दुई चर्चित विवाहबारे…

दुई चर्चित विवाहबारे…


ठूला मानिसले साना काम गरे भने त्यसलाई समाजले सहजै ग्रहण गर्न सक्दो रहेनछ । भगवान् रामचन्द्रले सीतालाई परित्याग गरेको कुरा अहिले पनि मानिसहरू ठूला मान्छेले गरेको सानो कामका रूपमा लिन्छन् । सर्वसाधारणको दृष्टिमा जब मानिस ठूलो देखिन थाल्छ, उसले आफ्नो व्यवहार पनि सोहीअनुरूप बनाउन सक्नुपर्ने रहेछ । त्यसैले भनिन्छ, ठूलो मान्छे हुनभन्दा त्यसलाई ‘मेन्टेन’ गर्न गाह्रो हुन्छ । कला क्षेत्रका हरिवंश आचार्य र साहित्यिक विधाका कृष्ण धरावासी जनदृष्टिमा साधारण मानिस होइनन् । उनीहरू खास मानिस हुन् । त्यसैले उनीहरूबाट सर्वसाधारणले आफूहरूभन्दा फरक व्यवहारको अपेक्षा राख्नु स्वाभाविक हो । प्रायः आ–आफ्नो व्यावसायिक कामका कारण सार्वजनिक टिप्पणी या स्याबासी पाउने गरेका यी दुई फरक धारका चर्चित व्यक्तित्व नितान्त निजी काम गर्दा पनि सार्वजनिक टीका–टिप्पणीबाट अलग रहन सकेनन् । यसको कारण सम्बन्धित विषयमा उनीहरूले प्रदर्शन गरेको फरक र विशेष व्यवहार नै हो । श्रीमतीलाई जीवनसाथीभन्दा पनि आफ्नो स्याहारसुसार गर्ने व्यक्तिका रूपमा लिँदै आएको नेपाली समाजमा यी दुवैले श्रीमतीलाई फरक दर्जा दिएका थिए । आफ्ना श्रीमतीको मृत्युपछि दिवङ्गत पत्नीहरूप्रति उनीहरूले दर्शाएको व्यवहार आमलोग्नेमान्छेको भन्दा फरक देखिन्थ्यो । ‘उमेर छँदै’ पत्नीको निधन भए ‘बिचरा एक्लो लोग्नेमान्छे’ भन्दै सबैतिरबाट सहानुभूति प्राप्त गर्ने र प्रायः सोही वर्षभित्रै विवाह गर्ने आमप्रवृत्ति हो । (यसो भनिरहँदा दिवङ्गत पत्नीका नाममा लामो समयदेखि छोराछोरीको मुख हेरेर बस्ने पुरुषहरूमाथि अन्याय नहोस्, त्यस्ता पुरुष पनि नेपाली समाजमा छन्, यहाँ आमप्रवृत्तिको कुरा मात्रै गरिएको हो ।) हरिवंश आचार्य र कृष्ण धरावासी दुवैले आफ्ना पत्नीको निधनमा धेरै शोक व्यक्त गरे, कतिपय मानिस शोक परे पनि त्यति व्यक्त गर्दैनन् तर यी दुवैले गरे । गीत लेखे, कविता र संस्मरण लेखे, पत्नीको सम्झनामा मिडियालाई अन्तर्वार्ता दिए र भने– उनीबिना म अधुरो छु, जीवन अधुरो छ, सपना–विपना पलपल उनी मेरो आँखावरिपरि छिन् । उनीहरूका भावना सुन्ने र पढ्ने जोकोही भावविह्वल भए, मानिसका आँखा रसाए र तिनको प्रतिक्रिया रह्यो– यस्तो पो लोग्ने, यति अगाध प्रेम गर्ने मानिस आजको जमानामा कहाँ पाउनु ? यी दुवैले सार्वजनिक रूपमा व्यक्त गरेका अनुभूतिका आधारमा मानिसले अनुमान गरे कि यो जुनीमा अब यिनले अरू कुनै पनि महिलाको साथको कल्पना पनि गर्ने छैनन् । मानिसहरूले यस्तो सोच बनाउनुका पछाडि हरिवंशले मीरा र धरावासीले सीताको मृत्युपछि प्रदर्शन गरेको ममता र समर्पणबाहेक अरू कुनै कुराले काम गरेको थिएन । तर कुरा जे–जे गरे पनि व्यवहारमा यिनले त्यो फरकपनलाई जोगाउन सकेनन् । परिणामतः विवाहजस्तो प्रायः हरेक मान्छेले गर्दै आएको सामान्य कुरामा पनि अनेक टीका–टिप्पणी सुन्नुपर्ने स्थिति बन्यो । भारतीय नायक सुनील दत्तले आफ्नी पत्नी नर्गिसको मृत्यु हुँदा त्यति ठूलो कोकोहोलो मच्चाएनन्, तर आफू बाँचुन्जेल उनी कतै जाँदा आफू बसेको ठाउँमा एक सिट खाली नर्गिसका लागि छुट्याएर राख्थे । उनलाई बुझ्नेहरू सबैले उनी बस्ने ठाउँमा दुईवटा कुर्सी नै राखिदिएका हुन्थे ।
