NRNAUK छैटौं अधिवेशनकाे लागि अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङको अपील

NRNAUK छैटौं अधिवेशनकाे लागि अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङको अपील


mucchetraआज हामी गैर–आवासीय नेपाली संघ (एन.आर.एन.) यूकेको आगामी सेप्टेम्बर २० तारिखमा सम्पन्न हुने छैटौं महाधिवेसन र नयाँ कार्यसमितिको निर्वाचनको सम्मुखमा उपस्थित भएका छौं ।
हाम्रो कर्मभुमी देश संयुक्त अधिराज्य बेलायत र मातृभुमि देश नेपालको दौत्य सम्बन्ध कायम भई एकआपसमा आवतजावत हुन थालेको आज दुई सय बर्षभन्दा बढी भएको छ । संसारमा हामीलाई बीर गोर्खालीको नामबाट चिनारी दिई नेपाल र नेपालीको गौरवशाली इतिहास रचना गर्ने शुभ–अवसर हामीलाई यहि कर्मभूमि बेलायतले प्रदान गरेको हो । बीर गोर्खालीको यही गौरवशाली नाताकै कारण आज हामी डेढ लाखको संख्यामा यस भूमिलाई आफ्नो कर्म थलो बनाई रोजगारी, बन्दव्यापार, अध्ययन अध्यापन र आपसी सामाजिक बर–व्यवहारहरु गर्दै बसेका छौं ।

हामी नेपालीहरुका लागि समाज वा समुदाय अति नै प्यारो चिज हो । एकआपसमा सुखदुःख साटासाट गर्ने र आइपर्दाको बखत आपसमा हातेमालो गरी सहयोगका हातहरु आदनप्रदान गर्ने हामी नेपालीको प्रचलन अरु दुनियाँलाई पनि लोभ्याउने खालको रहेको छ । हामीले आफ्नो ऐतिहासिक प्रतिष्ठालाई कायम गर्दै बेलायतमा कस्तो प्रकारको नेपाली समाजको निर्माण गर्ने ? कुन प्रकारको सामाजिक संस्कार तथा प्रचलनहरुको बिकास गर्ने? भन्ने कुराको अगुुवाई गर्ने हैसियत सम्पूर्ण नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ यूकेले नै राख्दछ । यस अर्थमा यस सन्निकट महाधिवेशनले अति नै ठूलो महत्व राख्दछ ।

यही गरिमा र महत्वलाई आत्मसाथ गरी संस्थाको विधि र विधानलाई स्वीकार गर्दै आगामी दुई बर्षको लागि यस संस्थालाई अगुवाई गर्न यहाँ उपस्थित सम्पूर्ण भद्रभलाद्मी, गन्यमान्य, इष्टमित्रहरुको पवित्र सल्लाह, सहयोग र उपस्थितीमा गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदको लागि मैले आफ्नो उम्मदेवारी घोषणा गर्दछु ।

मेरो संक्षिप्त परिचय यहाँहरु समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

जन्म, बाल्यकाल र शिक्षाः
मेरो नाम मुछेत्र गुरुङ । मेरो जन्म सन् १९६४ अक्टोवर १ मा सिंगापूरमा भएको हो । मेरो बुवा ब्रिटिश आर्मीमा कार्यरत रहँदा मैले आफ्नो बाल्यकाल सिंगापूरमा बिताउने मौका पाएँ । सानैमा नेपाल फर्केपछि आफ्नै गाउँ लम्जुङको भोर्लेटारबाट प्रारम्भिक शिक्षादिक्षा प्राप्त गरें । मैले लमजुङको भोर्लेटारस्थित श्री ईसानेश्वर माध्यमिक विद्यालयबाट एस.एल.सी. शिक्षा प्राप्त गरें । उच्चशिक्षाको लागि काठमाडौं गई ललितपूरको बसाईसंगै नजिकैको श्री नमुना मछिन्द्र क्याम्पसमा आई. कम. अध्ययन गरें । अध्ययनकै क्रममा उमेरको युवा अवस्थासंगै ब्रिटिश आर्मीमा जाने हाम्रो सामाजीक प्रचलनअनुसार सन् १९८३ मा ब्रिटिश गोर्खा आर्मीमा भर्ति भई बेलायत सरकारको सेवामा लागें ।

