इतिहासदेखि वर्तमानसम्मको संक्षिप्त नालीबेली
✍ राजबाबु शंकर

पूर्वी नेपालको प्रवेशद्वार मात्र नभएर राजनीतिक चेतना, साहित्यिक जागरण र सामाजिक परिवर्तनको उर्वर भूमि मानिने झापा नेपाली मोफसल पत्रकारिताको इतिहासमा एउटा विशिष्ट अध्याय बनेर उभिएको छ । विक्रम सम्बत् २०१० को दशकमा हस्तलिखित पत्रिकाबाट सुरु भएको पत्रकारिताको यात्राले आज डिजिटल ‘न्यू मिडिया’को युगसम्म आइपुग्दा सात दशकभन्दा लामो इतिहास बोकेको छ । यो अवधिमा झापाली पत्रकारिताले पञ्चायती दमन, राजनीतिक अस्थिरता, जनआन्दोलन, दशक लामो सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासन, लोकतान्त्रिक पुनर्स्थापना, कोभिड महामारी र डिजिटल क्रान्तिसम्मका अनेक घुम्ती पार गरेको छ ।
समाचार प्रवाहको साधन मात्र नभई राजनीतिक चेतना निर्माण, लोकतान्त्रिक आन्दोलन, सामाजिक रूपान्तरण र नागरिक अधिकारको पहरेदारको भूमिकामा उभिएको झापाको पत्रकारिताले अहिले नयाँ चुनौतीहरूको सामना गरिरहेको छ । आर्थिक संकट, दक्ष जनशक्ति पलायन, पीत पत्रकारिता, स्व-सेन्सरशिप र विश्वसनीयताको संकटबीच पनि झापाली पत्रकारिताको गौरवमय इतिहास भने उत्तिकै प्रेरणादायी छ ।
साहित्यिक चेतनाबाट शुरु भएको पत्रकारिताको बीजारोपण
नेपालमा पत्रकारिताको संस्थागत इतिहास वि.सं. १९५५ सालमा प्रकाशित ‘सुधासागर’ र १९५८ सालदेखि सुरु भएको ‘गोरखापत्र’सँग जोडिए पनि राजधानीबाहिर यसको विस्तार २००७ सालको राजनीतिक परिवर्तनपछि मात्र सम्भव भएको थियो । पूर्वी नेपालको राजनीतिक र साहित्यिक केन्द्रका रूपमा रहेको झापामा पनि पत्रकारिताको प्रारम्भ साहित्यिक चेतना र हस्तलिखित पत्रिकाबाट भएको पाइन्छ । भद्रपुर, शनिश्चरे, शान्तिनगर र गौरीगञ्जजस्ता पुराना व्यापारिक केन्द्रमा युवाहरू र साहित्यकारहरूले हस्तलिखित पत्रिकामार्फत वैचारिक बहसको सुरुवात गरेका थिए ।
झापा जिल्लाको पत्रकारिता इतिहासमा २०१० साल मंसिर १२ गते विशेष महत्वको दिन मानिन्छ । यही दिन भद्रपुरबाट प्रकाशित ‘केटो’ मासिक पत्रिकालाई तत्कालीन मेची अञ्चलकै पहिलो पत्रिकाका रूपमा लिइन्छ । यसका सम्पादक श्यामकृष्ण उपाध्याय (लामिछाने)लाई पूर्वी नेपालको पहिलो पत्रकार अर्थात् ‘आदिपत्रकार’ मानिन्छ ।

श्यामकृष्ण उपाध्याय)
यसअघि महानन्द सापकोटाले झापाको वैचारिक तथा प्राज्ञिक चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । श्यामकृष्ण उपाध्यायका समकालीन स्वयम्भूलाल श्रेष्ठले पनि पत्रकारिता र साहित्यिक गतिविधिलाई अघि बढाउन योगदान दिएका थिए ।
वि.स. २००९ मा इलामबाट महानन्द सापकोटाको सम्पादनमा प्रकाशित ‘हाम्रो नेपाल’ साहित्यिक पत्रिका भने झापाको भद्रपुरस्थित पूर्वाञ्चल प्रेसमै छापिएको थियो । यद्यपि, झापाको पहिलो मुद्रित समाचारप्रधान पत्रिका भने ‘केटो’ नै थियो ।
