हिन्दूधर्ममा मृत्यु–संस्कार–३–डा. बालकृष्ण थापा

हिन्दूधर्ममा मृत्यु–संस्कार–३–डा. बालकृष्ण थापा


आर्य वा हिन्दूहरू प्रगतिशील र व्यावहारिक जाति
आर्य वा हिन्दूहरू अरूको राम्रो कुराहरू सिक्दै आप्mना नराम्रा कुरालाई छोड्दै आएको ऐतिहासिक जाति भन्ने बुझिन्छ । आर्यहरूले द्रबिडहरूबाट विभिन्न संस्कार र सभ्यताका कुराहरू सिकेका मात्र होइनन् । मान्छेको होम गर्ने र सती प्रथाजस्ता कुराको परित्याग पनि गरेका छन् । असक्तहरूलाई धार्मिक छुटको पनि व्यवस्था गरेका छन् । आर्यहरू र यसको एक अंश खसहरू यहाँ आउनुअघि पनि यहा द्रबिडलगायत कोलीय, किराँत, यक्ष, गन्धर्व, निसाध तथा किन्दरजस्ता जातिहरू बसोबास गर्दथे । तिनीहरूले यी सबैबाट संस्कार र सभ्यताका विभिन्न कुराहरू सिकेका उदाहरणहरू पाइन्छन् । हिन्दूहरूका गर्भाधानदेखि मृत्युसम्मका १६ संस्कारमध्ये विभिन्न संस्कारहरू विभिन्न जातिहरूसँग मिल्दाजुल्दा छन् । त्यसैले उनीहरू सिक्ने–सिकाउने र नयाँ कुरा गर्ने जातिहरू हुन् भन्दा फरक पर्दैन । त्यसैलाई मलाई लाग्छ उनीहरू प्रगतिशील र व्यावहारिक छन् भन्न मन लाग्यो ।
केही प्रगतिशील कदमहरू
नेपालमा विभिन्न खालका सामाजिक सुधारका कुरा पनि नभएका होइनन् तर धार्मिक सुधारका कुरा भने कमै भएका छन् । हाम्रा कम्युनिस्ट नेताहरू (केही अपवादलाइ छोडेर) धर्म, धार्मिक प्रक्रियाका विरुद्धमा समाजलाई शिक्षित गराउँदै हिँड्ने तर आफूचाहिँ लुत्रुक्क परेर त्यही काम गर्ने जुन अरूलाई नगर भन्दै हिँडे, यो संस्कारले हामीलाई सिखण्डी बनाएको सत्य हो । तर, केही प्रगतिशील कदमहरू भने उल्लेख्य छन् । जस्तैः काभ्रेकी अम्बिका कार्की दिदी र बहिनीले छोरीले किरिया बस्ने चलन बसाए । विश्वेश्वरप्रसाद कोइरालाको किरिया उहाँका छोराछोरी कोही पनि बसेनन् । जुन एउटा गतिलो सकारात्मक उदाहरण हो । राजेश हमालले वर्षौं लगाएर माया गरेर जोगाएको कपाल उनले काटेनन् जुन उपयुक्त कदम हो । झापाका मैनालीहरूले सात दिनमा किरिया छोट्याएको उदाहरण र तनहुँका गोदारहरूले ६ दिनमा किरिया उतारेका गहन उदाहरणले हिन्दू धर्ममा परिवर्तन ल्याउन खोजेका छन् । ती सबैमा मेरो सलाम । शास्त्रकै अनुसार राम निदाएको बेलामा सीताले श्राद्ध गरिभ्याइन् ।
हाम्रो समाजमा सामाजिक परिवर्तन सानो अनुभव
म आफू जे गर्न सक्दिनँ अरूलाई त्यही गर भन्न सक्दिनँ, यो मेरो नैतिकताको कुरा हो । तर, यो राम्रो कुरा हो यति कारणले मैले यो गर्न सकिनँ कृपया अरूहरू सक्नुहुन्छ भने यो गरिदिनुस् वा गर्नुहोस् भनी अनुरोध अवश्य गर्न सक्छु । सायद यो जिम्मेवारीबोध पनि हो ।
कुरा मेरो आफ्नै हो । हाम्री आमा हामीलाई छोडेर जानुभयो जेठ ३१ गते राति ११ः३० बजे । सिर्फ एक दिन मात्र उहाँलाई अस्पतालमा राख्नुपर्‍यो । एक घन्टाअघिसम्म खाना माग्ने आमाले एक घन्टापछि छोडेर जाँदा कसलाई मन थामिसक्नुहुन्छ होला र त्यति खेर त म चिकित्सक होइन कसैको छोरा न हँु । मलाई पनि त्यही त्यस्तै भयो जुन मैले अरूहरूमा देखेको थिएँ । आमा बितिसकेपछि मैले मेरो भाइ रामकृष्ण, काका प्रा. रेशमबहादुर थापा, बहिनी जुलुम थापा घिमिरे, भतिजो दिलीप र छोरा सङ्घर्षलाई समेत राखेर म आमाको बिदाइ राम्रोसँग गर्ने तर किरिया बस्ने पारम्परिक कुरा भने परिवर्तन नगरी काजकिरिया नगर्ने भनी निर्णय गरियो । त्यसैबमोजिम देवघाटमा आमाको बिदाइ पारम्परिक विधिसम्मत् रूपमा र शोकसभाको रूपमा बदली मौनधारण गरी दागबत्ती दिएर काम सम्पन्न