ब्रिटिश गोर्खा सैनिक जीवनः
म गाउँठाउँमा हुर्कीबढी ब्रिटिश सेनामा भर्ति भएको लक्का जवानले आफ्नो पहिलो परदेशी सैनिक नोकरीलाई निकै अभिरुचिपूर्वक शुरुवात गरें । मेरो सैनिक जीवन शुरुभएको हङकङ आफैमा रमाइलो ठाउँ र ब्रिटिश गोर्खा आर्मीको आफ्नै सुसंस्कृत प्रचलनले गर्दा सैनिक जिवन निकै रमाइलोसँगै बिताउने मौका मिल्यो । आफ्नो सैनिक सेवाको दौरानमा हङकङ, ब्रुनाई, अष्ट्रेलिया, हवाई, यूके, अमेरिका, कोसोभो, क्यानडा आदि देशमा सेवा गर्ने अवसर प्राप्त भयो । शुरुमा फष्ट सेकेण्डबाट आफ्नो सैनिक जिीवन शुरु गरी वन आर जीआरबाट सन् १९९९ मा यूकेबाट नै आफ्नो साढे सत्र वर्षे सैनिक जीवन पूरा गरी सार्जन पदमा रिटार्यड भएँ । मेरो सैनिक जीवनमा कोसोभोको शान्ति सेनामा काम गर्दाको क्षणलाई आफ्नै सैन्य सेवाको महत्वपूर्ण उपलब्धि र अवसरको रुपमा लिएको छु । आपसी लडाइँ झगडा र जातीय द्वन्द्वले मर्माहत बनेको देशमा एउटा सेनाले “युद्ध होइन शान्ति” को नारा लिएर गई त्यो मिसनलाई सफलतापूर्वक सम्पन्न गरी शान्ति स्थापना गर्नमा सफल हुनु आफैमा एक ऐतिहासिक उपलव्धि थियो ।

पारिवारिक जीवन र व्यवसायः
मेरो प्रातः स्मरणीय मातापिता दुबैको देहान्त भइसकेको छ । हाल म श्रीमती लक्ष्मी गुरुङ र एक सुपुत्र समीर गुरुङको साथमा बेलायतस्थित हेम्सायरको फ्लिटमा बसोबास गर्छु । मेरो बेलायतको स्थायी बसाइ सन् १९९९ मा ब्रिटिश सेनाबाट रिटायर्ड भएपछि सन् २००० देखि नै शुरु भएको हो । व्यापारको सिलसिलामा रेष्टुरेण्ट व्यवसाय, ट्राभल एण्ड टुर्स, मनिट्रान्सफर तथा रेमिटयान्स सर्भिसेज, रियल स्टेट आदि क्षेत्रमा संलग्न रहेको छु ।

सामाजिक क्षेत्रमा योगदानः
मेरो वाल्यकालदेखि नै सामाजिक क्षेत्रमा काम गर्ने अभिरुचि रह्यो । सानोमा गाउँमा छँदादेखि बुबाको प्रेरणाले पनि सामाजिक काममा लाग्न उत्साहित गरायो । सैनिक सेवामा रहँदा प्रत्यक्ष सामाजिक काममा लाग्ने मौका मिलेन । रिटायर्ड पछिको जीवनमा आफ्नो निकै समय सामाजीक कामहरुमा लगाउँदै आएको छु । अल्डरसटको मेरो बसाइसंगै तमू धिं यूकेमा संलग्न हुने मौका पाएँ । सन् २००० देखि नै म यसकाे सदस्य भएर सामाजिक काम गर्न थालेको हुँ । तमू धिं यूकेको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र अन्य विभिन्न कार्यदलहरुको संयोजक तथा सदस्य भई काम गर्ने मौका लिएको छु ।