यो वैशाखयताकै कुरा गर्ने हो भने पनि धेरै नेपालीले विवाह गरे । पहिलो मात्र नभएर दोस्रो विवाह गर्नेमा चिनजानकै मान्छे पनि धेरै परे । कसैले श्रीमती मरेका कारणले, कसैले छोडेका कारणले, जे कारणले भए पनि तिनले विवाह गरे । कसैले मागी विवाह गरे, कसैले लामो समयदेखिको प्रेमलाई विवाहमा बदले, कसैले आफ्नी गर्लफ्रेण्ड छोडेर अर्काकी गर्लफ्रेण्डसँग बिहे गरे तर ती विवाहले खासै चर्चा पाएनन् । प्रेममा पनि ‘बेटर अपर्चुनिटी’को यो जमानामा नहुनुपर्ने कुराहरू कति भइरहेका हुन्छन् तर सम्बिन्धत व्यक्तिहरूबाहेक अरूलाई खासै सरोकारको कुरा बन्दैन । विवाह मानिसको जीवनको नितान्त व्यक्तिगत पक्ष हो । जुनसुकै अवस्था र सोचका मानिसले पनि गर्ने हुनाले यो त्यति धेरै महत्व दिनुपर्ने कुरा हो जस्तो पनि लाग्दैन । जीवन बाँच्नका लागि आफूलाई बुझ्ने एउटा साथी र पारिवारिक संरचनालाई निरन्तरता दिने माध्यमका रूपमा विवाहलाई लिँदा यो सदीयौँदेखि निरन्तर चलिरहेको एउटा प्रक्रिया हो । जुन प्रक्रिया यो पृथ्वीका हरेक प्राणीमा लागू हुन्छ । मान्छे अलि चेतनशील भएकाले यसलाई फरक रूपले हेरिएको मात्रै हो । रूपचन्द्र विष्टको विचारमा विवाह एउटा प्राणी काम हो, सबै प्राणीले गर्ने भएकाले यो त्यति ठूलो चर्चा गरिरहनुपर्ने विषय होइन । प्रेम वा विवाहजस्ता कुरामा मानिसका आ–आफ्नै प्रकारका फरक मूल्य–मान्यता हुने भएकाले वास्तविकता के पनि हो भने आफ्नो सोचअनुसारको जीवनसाथी भेटियो भने जीवनको अर्थ फरक भने हुन्छ । विवाह एउटा पारिवारिक नाता र सम्बन्ध जोड्ने काम पनि हो र सबै सम्बन्धहरू ममतामयी मात्र छैनन्, त्यत्तिकै जोखिमपूर्ण पनि छन् ।
दोस्रो विवाहपछि धरावासी र आचार्य दुवैले अलि अप्ठ्यारो मान्दै, अलिकति ग्लानि र हीनताबोध भएझैं गरी आफूले विवाह गर्नुपर्ने कारण मिडियासामु राखेका छन् । घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेका भए ग्लानि महसुस गर्नुपथ्र्यो, उनीहरू एकल भएपछि विवाह गरेकाले त्यसमा अप्ठयारो मान्नुपर्ने त देखिँदैन, तर विवाहपछि पनि पहिला कि श्रीमतीलाई लिएर जे–जस्तो प्रतिक्रिया आइरहेका छन् त्यसमा भने असहज मान्नुपर्छ । महिला हुन् या पुरुष दोस्रो विवाह गर्ने भनेको आफंैमा सहज परिस्थिति अवश्य होइन । दोस्रो विवाहको सबैभन्दा ठूलो चुनौती नै विगतको व्यवस्थापन हो । आफ्नो जीवनसाथीले आफूसँगको सम्बन्धपछि पहिलाको मान्छेको गुण या दोष अगाडि ल्याएर त्यसैको पछि लागिरहोस् भन्ने चाहना कसैलाई पनि हुँदैन । धेरै एकल महिला आफ्नो जीवनमा यस्तै केही होला भनेर पुनः विवाह गर्न हिच्किचाउँछन्, डराउँछन् । अचम्म त के भने अहिले यी दुई चर्चित पुरुषसँग विवाह गर्ने दुई महिला त्यही भोगिरहेका छन् जुन कुरा होस् भन्ने चाहना हँुदैन । हरिवंशसँग विवाह गरेकी रमिला विधवा हुन् । उनका पनि पूर्वपतिसँगका तीतामीठा सम्झनाहरू हुँदा हुन् । तर, तिनले ती सब कुरा बाहिर ल्याइरहेकी छैनन् । यदि ल्याइहालिन् भने पनि यो समाज र हरिवंश स्वयम्ले कसरी लेलान् यसै भन्न सकिन्न । विगतमा जसको जे भए पनि अब उनी हरिवंशकी पत्नी हुन् र कुनै पनि श्रीमती/श्रीमान्लाई आफ्नो पति/पत्नी पूर्वजीवनसाथीको गुणगानमा या यादमा अल्झिएर बसोस् भन्ने चाहना हुँदैन । कृष्णपत्नी मञ्जुको फरक अवस्था रहेछ, उनलाई पूर्वपतिको नाम नै लिन मन नलाग्न सक्छ । तर, आफ्ना पति धरावासीले जतिबेला पनि सीताजीको नाममा प्रतिक्रियाहरू दिइरहेको पनि मन नपर्न सक्छ । यसो गर्दा भित्री व्यवहारमा मात्रै आफू पत्नी भएको र सार्वजनिक रूपमा भने अरूनै जीवित रहेको महसुुस यी महिलाले गरे भने अनौठो मान्नुपर्दैन । यस्तो व्यवहार त मानसिक हिंसा हो । त्यसैले कि त विवाह नगरी पहिलाकै श्रीमतीका नाममा बस्न सकेको भए हुन्थ्यो, गरिसकेपछिचाहिँ विगतलाई घरी न घरी सार्वजनिक रूपमा ल्याएर वर्तमानमा भएका जीवनसाथीहरूलाई मानसिक आघात पुग्ने काम नगर्दा नै राम्रो हुन्छ होला । उनीहरूले पनि आफ्ना पूर्वपतिलाई घरी न घरी त्यसैगरी अगाडि ल्याए आफूमाथि के गुज्रिन्छ त्यही सम्झिएर विगतलाई विगतमै छोडिदिँदा राम्रो होला जस्तो लाग्छ ।