा उत्साहपूर्वक ताली बजाइयो, टेबल ठोकियो र समर्थन प्रदर्शन गरियो भने संसदले आफ्नो निगरानी भूमिकाभन्दा समर्थकको भूमिका बढी निर्वाह गरेको देखिन सक्छ । लोकतन्त्रमा संसदको शक्ति सरकारलाई समर्थन गर्नमा होइन, आवश्यक पर्दा सरकारलाई प्रश्न गर्न सक्ने क्षमतामा निहित हुन्छ ।
अझ चिन्ताजनक कुरा त के हो भने, विवादित अभिव्यक्तिको समर्थनमा केवल ताली मात्र बजेन; त्यसलाई पुष्टि गर्न विभिन्न तर्क, सामग्री र व्याख्याहरू पनि खोजिए । सत्य पत्ता लगाउन प्रमाण खोजिनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर यदि प्रमाण सत्यको खोजीका लागि होइन, पहिले नै तय गरिसकिएको निष्कर्षलाई बचाउनका लागि खोजिन्छ भने त्यो बौद्धिक इमानदारीमाथिको प्रश्न बन्छ । राष्ट्रको हित त्यहाँ सुरक्षित रहँदैन जहाँ तथ्यलाई निष्कर्षअनुसार मोड्ने प्रयास गरिन्छ । राष्ट्रको हित त्यहाँ सुरक्षित रहन्छ जहाँ निष्कर्षलाई तथ्यअनुसार सच्याउने साहस हुन्छ ।
सांसदहरुले बुझ्नु पर्ने कुरा :
राष्ट्रघात केवल विदेशी शक्तिको पक्ष लिनु मात्र होइन । गलत सूचना फैलाएर राष्ट्रिय हित कमजोर बनाउनु पनि हुन सक्छ । जनतालाई भ्रमित पार्नु पनि राष्ट्रप्रतिको बेइमानी हुन सक्छ । तथ्यभन्दा राजनीतिक लाभलाई प्राथमिकता दिनु पनि आलोचनाको विषय बन्न सक्छ । इतिहासको अर्को महत्वपूर्ण शिक्षा के हो भने गलत निर्णयहरू प्रायः एक्ला व्यक्तिले मात्र गर्दैनन्। तिनलाई समर्थन गर्ने संरचना, मौन बस्ने व्यक्तिहरू र बिना प्रश्न स्वीकार गर्ने संस्कृतिले पनि त्यत्तिकै भूमिका खेल्छन् । ताली आफैँमा अपराध होइन । तर ताली समर्थनको प्रतीक अवश्य हो । लोकतन्त्रमा सांसदको सबैभन्दा ठूलो गुण अन्धसमर्थन होइन, स्वतन्त्र विवेक हो ।
महाभारतको एउटा पाठ के हो भने, कुनै सभ्यता केवल दुर्योधनका कारण संकटमा पर्दैन । भीष्मजस्ता महान र सम्मानित व्यक्तिहरूले गलत देखेका कुरामा समयमै प्रतिरोध गर्न नसक्दा पनि संकट गहिरिन्छ । इतिहासले केवल गल्ती गर्नेहरूलाई मात्र होइन, गल्तीमाथि मौन बस्ने वा त्यसलाई वैधता दिनेहरूलाई पनि प्रश्न गर्छ ।
अन्त्यमा, एउटा पुरानो कथा छ । वनमा भयानक आगो लागेको थियो । सबै जनावरहरू ज्यान बचाउन भागिरहेका थिए । त्यही बेला एउटा सानो चराले आफ्नो चुच्चोमा पानीको थोपा बोकेर आगोतर्फ उडिरहेको थियो । अरू जनावरहरूले उसको खिल्ली उडाउँदै भने, ‘तिम्रो चुच्चोको त्यो एक थोपा पानीले यति ठूलो आगो निभ्छ र ?’ चराले शान्त स्वरमा उत्तर दिएको थियो, ‘मेरो चुच्चोको पानीले यो आगो निभ्दैन भन्ने मलाई पनि थाहा छ । तर जब इतिहास लेखिनेछ, मेरो नाम आगो निभाउनेहरूको सूचीमा हुनेछ, आगो सल्काउने वा तमासा हेरेर रमाउनेहरूको सूचीमा होइन ।’
आज राष्ट्रिय हित, सत्य र उत्तरदायित्वको प्रश्नमा पनि अवस्था त्यस्तै देखिन्छ । सत्यका पक्षमा उभिने आवाजहरू साना हुन सक्छन्, अल्पमतमा हुन सक्छन्, कहिलेकाहीँ उपहासका पात्र पनि बन्न सक्छन् । तर इतिहासले भीडको आकार होइन, नैतिक साहसको उचाइ मापन गर्छ । संसदमा उठेका १८१ जोडी हातहरू, तिनले बजाएका तालीहरू र तिनको मौनताले इतिहासमा आफ्नो स्थान अवश्य बनाउनेछन् । तर, त्यसै इतिहासले प्रश्न गर्नेहरू, प्रमाण खोज्नेहरू र राष्ट्रिय हितको नाममा सत्यको पक्षमा उभिनेहरूलाई पनि छुट्टै स्थान दिनेछ । किनकि, अन्ततः राष्ट्रप्रेम तालीमा होइन, सत्यप्रतिको निष्ठामा प्रकट हुन्छ । र, इतिहास तमासा हेर्नेहरूको भन्दा जिम्मेवारी वहन गर्नेहरूको पक्षमा बढी न्यायपूर्ण हुन्छ ।
प्रतिक्रिया