त्यसपछि २०१८ सालदेखि श्यामकृष्ण उपाध्यायकै सम्पादनमा ‘युवक’ पत्रिकाको प्रकाशन सुरु भयो । साहित्य, समाचार र विचारलाई समेट्ने यो पत्रिकाले स्थानीय चेतनाको विस्तारमा योगदान पुऱ्यायो । र, त्यही समयमा ‘दियो’ नामक हस्तलिखित पत्रिका पनि केही समय सञ्चालनमा आएको थियो । त्यसपछि ‘पाउलो’, ‘आँखो’, ‘पञ्चायत’, ‘मेची सन्देश’, ‘मोती’, ‘कस्तुरी’, ‘साँचो’, ‘मुना’, ‘आलोक’, ‘हिमाल’, ‘पञ्चामृत’, ‘गोरेटो’, ‘सूर्योदय’ र ‘सिद्धार्थ’ जस्ता पत्रिकाहरू प्रकाशनमा आए ।
झापा जिल्ला प्रशासन कार्यालयमा पत्रपत्रिका दर्ताको सुरुवात भने २०२० साल भदौ १७ गते भवानीप्रसाद घिमिरेको सम्पादनमा प्रकाशित ‘भानु’ साहित्यिक त्रैमासिकबाट भएको इतिहास भेटिन्छ ।
‘आलोक’ र ‘विवेचना’ले बनाएको व्यावसायिक पत्रकारिताको जग
वि.स. २०२५ देखि २०४६ सम्मको कालखण्ड झापाको पत्रकारिताका लागि ऐतिहासिक मोड सावित भयो । २०२५ साल भदौ १ गते श्यामकृष्ण उपाध्यायको सम्पादनमा ‘आलोक’ साप्ताहिकको प्रकाशन सुरु भयो । यसले व्यवस्थित र समाचारमूलक पत्रकारिताको आधार तयार गरिदियो । त्यसको चार वर्षपछि अग्रज पत्रकार नकुल काजीको सम्पादनमा ‘विवेचना’ अर्धसाप्ताहिक प्रकाशनमा आयो । निर्भीक र खोजमूलक पत्रकारिताको पहिचान बनाएको ‘विवेचना’ले मोफसल पत्रकारिताको इतिहासमा छुट्टै उचाइ हासिल गऱ्यो, प्रभाव जमाएको थियो ।
पञ्चायतकालको कठोर सेन्सरसिपबीच पनि ज्येष्ठ पत्रकार श्यामकृष्ण उपाध्याय र नकुल काजीले पत्रकारितालाई जनपक्षीय बनाउने प्रयास जारी राखे । उनीसँगै स्वयम्भूलाल श्रेष्ठ, एसएल शर्मा, वसन्तकुमार खड्का, भवानी घिमिरे, चूडामणि रेग्मी, हृषीकेश मरहट्टा, डिल्लीराम निर्भीक, रामप्रसाद पोखरेल, द्रोणाचार्य क्षेत्री, केबी कार्की र गोविन्दचन्द्र छेत्रीले पत्रकारितालाई विस्तार गरेका थिए ।

त्यतिबेला झापामा छापाखानाको संख्या सीमित भएकाले पञ्चायतविरोधी विचार बोकेका पत्रिका छाप्न नक्सलबाडी र सिलिगुडीसम्म पुग्नुपर्ने अवस्था थियो । भद्रपुरमा २००९ सालमा महानन्द सापकोटाले स्थापना गरेको पूर्वाञ्चल प्रिन्टिङ प्रेस झापाको पहिलो छापाखाना मानिन्छ । त्यसपछि गोपाल प्रिन्टिङ प्रेस, शर्मा प्रेस, आलोक प्रेस, मणि प्रिन्टिङ प्रेस र विवेचना छापाखानाले पत्रपत्रिका छाप्न थाले ।
साप्ताहिकबाट दैनिक पत्रिकासम्मको फड्को

४० को दशकको अन्त्यतिर प्रविधिको विकास र पाठकको आवश्यकता बढ्दै जाँदा साप्ताहिक पत्रिकाहरू दैनिकमा रूपान्तरण हुन थाले । २०३९ साल असार १३ गते भद्रपुरबाट ‘हिजो-आज’ दैनिकको प्रकाशन सुरु भयो । यो झापाको पहिलो दैनिक पत्रिका थियो । त्यसपछि २०४९ सालमा ‘झापा एक्सप्रेस’, २०५० सालमा ‘विवेचना दैनिक’ र २०५२ सालदेखि बिर्तामोडबाट ‘पूर्वाञ्चल’ दैनिक प्रकाशित हुन थाले । यी पत्रिकाहरूले मोफसलका मुद्दालाई राष्ट्रिय स्तरमा पु¥याउने काम गरे ।
