अठारौँ वर्षको उकालो लाग्दा…

अठारौँ वर्षको उकालो लाग्दा…


अनवरत प्रकाशनको सत्र वर्ष पूरा गरी घटना र विचार साप्ताहिक अठार वर्षमा प्रवेश गरेको छ । यस साप्ताहिकको जन्म एउटा यस्तो कालखण्डमा भएको थियो जतिबेला देशमा पुनस्र्थापित प्रजातन्त्र वामे सर्दै थियो । शिशु प्रजातन्त्र भन्ने शब्द निकै प्रचलनमा रहेको त्यो समयमा पुनस्र्थापित प्रजातन्त्रले राम्ररी खुट्टा टेक्न नपाउँदै अनेक कोणबाट त्यसमाथि प्रहार हुन थालेको अवस्था एकातिर थियो भने अर्कोतर्फ प्रजातन्त्रलाई संस्थागत तुल्याउने कोसिस पनि जारी थियो । अनेक चुनौतीका बाबजुद नेपाली प्रेसले पनि आफूलाई खुला आकाशको स्वतन्त्र पक्षी ठानेर पखेटा फट्फटाउन थालेको बेला थियो त्यो ।
त्यस्तो परिवेशमा सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको अभिष्ठसहित लोकतान्त्रिक मूल्य–मान्यताको जगेर्ना गर्ने उद्देश्य बोकेर प्रकाशन सुरु भएको घटना र विचार साप्ताहिकले जन्मकालमा आमनेपाली पङ्क्तिमा उभिँदै ठानेको थियो कि मुलुकले छिट्टै आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा छलाङ मार्नेछ । प्रजातन्त्रको संस्थागत विकाससँगै राजनीतिक स्थिरता कायम हुनेछ र त्यसैको छहारीमा उद्योग–धन्दा, कल–कारखाना स्थापना हुनेछन्, विकास–निर्माण कार्यले तीव्रता लिनेछ, शैक्षिक एवम् स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मार्नेछ, रोजगारीका नयाँ–नयाँ अवसर सिर्जना हुनेछ, समृद्धिसूचक क्रियाकलापको बाढी आउनेछ, मुलुकमा सुशासन र शान्ति कायम भई प्रत्येक नेपालीको मुहारमा खुसी छाउनेछ, नागरिकको जीवनस्तरमा कायापलट भई विश्वसमक्ष नेपाल एक उदाहरणीय एवम् लोभलाग्दो राष्ट्रका रूपमा खडा हुनेछ । यही अभिलाषा वा अभीष्ट सिद्धिको एक माध्यमका रूपमा आफ्नोतर्फबाट मुलुकका लागि यथाशक्य योगदान पुर्‍याउने उद्देश्यसहित घटना र विचार साप्ताहिकको जन्म भएको थियो र हाम्रो यो सत्प्रयत्न जारी नै छ ।
तर, आमनेपालीको उपरोक्त अभीष्ट या चाहनाअनुरूप मुलुकको अवस्था रहेन, परिस्थितिले पल्टा खायो । स्वस्थ प्रजातान्त्रिक अभ्यासको बदला मुलुकको राजनीति दिनप्रतिदिन विकृतिको भासतर्फ लम्किन थाल्यो । राष्ट्रको उन्नति भए सबैको उन्नति र कल्याण हुन्छ भन्ने सोच राजनीतिक नेतृत्वकर्ताहरूमा पलाउन सकेन । सबैलाई व्यक्तिगत उन्नतिको हतारो पर्‍यो । नातावाद, कृपावाद, भ्रष्टाचार मौलाएर गयो । पहुँचवालहरूको तरक्की दिन दुगुणा रात चौगुणाका हिसाबले हुन थाल्यो भने शासनमा पहुँच नपुग्ने निमुखाहरू झन् तल पर्दै या पारिँदै गए । अर्थात्, देश, जनता र प्रजातन्त्रको कुरा गरेर नथाक्ने नेताहरूको स्तर रातोरात चप्पल छापबाट पजेरो–पङ्क्तिमा उकासिन थाल्यो भने आमजनता र देशको अवस्थाचाहिँ उस्ताको उस्तै या अझ खस्कन पुग्यो । वैयक्तिक, समूहगत र पार्टीगत स्वार्थहरू पन्पिन पुग्दा अन्तत: राजनीतिक दलहरूमा चिरा पर्ने, अनेक क्षेत्र र वादका नाममा नयाँ–नयाँ दलहरू जन्मने क्रमसँगै एकातिर राजनीतिक दलहरूबीच अविश्वास र हानथाप चुलिन थाल्यो भने आफूलाई राज्यले घोर उपेक्षा गरेको अनुभूति गर्दै आएको एक समूह घोषित रूपमै सशस्त्र युद्धमा होमियो । जसबाट अन्तत: मुलुकमा हिंसात्मक द्वन्द्वको जन्म भयो र देश एक दशकभन्दा लामो सशस्त्र युद्धको चपेटामा पर्‍यो । त्यसपछि मुलुकले व्यहोर्नुपरेको भुक्तमान र दुरावस्थाबारे कोही अनभिज्ञ छैनन् । द्वन्द्वको भूमरीबाट कुनै क्षेत्र जोगिन सकेन र खासगरी नेपाली प्रेसले पनि यस क्रममा ठूलो सास्ती व्यहोर्नुपर्‍यो । आस्थाका आधारमा जसरी आमनागरिकको कत्लेआम भयो नेपाली प्रेसको समेत सोही हिसाबबाट गला रेट्ने कोसिस गरियो । हामी मात्र यस अँध्यारो पक्षको सिकार बन्नबाट जोगिने सवाल नै रहेन ।
मुलुकमा लोकतन्त्र आयो, आफ्ना विचार वा अभिव्यक्ति निर्धक्क प्रस्तुत गर्ने स्वतन्त्रता हासिल भयो भनिएको आजको परिवेशमा पनि नेपाली प्रेस र खासगरी लोकतान्त्रिक आन्दोलनमा विशेष तथा मौलिक भूमिका निर्वाह गरेका साप्ताहिक अखबारहरू राज्यबाट उपेक्षित नै छन् । आज पनि हामी त्यत्तिकै व्यवधान र चुनौती व्यहोरिरहेका छौँ । कथित रूपमा लेखन स्वतन्त्रता हुनु मात्र चुनौतीको अन्त्य होइन रहेछ भन्ने हामी यतिबेला अनुभूति गरिरहेका छौँ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा सत्य, तथ्य र निष्पक्ष समाचार पस्किँदै आमपाठकको हृदय जित्न सफल घटना र विचार साप्ताहिक समाजका भ्रष्ट, अनैतिक, अलोकतान्त्रिक कतिपय खराब तत्ववहरूको नजरमा सुरुदेखि नै तारो बन्दै आएको लुकेको विषय पनि होइन । तथापि, घटना र विचार साप्ताहिक समाजका यस्ता विकारहरूसँग उतर्सिएर आफ्नो कर्तव्यबाट च्यूत हुने कुरा सोच्न पनि सक्दैन । आमपाठकको माया र स्नेह हाम्रा निम्ति साहसको स्रोत बनेको छ । हाम्रा तमाम पाठक, विज्ञापनदाता, सहयोगी तथा शुभेच्छुकलाई प्रकाशनको सत्र वर्ष पूरा गरी अठारौँ वर्ष प्रवेशको यस सुखद घडीमा एकपटक फेरि मनन गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार, विचार तथा आमसरोकारका सामग्री निर्धक्क सम्प्रेषण गरिरहने प्रण गर्दछौँ ।