तमू धीं यूकेको भवन निर्माणमा मैले महत्वपूर्ण जिम्मेवारी निभाउने मौका पाएँ । त्यस क्रममा भवन खरिद गर्ने, कानूनी नियम कानूनहरु मिलाउने, भवन खरिदको लागि कोषको व्यवस्था गर्ने आदि सम्पूर्ण कामको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छु । तमू धिं यूकेलाई संस्थागत रुपमा बिकास गराई बेलायतकै नमुना सामुदायिक संस्थाको रुपमा स्थापित गर्ने कार्यमा सफलतापूर्वक अगुवाइ गर्ने भूमिका निभाएको छु । यही क्रममै लमजुङको गिलुङस्थित श्री बुद्धोदया माध्यमिक विद्यालयमा उच्च मा.वि. बनाउनको लागी आठ लाख रुपैयाँ सहयोग प्रदान गरी विद्यालय शिक्षाको बिकासमा योगदान पु-याएको छु । यस्तै लमजुङमा अन्य विद्यालयहरुलाई पनि सहयोग प्रदान गर्दै आएको छु ।

युवाहरुको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान पु-याउने खेलकूद क्षेत्रलाई संस्थागत विकास गराउने उद्देश्यले पोखरा रंगशालालाई व्यवस्थित गर्न रंगशालाको कम्पाउण्ड र प्रवेशद्वारहरु निर्माण गर्न बेलायतमा बनेको सहयोग समितिको कोषाध्यक्षको जिम्मेवारी लिई पचास लाख रुपैयाँ संकलन गरी सो रंगशालाको पूरै कम्पाउण्ड र प्रवेशद्वारहरु निर्माण काम सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको छु ।

नेपालको फुटवल क्षेत्रको विकासको लागि पोखरास्थित सहारा फुटवल क्लबलाई संस्थागत रुपमा विकास गराउन एक साझेदारीको रुपमा बेलायतस्थित गैरआवासीय नेपालीहरुले महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । सहारा पोखराको अनाथ बालबालिकाहरुलाई शिक्षा दीक्षा दिनुका साथै फुटबल खेल सिकाउने सो परियोजनाअन्तर्गत बेलायतमा पनि सहारा यूकेको स्थापना गरी सहारा पोखरालाई मनग्य सहयोग पु-याउँदै आएका छौं । सोही उद्देश्यअनुरुप मैले सहारा युकेको स्थापना र विकासमा एक अगुवाको भूमिका शुरुदेखि नै निभाउँदै आएको छु ।

एनआरएन सँगको कुराः
एन.आर.एन. अर्थात् गैर आवासीय नेपाली संघ बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको एक साझा संस्था हो । यो गैर–राजनीतिक, गैर–धार्मिक र गैर–नाफामुलक चरित्र भएको एउटा पवित्र सामाजिक संस्था हो । यस संस्था प्रतिको मेरो गहिरो बुझाइ यही नै हो । यही बुझाई अनुसार नै यस संस्थामा आफ्नो संलग्नता राख्दै आएको छु । मैले यस संस्थाको १९–२२ अक्टोवर २०१३ मा काठमाडौंमा सम्पन्न छैटौं विश्व सम्मेलन र अक्टोवर १२–१४, २०११ मा काठमाडौंमा सम्पन्न पाँचौं विश्व सम्मेलनमा प्रत्यक्ष रुपमा उपस्थित भई सक्रिय सहभागितापूर्वक संस्थालाई अझै गहिराइमा पुगेर बुझ्ने शुभ अवसर लिएको छु ।

यूकेको एन.आर.एन. को हकमा पनि यसको शुरुवातदेखि नै म प्रत्यक्ष रुपमा सहभागी हुँदै आएको छु । मेरो अन्य सामुदायिक संघसंस्थाहरुमा पनि धेरै समय दिनुपर्ने जिम्मेवारी रहँदा विगतमा एन.आर.एन. यूकेको नेतृत्वदायी भूमिकामा म आउन पाइँन । तथापि, मैले यस पूर्वका तीनवटै कार्य समितिहरुमा सल्लाहकारको रुपमा रही आफ्नो ठाउँबाट यथासक्य योगदानहरु दिँदै आएको छु ।
भखैरै नेपालमा आएको विभत्सकारी महाभूकम्पमा परेका नेपालीहरुको सहयोगको लागि मैले एन.आर.एन., तमू धिं आदि संघसंस्थाहरुमार्फत् सहयोगहरु दिँदै आएको छु । आफ्नै व्यापारिक संस्था एभरेष्ट मनिट्रान्सफरको तर्फबाट राहत सामग्री संकलन गरी सयौं किलो राहत नेपाल पठाएकोछु ।