भद्रपुरबाट बिर्तामोड र दमकतर्फ सरेको पत्रकारिताको केन्द्र

पत्रकारिताको सुरुवाती केन्द्र भद्रपुर भए पनि समयक्रमसँगै व्यापारिक र आर्थिक गतिविधिका केन्द्र परिवर्तन हुँदै जाँदा पत्रकारिताको प्रभाव क्षेत्र बिर्तामोड, काँकडभिट्टा र दमकतर्फ विस्तार भयो । २०४६ साल पुस ९ गते गैंडेस्थित कन्काई सिँचाइ योजनाको सभाकक्षमा आयोजित पत्रकार भेलाले झापाली पत्रकारिताको अर्को अध्याय सुरु गऱ्यो । काठमाडौंबाट आएका गोविन्द वियोगी, हिरण्यलाल श्रेष्ठ, होमनाथ दाहाल, टीआर विश्वकर्मा, प्रेम कैदी, विनोद दीक्षित, सोमनाथ घिमिरे र रघु पन्तसँगको छलफलपछि ‘झापा घोषणा-पत्र’ जारी गरिएको थियो ।
त्यही भेलाले डिल्लीराम निर्भीकको अध्यक्षतामा नेपाल पत्रकार संघको पहिलो झापा तदर्थ समिति गठन गरेको थियो । सो भेलामा उपस्थित अग्रज पत्रकार गोविन्दचन्द्र छेत्रीका अनुसार, उक्त बैठकले झापाको संगठित पत्रकार आन्दोलनको औपचारिक आधार तयार गरेको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि जारी संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेसँगै झापामा सञ्चारमाध्यमको संख्यात्मक र गुणात्मक विस्तार तीव्र भयो । सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालको अभिलेख अनुसार, झापामा हालसम्म १५० भन्दा बढी सञ्चारमाध्यम दर्ता भएका छन् । तीमध्ये पाँच दैनिक, २४ साप्ताहिक, एउटा मासिक र एउटा त्रैमासिक पत्रिका नियमित प्रकाशनमा छन् ।
एफएम रेडियो र टेलिभिजनको युग
२०५९ साल असोज २१ गते झापाको पहिलो रेडियो ‘कञ्चनजंघा एफएम’को प्रसारण सुरु भयो । त्यसपछि धुलाबारीबाट सामुदायिक रेडियो सरगम, भद्रपुरबाट नागरिक एफएम र सुरुंगाबाट रेडियो सन्देश सञ्चालनमा आए । हाल दर्ता भएका १८ एफएममध्ये सामुदायिकतर्फ नागरिक एफएम र व्यावसायिकतर्फ नौ एफएम सञ्चालनमा छन् । दृश्य माध्यमतर्फ दमकबाट २०६७ सालमा हिमशिखर टेलिभिजन र २०७३ सालदेखि बिर्तामोडबाट सूर्योदय टेलिभिजन सञ्चालनमा आए । यी टेलिभिजनहरूले स्थानीय कला, संस्कृति, सामाजिक गतिविधि र समाचारलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै आएका छन् ।
डिजिटल युगको चुनौतीपूर्ण प्रवेश
प्रविधिको विकाससँगै झापाको पत्रकारिता अहिले डिजिटल ‘फर्स्ट’ मोडेलतर्फ उन्मुख भएको छ । कागजको लागत बढ्नु र अनलाइन माध्यमको प्रभाव विस्तार हुनुले सयभन्दा बढी अनलाइन पोर्टल सक्रिय बनेका छन् । यिनले सूचना प्रवाहलाई तीव्र बनाएका छन् भने परम्परागत छापा सञ्चारमाध्यमलाई आर्थिक संकटमा धकेलेका छन् । धेरै मुद्रित सञ्चारमाध्यमले पनि आफ्नो अस्तित्व बचाउन अनलाइन संस्करण सञ्चालन गर्न थालेका छन् ।
पञ्चायतदेखि द्वन्द्वकालसम्मको पीडा

