किन भगाइन् सीताले प्रकाश र विनालाई ?

किन भगाइन् सीताले प्रकाश र विनालाई ?


संयोग नै मान्नुपर्छ, नेपालका तीन चर्चित नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोराको नाम प्रकाश जुराए । ‘चारैतिर चम्किलो ज्योति फैलाओस् छोराले’, छोराको नाम प्रकाश राख्नुअघि ती तीनैजना शीर्ष नेताले शायद यही कल्पना गरेका थिए । तर, गणेशमान सिंहका छोरा प्रकाशमानबाहेक अन्य दुई नेताका छोरा सोचेभन्दा ठीक विपरीत देखिए । एकीकृत माओवादीकै शब्दमा भन्नुपर्दा उनीहरू कलङ्कित मार्गमा अघि बढिरहेका छन् ।
पछिल्लोपटक अर्थात् २१ असारमा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाशले अखिल क्रान्तिकारीकी केन्द्रीय नेतृ एवम् सरस्वती क्याम्पसकी स्ववियु सभापति विना मगरलाई काखी च्यापेर भारततिर कुलेलम ठोके । उनीहरू ६ दिनदेखि पार्टी र परिवारको सम्पर्कमा छैनन् । केही दिनअघि एउटै टोलीमा रहेर सगरमाथा आरोहण गर्दा आपसमा नजिकिएको भनी आफ्ना सम्बन्धबारे भइरहेका टीका–टिप्पणीलाई उनीहरूले अस्वीकार गर्दै आएका थिए । तर, अहिले ती टीका–टिप्पणी सही सावित भएका छन् ।
प्रकाश २१ असारदेखि सम्पर्कविहीन भएको प्रचण्डका निजी सचिव समीर दाहालले बताए । ‘सगरमाथा आरोहण गरेको टिमसित घुम्न जान्छु भनेर बाहिर गएका थिए, तर, अहिले कहाँ गए हामीलाई पनि थाहा छैन,’ समीरको भनाइ थियो, ‘शेर्पाहरूसँग घुम्न जान्छु भनेर निस्किएपछि २१ गतेदेखि सम्पर्क भएको छैन ।’ प्रकाशले घरमा सगरमाथा आरोहण टोलीसित घुम्न जाने बताए पनि सो टोलीका सदस्य विनाबाहेक अन्य कोही पनि कतै नगएको आरोहण दलका टोलीनेता कृष्ण केसीले बताए । उनले भने, ‘हामी कहीँ पनि गएका छैनौँ, उहाँहरू (प्रकाश र विना) कहाँ जानुभयो जानकारी छैन ।’
शान्ति र संविधानका लागि भन्दै सगरमाथा आरोहणका क्रममा प्रकाश र विनाबारे समाचार आएपछि उनीहरूले आफुहरूविरुद्ध भ्रामक समाचार छापेको भन्दै काठमाडौं जिल्ला अदालतमा जनआस्थाविरुद्ध गाली–बेइज्जती मुद्दा दायर गरेका थिए । मुद्दामा उनीहरूले ‘समाचारका कारण पारिवारिक विचलन आई परिवार तथा समाजमा बस्ने र बाँच्न सक्ने वातावरणसमेत बिग्रिएको, मानसिक तनाव उत्पन्न भएकाले उचित क्षतिपूर्तिसमेत दिलाइ–भराई न्याय पाऊँ’ भनेका थिए । मुद्दामा सगरमाथा आरोहण टोलीमा संलग्न कृष्ण केसी, युवराज दुलाल, सरल सहयात्री पौडेल, शिव डाँगी, काजी शेर्पालगायतलाई साक्षी बनाइएको थियो ।
कञ्चनपुर स्थायी घर भएकी विनाले सुर्खेतका शंकर अधिकारीसँग तीन वर्षअघि विवाह गरेकी थिइन् । शंकर पार्टीको पूणर््ँकालीन कार्यकर्ता हुन् । माओवादीमा आएको विभाजनपछि विना एमाओवादी र शंकर नेकपा–माओवादीतिर लागेका छन् । पार्टी विभाजनसँगै उनीहरूबीचको सम्बन्धमा तिक्तता आएको थियो । घर र पार्टीमा सधैं अराजकता मात्र मच्चाइरहने प्रकाश दुई श्रीमतीका पति भइसकेका छन् । उनले पहिलो विवाह नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग ०६२ फागुन १२ गते गरेका थिए । उनको विवाहमा प्रधानमन्त्री बाबुराम भट्टराई, कृष्णबहादुर महरा, हिसिला यमी, हरिभक्त कँडेल, असारे काका (ईश्वरी दाहाल) लगायत प्रवासका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रभासँग प्रकाशले ०६४ जेठ २२ गते नयाँबजारस्थित तत्कालीन प्रचण्डनिवासमै सम्बन्धविच्छेद गरे । पहिली श्रीमतीसँग सम्बन्धविच्छेद गरेको झन्डै आठ महिनापछि उनले कास्की हेम्जाकी सिर्जना त्रिपाठीसँग ०६४ माघ ३ गते दोस्रो बिहे गरेका थिए । सिर्जना–प्रकाशको अहिले एक सन्तान छ । दोस्रो विवाहमा प्रचण्ड परिवार र केही पार्टीका कार्यकर्ताको सहभागिता रहेको थियो । अहिले विनासँग भागेपछि प्रकाशले उनीसँगै तेस्रो विवाह गरेको चर्चा छ ।
