काग कराउँदै छ पिना सुक्दै छ

काग कराउँदै छ पिना सुक्दै छ


अण्डा पहिले कि कुखुरा ? यस विश्वव्यापी प्रश्नले अहिलेसम्म पनि अनेक अध्येता, अन्वेषक, विचारक एवम् वैज्ञानिकहरूको मथिङ्गल चिथोरिरहेको छ । आ–आफ्ना तर्कद्वारा समाधान दिने प्रयत्न नभएका होइनन्, तर चित्तबुझ्दो या प्रामाणिक जवाफ हालसम्म प्राप्त हुन सकेको छैन । सृष्टिको रहस्यसँग जोडिएको नाताले उक्त प्रश्नको जटिलता त सर्वस्वीकार्य नै छ, तर एउटा यस्तो फितलो प्रश्न आज आमनेपालीसमक्ष जटिल रूपमा जबर्जस्ती स्थापित गरिँदै छ जसले नेपाली राजनीतिलाई नै गतिशून्य बनाइदिएको अनुभूति हुन्छ । प्रश्न हो– ‘अर्को प्रधानमन्त्री को भन्नेमा दलहरूबीच सहमति भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सी छोड्ने कि उनले कुर्सी छोडेपछि नयाँ प्रधानमन्त्रीको खोजी गर्ने ?’ वास्तवमा यही सवाललाई मियो बनाएर राजनीतिक दलहरूले यतिबेला नेपाल र आमनेपालीमाथि दाइँ गरिरहेका छन् ।
कामचलाउ भूमिकामा रहेका प्रधानमन्त्री डा. भट्टराई आफूलाई विपक्षीले दाबी गरेजस्तो अवैधानिक र हैसियतविहीन ठानिरहेका छैनन्, बरु अघि–पछिको भन्दा बढ्ता जिम्मेवार या अधिकारसम्पन्न प्रधानमन्त्रीका रूपमा प्रस्तुत हुन खोजिरहेका छन् । ‘मैले छोडिदिने हो भने मुलुक सञ्चालनको जिम्मा कसले लिने, झन् सङ्कट निम्तिन्छ’ भन्ने उनको ढिपी छ । कुर्सी छोडेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बाटो खुला गर्न गरिँदै आएको आग्रहको जवाफमा उनी आफ्नै नेतृत्वमा निसर्त सरकारमा सहभागी हुन दलहरूलाई ‘निर्देश’ गरिरहेका छन् । ‘सहमति भए छोडिदिन्छु’ भन्दै आएका प्रधानमन्त्रीको बोली पूरै फेरिएको छ । निर्वाचनपछि आउने प्रधानमन्त्रीलाई मात्र आफूले ठाउँ छोडिदिने निर्धक्क बताउन थालेका छन् अब त उनी । आफूलाई अस्वीकार गर्नेहरूले आफूभन्दा योग्य र स्वीकार्य प्रधानमन्त्री खडा गरेर देखाउन उनको चुनौती छ । बाबुराम भट्टराईको यस चुनौतीको सामना गर्ने साहस भने विपक्षी दलहरूमा क्रमशः क्षीण हुँदै गएको प्रतीत हुन्छ । किनकि, उनलाई प्रतिस्थापन गर्ने पात्रको खोजी अहिलेसम्म दलहरूले गर्न सकेकै छैनन् ।
सरकारको नेतृत्व गर्ने पालो अब नेपाली काङ्ग्रेसको हो भनिएको छ तर काङ्ग्रेसले प्रधानमन्त्रीको उम्मेदवार खुट्याउन सकिरहेको छैन । काङ्ग्रेसको यस लाचारीको लाभ लिने प्रयत्न विपक्षीखेमाबाटै सुरु भइसकेको प्रतीत हुन्छ । पालो बाँधेर काङ्ग्रेसलाई प्रधानमन्त्रीको ललिपप देखाउनेहरू नै काङ्ग्रेस हिम्मत गर्दैन भने हामी नै मैदानमा उत्रन्छौँ भन्ने तर्क गर्न थालेका छन् । एमालेका कतिपय नेताको जिब्रोमा भावी प्रधानमन्त्रीको र्‍याल पलाइसकेको देखिन्छ भने आफ्नो पालो आएको ठान्ने काङ्ग्रेस–नेतृत्वचाहिँ प्रधानमन्त्रीको ओहोदा कसैले किस्तीमा राखेर पाउमा चढाउन ल्याइदिन्छ भनेर ढुक्क बसेको छ । विद्वत् कहलिएका ‘चतुर’ प्रधानमन्त्री यी सब क्रियाकलाप गहिरोसँग नियालिरहेका छन् । ‘झट्टै पानी तताएर देऊ नत्र चिसै पानीले नुहाउँला’ भन्ने लोकोक्ति स्मरण गराउने विपक्षी–व्यवहार तथा आन्दोलनको धम्कीमाथि मनमनै अट्टहास लगाइरहेका बाबुराम भट्टराई अनि किन काङ्ग्रेस–एमालेले चाहेजसरी कुर्सी खाली गर्न तयार हुन्छन् ?
जनता आफ्नो साथमा छन् कि छैनन् भन्नेमा मै हुँ भन्ने दलहरू नै शङ्कामा छन्, फलतः सरकारविरुद्ध आन्दोलन छेड्ने डिङ लगाउँदै पानीमरुवा प्रवृत्ति दर्शाइरहेका छन् । ‘काग कराउँदै छ पिना सुक्दै छ’, पुर्खाले त्यसै कथेका होइनन् । हुँदाहुँदा अब त विपक्षी, विज्ञ, जनता, राष्ट्रपति जसले जति विरोध गरे पनि पूर्णाधिकार प्राप्त निर्वाचित सरकारकै ढोँग प्रदर्शन गर्दै एकपक्षीय रूपमा ‘पूर्ण बजेट ल्याएरै छोड्ने’ मनस्थितिमा देखिएका छन् प्रधानमन्त्री भट्टराई र उनको एकोहोरो चालमा ताल ठोक्दै कुनै अव्यक्त दुर्उद्देश्य सिद्धिका निम्ति उद्यत् छन् माओवादी अध्यक्ष प्रचण्ड । यी सबका बाबजुद दलीय सहमतिको एजेण्डा बोकेर एक–अर्काको कार्यालय र बासस्थानमा चक्कर लगाउने उपक्रमलाई दलका नेताहरूले तीव्रता प्रदान गरेका छन् । यस्तो परिवेशमा ‘अण्डा पहिले कि चल्ला ?’ भनेजस्तो पार नलाग्ने निरर्थक प्रश्न उब्जाएर आ–आफ्नो दुनो सोझ्याउने जुन प्रवृत्ति देखिएको छ, यसले अझै निकै समय मुलुकको राजनीतिलाई अन्योलको गर्तमा डुबाउने निश्चितप्रायः देखिन्छ ।