संविधानसभा कि जातीय द्वन्द्वको पुनस्र्थापना

संविधानसभा कि जातीय द्वन्द्वको पुनस्र्थापना


–हरदम कोइराला
निकम्मा प्रमाणित भई स्वाभाविक मृत्युवरण गर्न पुगेको संविधानसभालाई पुनस्र्थापित गर्ने आकाङ्क्षा विभिन्न राजनीतिक दलसम्बद्ध नेताहरूले प्रकट गर्न थालेका छन् । दुई वर्षका लागि निर्वाचित संविधानसभाको आयु दोब्बर थप गर्दा पनि संविधान निर्माण गर्न असफल संविधानसभालाई पुनः स्थापित गर्न सकिने विचार प्रकट हुँदा यसले राजनीतिक दलका नेताहरूको टिठलाग्दो रूप र अवस्था मात्र प्रस्तुत गरेको छैन, जातिवाद र क्षेत्रवादको चपेटामा मुलुकलाई होम्न खोज्ने आतङ्ककारी निकाय बौरने हो कि भन्ने चिन्ताले देशप्रेमी नेपाली जनसमुदायमा सन्त्रास पनि पैदा गराएको छ । गत जेठ १४ गते संविधानसभाको निधन हुनुभन्दा केही मिनेट अघिसम्म नेपालको आन्तरिक अवस्था अत्यन्त तरल र गृहयुद्धको जग बसाउन उद्यत रहेको महसुस हामी सबैले गरेका थियौँ । देशहितभन्दा जातीय र क्षेत्रीय स्वार्थप्रेरित भावनाको प्राधान्य जसरी उन्मुक्त ढङ्गले बढ्दै थियो त्यसले धेरै नेपालीमा अब देश छोडेर भाग्नुपर्ने अवस्था आउने भयो भन्ने चिन्ता बढाएको थियो । विभिन्न जातीय समुदाय सम्भावित युद्धका निम्ति तत्पर हुँदै थिए भने घरघरमा जाति र क्षेत्रवादी बहस चल्न सुरु भइसकेको थियो । संविधानसभाले चार वर्षमा नेपाललाई दिएको ‘उपहार’ त्यही थियो जसले देशको संहार–यात्राको थालनी गर्न खोजेको थियो । त्यसप्रकारको घातक सोचको उत्पादन संविधानसभामै भएको थियो भन्ने कुराको प्रमाण जेठ १४ पछि एकाएक उत्पन्न शान्ति र शान्तिपूर्ण अवस्थाले पेस गरिरहेको छ । अब फेरि त्यही संविधानसभा पुनस्र्थापित भयो भने त्यससँगै जातिवाद र क्षेत्रवादजस्ता घातक एवम् विकृत सोचको पुनस्र्थापना हुने पनि निश्चित छ । दलका नेताहरू त्यसप्रकारको भयको पुनस्र्थापना गर्न सकिने विचार सम्प्रेषण किन गर्दै छन्– चिन्ताको विषय बनेको छ ।
०५९ सालमा तत्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाले विघटन गराएको संसद् पुनस्र्थापनासँग संविधानसभालाई तुलना गर्न सकिँदैन । त्यसबेला निर्वाचित संसद्को कार्यकाल बाँकी रहँदै प्रजातन्त्रलाई विस्थापित गर्ने नियतका साथ त्यसको बलजफ्ती विघटन गराइएको थियो । संसद् नरहे पनि निर्वाचित संसद्को प्रतीक र बीउ प्रमाणका रूपमा सभामुख र उपसभामुख निरन्तर क्रियाशील थिए । विघटित प्रतिनिधिसभालाई पुनर्जीवित तुल्याउन राजकीय शक्ति सम्पन्न सर्वोच्च वैधानिक निकाय पनि थियो । त्यसैले ०६३ सालमा विघटित संसद्लाई जनआन्दोलनको बलमा पुनस्र्थापित गर्न सहज हुन सकेको हो । संविधानसभाले निर्धारित कार्यकालभन्दा दोब्बर समय क्रियाशील रही मृत्युवरण गरेको छ र उक्त सभालाई ब्युँताउन सकिने कुनै संवैधानिक, कानुनी एवम् राजनीतिक आधार पनि छैन । राजनीतिक दलहरूबीचको सहमतिमा संविधासभा पुनस्र्थापित गर्न पनि वैधानिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसैले सर्वपक्षीय सहमति नै भए पनि संविधानसभा पुनर्जीवित हुन सम्भव देखिएको छैन । बल मिच्याइँबाट नै निर्णय गर्ने हो भने त्यसले मुलुकमा अर्को प्रकारको अनिष्ट निम्त्याउने प्रबल सम्भावना छ ।
संविधानसभा पुनर्जीवित गराउन सकिने विचार पश्चिमा मुलुकहरूको ‘फिडब्याक’मा चल्ने केही नेताहरूले एक महिनाअघि नै प्रकट गरेका थिए । नेपाली काङ्गे्रसका शेरबहादुर देउवा र माओवादीका प्रचण्डले सार्वजनिक गरेको उक्त विचारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र काङ्गे्रस सभापति सुशील कोइरालाको पनि विमति नरहने समाचार सार्वजनिक भएका छन् । तर, कोइराला र भट्टराईले संविधानसभा ब्युँताउनैपर्ने विचार व्यक्त गरेका छैनन् । लोकतन्त्र र संविधान निर्माणका मुद्दाहरूमा दलहरूबीच सहमति बने सहमतिलाई वैधानिकता दिने एउटा उपायका रूपमा संविधानसभालाई केही क्षणका लागि अस्तित्वमा ल्याइए आपत्ति नहुने विचार कोइराला र भट्टराईको रहेकोे बुझिन्छ । अहिलेसम्म दलहरूबीच राष्ट्रिय सहमति बन्न सक्ने सम्भावना देखिएको छैन । त्यसैले संविधानसभालाई पुनस्र्थापित गरेर नेपालमा जातीय–क्षेत्रीय आन्दोलन भड्काउने केही पश्चिमा मुलुकहरूको इच्छा तत्काल पूरा हुन असम्भव मानिएको छ । वास्तविकता यसप्रकारको हुँदाहुँदै पनि केही पूर्वसभासद्हरूले संविधानसभा पुनर्जीवित गर्न सुरु गरेको हस्ताक्षर अभियानलाई रोजगारीको तुच्छ खोजीका रूपमा जनताले बुझेका छन् । संविधान निर्माणमा कुनै योगदान पुर्‍याउन नसकी ‘रबर स्ट्याम्प’को भूमिकामा रहेका पूर्वसभासद्हरूको हस्ताक्षर अभियानले उनीहरूको बचेखुचेको साख पनि माटोमा मिलाउने स्थिति बनेको छ ।