झापाको पत्रकारिताले अनेक दमन र संकट भोगेको छ । पञ्चायतकालमा ‘आलोक’, ‘विवेचना’, ‘युगज्ञान’ र ‘सिद्धार्थ’ लगायत पत्रिकाहरू प्रशासनको निशानामा परे । समाचार लेखेकै कारण पत्रिका जफत हुने, दर्ता खारेज हुने, सम्पादक जेल पर्ने र प्रेसमा ताला लगाइने घटना त्यसबेला सामान्य थिए । २०५२ देखि २०६३ सालसम्म चलेको सशस्त्र द्वन्द्वले पत्रकारहरूलाई दोहोरो चेपुवामा पाऱ्यो । एकातिर माओवादी पक्षको धम्की र आक्रमण थियो भने अर्कोतिर राज्य पक्षबाट धरपकड र यातना थियो । कतिपय पत्रकार सेनाको बंकरमा समेत थुनिए । धेरैले विस्थापन भोगे भने कतिपय पत्रकारिता छाड्न बाध्य भए ।
लोकतन्त्रका लागि सडकमा उत्रिएका पत्रकार
२०६२/०६३ सालको जनआन्दोलनताका शाही शासनले सञ्चारमाध्यममाथि सेन्सरसिप लगाउँदा झापाका पत्रकारहरू आन्दोलनमा होमिए । नेपाल पत्रकार महासंघ, झापाको नेतृत्वमा पत्रकारहरूले रिले अनशनदेखि सडक आन्दोलनसम्म गरे । ‘मिसन लोकतन्त्र’ अन्तर्गत गरिएको समाचार सम्प्रेषणले जिल्लामा जनलहर निर्माण गर्न सहयोग पुऱ्याएको थियो । त्यही समयपछि मिसन पत्रकारिता विस्तारै व्यावसायिक पत्रकारितातर्फ रूपान्तरण हुन थाल्यो ।
कोभिड महामारीले दिएको ठूलो धक्का
२०७६ सालपछि फैलिएको कोभिड महामारी झापाली पत्रकारिताका लागि सबैभन्दा कठिन समय बन्यो । विज्ञापन बजार ८० प्रतिशतसम्म खुम्चियो र धेरै साना पत्रपत्रिका बन्द भए । पत्रकारहरूले महिनौंसम्म पारिश्रमिक पाएनन् । कतिपय बेरोजगार भए । त्यस यता नेपाल पत्रकार महासंघ, झापा शाखाले श्रमजीवी पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षाका लागि निरन्तर भूमिका निर्वाह गर्दै आएको छ । यसले विभिन्न पत्रकारिता पुरस्कारहरूको स्थापना गरी पत्रकारहरूलाई प्रोत्साहन दिँदै आएको छ भने ‘पत्रकार सहारा उपचार कोष’ मार्फत दुर्घटना, स्वास्थ्य समस्या, सुत्केरी अवस्था, ज्येष्ठ पत्रकार सहायता र मृत्युपश्चात् परिवारलाई प्रदान गरिने सहयोगसम्मका आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
अहिलेका चुनौती
संख्यात्मक रूपमा बलियो देखिए पनि झापाको पत्रकारिता अहिले गम्भीर चुनौतीसँग जुधिरहेको छ । आर्थिक रूपमा दिगो मोडलको अभाव छ । लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको कमी छ । कतिपयले सरकारी अनुदान दुरुपयोग गरेको आरोप लाग्दै नै आइरहेको छ । न्यून आम्दानीका कारण अनुभवी पत्रकार राजनीति, गैरसरकारी संस्था तथा वैदेशिक रोजगारीतर्फ पलायन भइरहेका छन् ।
सामाजिक सञ्जालको प्रभावसँगै अपुष्ट समाचार र पीत पत्रकारिताको समस्या बढेको छ । केही व्यक्तिले पत्रकारिताको नाममा अवैध असुली समेत गर्ने गरेको आरोप समेत लाग्दै आएको छ । कतिपय सञ्चारमाध्यम राजनीतिक दल र व्यावसायिक घरानाको प्रभावमा परेर स्व-सेन्सरसिपको सिकार बनेका छन् ।
समावेशिता र संस्थागत विकास