गरेर हामी कुशादेवी लाग्यौँ । आफ्नो निर्णय बुबालाईसमेत सुनाउन र छलफल गर्न नपाउँदै गाउँका दाजुभाइहरू मलाई तल बाटोमै गाडी रोकेर त्यहीँ ओरालेर टाउको मुडुल्ने र कोरा राख्ने तयारीका साथ आएको पाएँ । मैले तर्क गरेँ– किन मैले तपाईंहरूले भनेको मान्नैपर्छ भन्ने छ ? र, हामी बुबासँग छलफलमा गयौँ । त्यतिबेलासम्म सबै गाउँका दाजुभाइहरू पनि त्यहाँ भेला भइसकेका थिए । बुबालाई हामीले जानकारी दिनुअगावै सबैका सामुमा भनिदिनुभयो, पारम्परिक तरिकाले नै किरिया गर्नुपर्छ भन्ने छैन र किरिया नगरे पनि हुन्छ । तर, गाउँ–समाजमा बसेपछि दाजुभाइहरूको समेत राय लिएर तिमीहरू निर्णय गर । कत्रो उच्च विचार कत्रो अदम्य साहस यो पुरातनवादी समाजमा बसेर आफ्नै छोराछोरीलाई यो ज्ञान दिने करिब ७० वर्षीय हाम्रा पिता गम्भीरध्वज थापाको । त्यसपछि हामीले समाजका सबैमा हाम्रो छोटो किरिया गर्ने प्रक्रियाको प्रस्ताव राख्यौँ । स्वाभाविकै थियो त्यसमा चर्को विवाद आउने । तर, समाजका दाजुभाइ तथा दिदीबहिनीहरूले हामीलाई धेरै छुट दिने विचार व्यक्त गर्नुभयो । यो त्यस्तो समाज थियो जुन धेरै वर्ष तितरबितर भएर दुई वर्षअघि मात्रै सबै दाजुभाइ एक ठाउँमा बसेर एक निर्णय गरेर मर्दापर्दा समाहित हुने गरी अघि बढिरहेका जुन मलाई मन परेको मात्र होइन पक्षपाती पनि थिएँ । त्यसैले मैले स्पष्ट भनेँ– म किरिया गर्नुपर्छ भन्ने र गर्ने पक्षमा त छैन तर हामीहरूको भएको पुनः एकतालाई यसले असर नगरोस् भनेर किरिया छोटो तरिकाले फरक ढङ्गले बस्ने हो । तपाईंहरू स्वीकृति दिनुहोस् भने । उहाँहरूले हामीलाई कपाल काट्नु नपर्ने, म डाक्टर भएको विशेष प्रकृतिको भएकाले पूरै दिन कोरा बस्न नपर्ने छुट दिनुभयो । तर, भाइले पनि उसको अधिकारको कुरा उठाउनु स्वाभाविक भयो । त्यसपछि समाज दाजुभाइहरूले पनि यसै गर भन्न सक्नुभएन । उहाँहरूको एउटै समान अनुरोध र आग्रह थियो– ढिकुरोचाहिँ उठाओ । त्यसपछि हामीले हाम्रो लामो घरसल्लाह गर्‍यौँ । र, एउटा फरक निर्णय गर्‍यौँ । तीन दिन मात्र किरिया बस्ने, तीन दिनमा ढिकुरो उठाउने, फोर्ने आदि कर्मकाण्ड सक्ने । मलाई मेरो प्राध्यापक काकाले परिवर्तन एउटैले र एकैचोटि गर्न सकिन्न । यो हालका लागि प्रगतिशील कुरा हो, यसलाई स्वीकार भनी सम्झाउनुभयो र मैले सोचेँ– मैले यति गर्दा गाउँको एकता कायम रहन्छ भने ठीकै छ । त्यसैले मैले आमाको तीनदिने किरिया गरेँ । कपालमा छुरा मात्र लगाएर आँखीभांै नकाटेर, कोरा नबसेर, चोखोनिधो बसेर । मेरो विश्वास र विचार हो बिदाइको दिन राम्रो बिदाइ गर्ने, तीन दिनसम्म शोक मनाउने र आ–आफ्नो काममा लाग्ने । अरूको काटिसकेको धानको बीउ मर्न दिन र वर्षभरि धेरैजनाको भोकलाई बढावा दिन मन छैन । १३ दिनसम्म कम्तीमा पनि तीन सयजनाभन्दा बढीलाई दुःख दिई तिनको समयको नोक्सानी र मानसिक तनाव दिन मन थिएन । तर, गाउँको एकताका लागि र गाउँलेले बाहुनलाई अप्ठ्यारोमा नपार्नका लागि मैले मनले नमान्दानमान्दै पनि सम्झौता गरेँ र १० दिनको काम तीन दिन बसेर मात्र एकै दिनमा सम्पन्न गराएँ । सबैले यस्तै गर्नुपर्छ भन्ने छैन, तर यो रीतिथितिमा विशेष परिवर्तन गर्नैपर्छ यदि हामीलाई मानवता, मानवीयता र समयको ख्याल रहन्छ भने । मभन्दा अगाडि बढेर प्रगतिशील काम गरिदिनेहरूलाई मेरो पूर्ववत् सलाम । आमाको पुण्यतिथिमा उहाको चिरशान्तिको कामना र उहाँको सम्झनामा थापागाउँका लागि राखिने पुरस्कारको सफलता र निरन्तरताको पनि कामना ।