नेपथ्य फेरि लण्डनको ओटु एकेडेमीमा

नेपथ्य फेरि लण्डनको ओटु एकेडेमीमा


Desktop3लन्डन । नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले यही अगस्ट ८ शनिबारका दिन लण्डनमा एक कन्सर्टको आयोजना गर्दैछ । दुर्इ वर्षअघि सन् २०१३ मा लन्डनकै वेम्ली एरिनामा कार्यक्रम गरेर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । त्यसबेला नेपथ्यले करीब ८००० जति दर्शकहरुलाई उपस्थित गराउन सफल भएको थियो । अबको कार्यक्रम भने लण्डनको ओ टु एकेडेमी ब्रिक्स्टनमा प्रस्तुत हुने भएकोछ । उक्त कार्यक्रमको आयोजना तथा संयोजन बेलायतकै इलाइट इभेन्ट्सले गरेको हो । यस पटकको कार्यक्रममा पनि कम्तीमा ५००० दर्शकहरु उतार्ने आयोजकहरुको लक्ष्य रहेकोछ ।
बेलायतलगायत युरोपका अन्य ठाउँहरुबाट समेत थुप्रैले नेपथ्यको कार्यक्रममा सहभागीता जनाउने अपेक्ष्या राखिएकोछ । बेलायत र नेपाल बीचको दौत्य सम्बन्धले २०० वर्ष पूरा गरेको अवसरमा गरिएको यस कार्यक्रमलार्इ पनि सोही ऐतिहासिक अवसरको रुपमा समर्पित गर्न चाहेको आयोजक लगायत सांगीतिक समूहको भनाइ रहेको छ ।
नेपथ्यले भर्खरै मात्र आफ्नो दशौँ एल्बमको रेकर्डिंग गरेको छ जसमध्यको एउटा गीत वीर गोर्खा सैनिकप्रति समर्पित गरिएको छ जुन गीत आगामी कार्यक्रममा प्रस्तुत गरिने गायक अमृत गुरुंगले बताएकाछन्, साथै उक्त नयाँ एल्बमबाट पनि ४ वटा गीतहरु प्रस्तुत गरिनेछ । बच्चादेखि वृद्घसम्मलाई मनोरंजन दिलाउन सफल नेपथ्यको प्रस्तुतिलाई धेरैले रुचाउने गरेको पाइन्छ ।
पूर्ण रुपमा व्यावसायिक उक्त कार्यक्रमको टिकट दर ३० पाउण्ड राखिएकोछ भने प्रति टिकट २५ पेन्स नेपालमा परोपकारी कामको लागि छुट्याउने आयोजकले बताएकाछन् । उक्त कार्यक्रमको लागि नेपालबाट दश सदस्य सहितको ब्याण्ड टोली चाँडै ने लन्डन आउने भएकोछ । गायक अमृत गुरुंगलाई स्टेजमा साथ दिनको लागि ड्रममा ध्रुब लामा, किबोर्डमा सुरज थापा, बेस गिटारमा सुबिन शाक्य, गिटारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझी रहनेछन् ।
यसअघि चर्चित हल वेम्ली एरिनामा कार्यक्रम गरिसकेको नेपथ्यलाई अहिलेको हाल पनि उपयुक्त रहेको आयोजकले बताएकाछन् । ब्रिक्स्टन एकेडेमीले आफ्नो वेबसाइटको क्यालेण्डरमा राखेर अनलाइन टिकट बिक्रीसमेत खुल्ला गरिसकेकोछ । अन्लाइनमार्फत टिकट खरिद गर्नको लागि यहाँ क्लिक गर्नुहोला ।