एनआरएन यूकेमा मेरो चासोः
संयुक्त अधिराज्य बेलायत गैर–आवासीय नेपालीहरुको मूल–प्रवाह हो । नेपालीहरु नेपाल छाडी बाहिर देश बस्ने शुरुवात भएको देश नै तत्कालीन ब्रिटिश ईण्डिया हो । हामीलाई वीर गोर्खाली नामले संसारमा चिनाउने देश नै बेलायत हो । यो ईतिहासले भर्खरै दुई सय वर्ष पूरा गरिसकेको छ । यस अर्थमा बेलायतको एन.आर.एन. विश्वकै नेपालीहरुको मूल धार र अगुवा हो । यस संस्थाको स्थापना गर्ने शुभ–अवसर पनि बेलायत भूमिलाई नै मिल्यो । यस अर्थमा हामी बेलायतबासी नेपालीले गौरव पनि गरेका छौं ।

यही ऐतिहासिक पृष्ठभूमिका कारण बेलायतमा नेपालीहरुको संस्थागत उपस्थिति र स्थायी बसोबास रहँदै आएको छ । आज डेढ लाखभन्दा बढिको नेपालीहरुका लागि आफ्नो दोश्रो मूलघर बेलायत बनेको छ । बेलायतमा हामीले आफ्नो पहिचान वा परिचय जनाउने भाषा, भेषभुषा, रहनसहन, धर्म, सस्कृति, संस्कार, कला, संगीत, साहित्य सहितको “मिनी नेपाल” खडा गरेका छौं र छुट्टै परिचय सहितको नेपाली समाज निर्माण गरेका छौं । हाम्रा लागि बेलायत ऐतिहासिकताको हिसावले पुरानो रहे पनि बसायको हिसाबले हामी पहिलो पुस्ता या फस्ट जेनेरेसनमा नै छौं । तसर्थ, हाम्रो नेपाली समाजको बिकासले यहाँ अझै पनि संस्थागत रुप धारण गर्न सकेको छैन र परिपक्वता हासिल गरिसकेको छैन । यसलाई यो गराउन जरुरी छ ।

हामीहरु बेलायतको समाजमा बामे सर्दै आफैं हिँड्न पनि खोज्दै छौं । यो क्रम लामो हुँदा समुदायले अपेक्षा गरेअनुरुप हाम्रो नेपाली समाज यहाँ बिकसित हुन सकेको छैन । समुदायले अपेक्षा गरेको ठीक विपरीत एन.आर.एन. यूकेले आफूलाई अगाडि बढाउन सकेको छैन । यो हामी सबैको सामु दिउँसोको घाम जस्तै छर्लङ्गै छ । यो ऐतिहासिक पृष्ठभूमि बोकेको नेपाली समाजलाई सुसंगठित गरी कसरी देश र समुदायको हितमा मुखरित गराउने भन्ने कुरा आज टड्कारो रुपमा हामी सामु खडा भएको छ । विगत केही बर्षदेखि एन.आर.एन. यूकेमा देखिएको बिबाद, अन्तरकलह र असमझदारीले हाम्रो नेपाली समाजलाई प्रत्यक्ष असर पु-याइरहेको छ । यो असर सकारात्मक खालको छैन । यसलाई हामीले सही तरिकाले फिक्स गर्नुु पर्नेछ । हाम्रा सामु बेलायतको सम्पूर्ण नेपालीहरुको साझा र पवित्र संस्थाको रुपमा एन.आर.एन. यूकेलाई पुनः स्थापित गर्नु पर्नेछ र देश र बिदेशमा रहेका अन्य नेपालीहरुले बेलायत एन.आर.एन.संग गरेको अपेक्षालाई पूरा गर्ने गरी यसलाई बिकास गर्नुपर्ने छ । यसै पृष्ठभूमि, भूमिका र जिम्मेवारीलाई आफ्नो अन्तर दिलदेखि नै आत्मसाथ गरी एन.आर.यूके.को अध्यक्ष बनी यो महाअभियानलाई अगाडि बढाउने दरिलो अठोटका साथ अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको छु । यस अभियानमा यहाँहरुको अतुलनीय सहयोग मैले प्राप्त गर्ने नै छु भन्ने पूरै विश्वास लिएको छु ।

मेरो आग्रहलाई स्वीकार गरी आफ्नो अमुल्य समय मलाई दिनुभयो म यसप्रति सधैं आभारी रहनेछु ।