झापामा महिला पत्रकारहरूको सहभागिता उल्लेख्य रूपमा बढेको छ । नेपाल पत्रकार महासंघ झापामा आबद्ध २२० सदस्यमध्ये ३८ जना महिला छन् । उनीहरूमध्ये कतिपयले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । आदिवासी जनजाति, दलित, सन्थाल र मधेशी समुदायको सहभागिता पनि विस्तार हुँदै गएको छ । यसले झापाको पत्रकारिता अधिक समावेशी र प्रतिनिधिमूलक बन्दै गएको संकेत गर्छ ।
कोशी प्रदेश सरकारले पत्रकार महासंघ झापा शाखाको भवन विस्तार, क्षमता विकास तालिम र विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ । ज्येष्ठ पत्रकारलाई ‘दीर्घसेवा सम्मान’स्वरूप एक लाख रुपैयाँ प्रदान गर्ने परम्परा पनि कायम छ ।
त्यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत झापा जिल्ला सदरमुकामस्थित सञ्चारकर्मीहरूको संस्था ‘प्रेस क्लब-भद्रपुर’को भवन निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख ८६ हजार रुपैयाँ बजेट उपलब्ध गराएको छ । यसका अतिरिक्त सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, तालिम तथा संस्थागत सुदृढीकरणका कार्यक्रमहरूमा पनि प्रदेश सरकारले निरन्तर वित्तीय सहयोग गर्दै आएको देखिन्छ ।
विश्वसनीयता जोगाउनु नै सबैभन्दा ठूलो परीक्षा
हस्तलिखित ‘केटो’बाट सुरु भएको झापाको पत्रकारिता आज डिजिटल युग (क्लिक)सम्म आइपुगेको छ । सात दशकको यो यात्राले अनेक उतारचढाव भोगेको छ । निरंकुशताको अँध्यारो चिर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक रूपान्तरणको संवाहक बनेको झापाली पत्रकारिताले अहिले नयाँ चुनौतीको सामना गरिरहेको छ । प्रविधि, आर्थिक संकट र बढ्दो प्रतिस्पर्धाबीच व्यावसायिक विश्वसनीयता, निष्पक्षता र नैतिकता जोगाउन सकियो भने मोफसल पत्रकारिताको केन्द्रका रूपमा झापाले आगामी दिनमा पनि आफ्नो ऐतिहासिक पहिचान कायम राख्ने सम्भावना बलियो देखिन्छ ।
उपसंहार :
झापाको पत्रकारिता एउटा नदी हो । जसले निरंकुशताको बगर चिर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रको उर्वर मैदान सिञ्चित गरेको छ । हिजोका दिनमा कठोर राजनीतिक परिवर्तनका लागि गरिएको ‘मिसन’ पत्रकारिता आजको खुला परिवेशमा व्यावसायिक र प्रविधिमैत्री बन्ने प्रतिस्पर्धामा छ । अबको चुनौती भनेको प्रविधि र समसामयिक गतिसँगै पेसागत विश्वसनीयता जोगाउनु हो ।
वर्तमानको संक्रमणकालीन प्रविधि र आर्थिक संकटको भुमरीमा आफ्नो व्यावसायिक विश्वसनीयता र नैतिकता जोगाउनु नै झापाली पत्रकारिताको मुख्य परीक्षा हो । यदि झापाका सञ्चारकर्मी, मिडिया उद्यमी, पत्रकार महासंघ र नियामक निकायले आत्मसमीक्षा गर्दै तथ्यपरक निष्पक्षता, व्यावसायिक आचरण र जनसरोकारलाई केन्द्रमा राख्ने हो भने ऐतिहासिक गौरव बोकेको यो जिल्लाले आगामी दिनहरूमा पनि मोफसलबाट पत्रकारिताको अग्रणी भूमिका निर्वाह गरिरहने छ ।
(लेखक ‘साप्ताहिक समाचार’का सम्पादक एवम् प्रेस क्लब झापाका अध्यक्ष हुन् ।)
प्रतिक्रिया