रूपचन्द्र विष्टको सम्झना घटना र विचार संवाददाता

रूपचन्द्र विष्टको सम्झना घटना र विचार संवाददाता


नेपाली दार्शनिक रूपचन्द्र विष्टको स्वर्गारोहण भएको तेह्र वर्ष पूरा भएको छ । राजनीतिका माध्यमबाट जनस्तरमा शान्तिपूर्ण तवरले जागरण ल्याउन जीवनभर क्रियाशील विष्ट विद्रोही स्वभावका हुनुहुन्थ्यो । थाहा आन्दोलनका प्रणेता रूपचन्द्र सत्यवादी हुनुहुन्थ्यो । सत्य र ठीकका पक्षमा जनतालाई जागृत गर्दै जीवनको उत्तरार्धमा आइपुग्दा उहाँमा केही निराशा पैदा भएको थियो । ‘या त जनता जाग्दै जागेनन्, जे–जति जागे पनि जाली फटाहालाई नै काम लागे’ भन्ने उहाँको निष्कर्ष थियो । रूपचन्द्र गरिबीबाट मुक्ति दिलाउने अभियानमा हुनुहुन्थ्यो, जनताले राज्यबाट न्यायसम्मत व्यवहार पाउनुपर्छ भन्ने उहाँको धारणा थियो । उहाँ जनप्रतिनिधिले मुलुक चलाउन सक्ने बहुदलीय राजनीतिक प्रणालीका पक्षपाती हुनुहुन्थ्यो । विचारका आधारमा पक्षपात गरिनुहुन्न भन्ने उहाँको मान्यता थियो । त्यसर्थमा रूपचन्द्र एक खाँटी प्रजातन्त्रवादी हुनुहुन्थ्यो । तर, गरिबको पक्ष लिएको र कुनै पनि प्रकारका निरङ्कुशताविरुद्ध जाइलाग्ने विद्रोही स्वभाव भएका कारणले हो या अरू कुन कारणले हो नेपालका एकथरी मानिसले रूपचन्द्रलाई कम्युनिस्ट भएको आरोप लगाउने गरेका छन् । उहाँ स्वतन्त्र चिन्तक र विचारक हुनुहुन्थ्यो, एउटा कम्युनिस्ट कहिल्यै स्वतन्त्र चिन्तक या विचारक हुन सक्दैनन् भन्ने सत्य बुझ्दाबुझ्दै पनि उहाँमाथि किन कम्युनिस्टको आरोप लागिरहेको हो आश्चर्यको विषय बनेको छ । रूपचन्द्र विष्ट हरेक घटना सन्दर्भमा विवेक प्रयोग गर्नुहुन्थ्यो । आफ्नो स्वतन्त्र ढङ्गले प्रयोग गर्न पाइने अधिकार एउटा कम्युनिस्टमा कहिल्यै हुन सक्दैन भन्ने स्पष्ट हुँदाहुँदै पनि उहाँलाई कसरी कम्युनिस्ट भएको आरोप लागेको हो बुझिएको छैन । रूपचन्द्र संसद्को सर्वोच्चता चाहनुहुन्थ्यो, दल र जनप्रतिनिधिको प्रभावकारी भूमिकाको पक्षपाती हुनुहुन्थ्यो, जुन कम्युनिस्ट विचार–दर्शनको विपरीत छ । रूपचन्द्रको भौतिक उपस्थिति नभएको मौका पारेर उहाँलाई कम्युनिस्ट भएको आरोप लगाइए पनि त्यो सर्वथा गलत हो । उहाँ दलीय प्रजातान्त्रिक प्रणाली चाहने स्वतन्त्र दार्शनिकबाहेक केही हुनुहुन्नथ्यो भने एक देशभक्त नेपाली हुनुहुन्थ्यो । उहाँको स्वर्गारोहणको चौधौ वर्ष प्रवेशको यस घडीमा हामीले विष्टद्वारा रचित केही कविता यहाँ प्रस्तुत गरेका छौँ ।

जनमुखी नारा
(१) ‘थाहा’ दर्शन– अमर होस् ।
(२) इन्कलाव– जिन्दावाद ।
(३) प्रजातन्त्र गर्न खोज्ने आइमाई र गरिबहरू– जिन्दावाद ।
(४) जीविका मात्र खोज्नेहरू– मुर्दावाद ।
(५) विरोधीलाई नसहने– मुर्दावाद ।
(६) इन्कलाव– जिन्दावाद ।

सेतो भोट
जन्मसिद्ध हिन्दुस्थानीले नेपालको प्रधानमन्त्री बन्न पाएको छ ।
पदमा बसेर चुनाव लड्न पाएको छ ।
राष्ट्रको बजेट करोडौँ रुपैयाँको हेलिकोप्टर चढेर आफ्नो र आफन्तको प्रचार गर्न पाएको छ ।
बोक्सी नै धामी भनेझैं गरी स्वच्छ निर्वाचन हुन्छ भयो भन्न पाएको छ ।
प्रतिनिधि हुन वंशज जन्मसिद्ध नेपाली हुनुपर्ने नलच्किने कानुन बनाउने सांसद रोज्नुपर्छ ।
व्यवस्थागत पदाधिकारी निर्वाचनमा उम्मेदवार हुन नपाइने पनि गर्नुपर्छ ।
यस्तै यस्ता कुरा सेता भोटको मतियारहरूले जित्न सक्नुपर्छ ।
कस्तो मतियार बढी छन् सो निर्वाचनले सर्भे गर्दछ ।
राष्ट्रिय बहुमत कानुन हो । ‘थाहा’ पाउनुपर्छ ।