युवती, रक्सी र पैसा भनेपछि हुरुक्कै हुने प्रकाशलाई थोरै रक्सीले कहिल्यै नपुने प्रचण्डका एक सहयोगीले बताए । युद्धकालमा पनि प्रकाशका नाम धेरै युवतीसँग जोडिएर आउने गथ्र्यो । तर, प्रचण्डले त्यसलाई सामसुम पार्दै आएका थिए । उनी आफूनिकट नेताहरूसँग छोराकै कारण आफ्नो राजनीति सकिने पो हो कि भन्ने चिन्ता लाग्छ भन्दै गुनासो गर्ने गर्थे उति बेला नै । उनले साथीहरूसँगै राखेर छोरा प्रकाशलाई मेरो राजनीतिक भविष्य तेरो हातमा छ, त्यसैले तँलाई के मन लाग्छ त्यही गर, मलाई अघि बढाउने या पछाडि आफंै सोच भन्दै बेलाबेलामा गाली गर्ने गरेका थिए । स्रोतका अनुसार प्रकाश र विनाको सम्बन्धबारे चर्चा चुलिएपछि पनि प्रचण्डले छोरा प्रकाशलाई केही दिनअघि सोधपुछ गर्दै व्यवहार परिवर्तन गर्न चेतावनी दिएका थिए । विनासँग नाम जोडिएकोबारे सर्वत्र चर्चा चलेपछि प्रचण्डले चासो लिँदै छोरालाई हप्काएपछि प्रकाशले रुँदै त्यसो होइन भनेका थिए ।
प्रचण्डका एक सहयोगीका अनुसार परिवारमा बाबु प्रचण्डबाहेक अरू कसैलाई पनि गन्दै नगन्ने प्रकाशले विनासँगको सम्बन्ध नजिकिँदै गएपछि दोस्री श्रीमती सिर्जनासँग दैनिक झगडा गर्दै आएका थिए । उनी रक्सी खाएर पटकपटक दोस्री श्रीमती सिर्जनामाथि जाइलागेका थिए । मुलुकमा आफ्नो पिता प्रचण्डबाहेक अरू कसैलाई पनि नेता गन्दैनथे उनी । यतिसम्म कि प्रकाशको खप्की एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समेत पटकपटक खानुपरेको थियो । स्रोतका अनुसार उनले आफ्नो लाइनबाहेकका कुनै पनि नेतासँग हतपति प्रचण्डलाई भेट गराउँदैनथे ।
त्यसो त प्रचण्डको परिवार यौन सम्बन्ध राख्ने र सम्बन्धविच्छेद गर्दै अर्को विवाह गर्ने मामिलामा अरूभन्दा निकै अघि छ । यसअघि प्रचण्डका छोरीहरूले पनि पहिलो पतिसँग सम्बन्धविच्छेद गर्दै दोस्रो विवाह गरेका छन् । छोरीहरूले दोस्रो विवाह गर्नुका पछाडि प्रचण्डपत्नी सीताको प्रमुख भूमिका रहेको बताइन्छ भने छोरा प्रकाशले पहिली श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुमा पनि सीताकै हात रहेको बताइन्छ । अहिले विनासँगको सम्बन्धबारे पनि प्रचण्डपत्नी सीतालाई राम्रो जानकारी थियो । श्रोतले भन्यो, ‘विनासँग घुमघाम गर्दा लाग्ने खर्च आमा सीताले नै उपलब्ध गराउँदै आएकी थिइन् ।’ नयाँ पारसका रूपमा समेत चिनिएका प्रकाश दाहाललाई विना मगरसँग भगाउन पनि आमा सीताको हात रहेको आशङ्का गरिएको छ ।
यसैबीच केटी लिएर भागेको पुष्टि गर्दै एमाओवादी पोलिटब्युरो बैठकले प्रकाशलाई नेवाः राज्य समितिको सदस्य पदबाट निलम्बन गरेको छ । पार्टी मुख्यालय कोटेश्वरमा बसेको बैठकले प्रकाशलाई लागेका आक्षेपका विषयमा छानबिन गर्न सजिलो होस् भनेर सदस्य पदबाट निलम्बन गरिएको प्रवक्ता दीनानाथ शर्माले बताए । उनले भने, ‘पत्रपत्रिकामा प्रकाश दाहालका सम्बन्धमा आएका समाचार तथा उनका विषयमा छानबिन र अनुसन्धान गर्न सजिलो होस् भनेर सदस्य पदबाट निलम्बन गरेका छौँ ।’ स्रोतका अनुसार बैठकमा अध्यक्ष दाहालले नै आफ्ना पुत्र प्रकाशलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
बैठकमा सहभागी एक सदस्यले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘तपाईंहरूलाई भन्न गाह्रो पनि लाग्ला, तर हेडक्वार्टरमा बस्ने कुनै कार्यकर्ताबारे अनेकथरी कुरा बाहिर आउनु पार्टीका लागि राम्रो होइन, छानबिन हुन्जेलसम्म प्रकाशलाई राज्यसमिति सदस्यबाट निलम्बन गर्नुपर्छ ।’ बैठकमा निकै भावुक रूपमा प्रस्तुत भएका दाहालले छोराको व्यवहारबाट सबैभन्दा घाटा आफूलाई भएको दुखेसो पोखेका थिए ।