सुसंस्कृत, गतिशील र प्रभावकारी एनआरएन संस्था बनाऔं,
आपसी एकता र भातृत्वको विकास गरौं ।

मेरा प्रतिबद्धताहरु

१ – गैरआवासीय नेपाली संघ यूकेभित्र पछिल्लो समयमा देखिएको आर्थिक हिसावकितावको विवादमाथि छानविन गरी आर्थिक पारदर्शिता सार्वजानिक गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।
२ – एनआरएन यूकेको पाँचौ कार्यसमितिको गठन पूर्ब र पश्चात् देखिएको तिक्तताको अन्त्यको लागि अनवरत रुपमा पहल गरी समाबेशितालाई प्राथमिकतामा राख्दै एनआरएन यूकेलाई एकताबद्धत तरिकाले अगाडि बढाउने छु ।
३ – समान उदेश्य प्राप्तिका लागि विभिन्न रुपमा गठित भू.पू. गोर्खाहरुको संस्थाहरुबीच कार्यगत एकता कायम गराई एउटै मन्चमा ल्याउने कोशिस गर्ने एवं उनीहरुको जायज मागप्रति ऐक्यबद्धता जाहेर गर्दै उक्त माग पूरा गर्ने नेपाल एवं बेलायत सरकारमाथि दवाव दिने उदेश्यले बिभिन्न कार्यक्रमतय गरी अगाडि बढ्ने छु ।
४ – नेपालीहरुको पहिचानार्थ अफिसियल फारम भर्दा हाल रहेको अदर एशियनको बदलामा नेपाली लेख्न पाउनु पर्ने व्यस्थाको लागि बेलायत सरकारसंग पहल गरी एथेनिक माइनुरिटीमा लिस्टिंग गराउन पहल गर्ने छु।
५ – हाल एनआरएनको चुनाबको समयमा मात्र सदस्य बनाउने संस्कारको अन्त्यको लागि आम नेपालीमाझ एनआरएनसम्बन्धी कार्यक्रम लगि स्वतः स्फूर्त रुपमा सदस्य बन्ने बाताबरण बनाउने छु ।
६ – बृद्ध गोर्खाहरूका समस्याको पहिचान गरी निधानको लागि पहल गर्दे स्वास्थ्य, आबास, स्तरीय जीवनयापन र फरक समुदायसँगको पारास्पारिकता आदि बिषयमा छुट्टै कार्यक्रम ल्याउने छु ।
७ – नेपालीबीच रहेको क्षमता, शीप र पुंजिको लगानी नेपालमा गर्ने गराउनुको साथै बिदेशीहरुलाई समेत लगानीको लागि प्रोत्साहित गर्ने।
८ – बेलायतस्थित नेपाली समूदायलाई लक्षित गरी नेपाली भाषा र संस्कृतिको जर्गेना गर्ने उदेश्यले खेलकुल मैदानसमेत रहेको नेपाल हाउसको स्थापनाका लागि पहल गर्ने छु ।
९ – एनआरएन यूकेलाई यहाँस्थित समस्त संस्था एवं सबै नेपालीहरुको साझा संस्थाको रुपमा बिकसित गराई यहाँ रहेका व्यक्ति, संस्था एवं समूदाय बिचका समस्याहरुको सम्बोधन गर्ने।
१० – एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन पूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्ने छु ।
११ – यूकेमा पढ्न आउने बिद्यार्थीहरुका समस्या बारेमा आवश्यक कदम चाल्ने र बिद्यार्थीहरुका बिसयमा हाल नेपाल कानुनमा एनआरएन बिषयमा गरिएको परिभाषालार्इ सच्च्याउनको लागि एनआरएन आइसीसीसँग समन्वय गरी आबश्यक कदम चाल्ने ।
१२ – लागू औषध सम्बन्धि चेतना, नेपाली कक्षा, स्थानीय स्तरका समस्या बिसयमा स्थानीय नेपाली संघ संस्थाहरुसंग समन्वय गरी सुनियोजित कार्यक्रम ल्याउने ।

-मुछेत्र गुरुङ
अध्यक्ष [प्रत्यासी] गैरआवासीय नेपाली संघ, यूके
मिति — २८ अगष्ट २०१५
Muchhetra Image

Forwarded by Jib Belbase