लण्डन । नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपाली हास्य चलचित्र वडा नम्बर ६ बेलायतमा पनि प्रदर्शन हुने पक्का भएकोछ । ६ एकान ६ को अत्यधिक सफलता प्राप्त गरेपछि बनेको दीपा र दीपकको यस चलचित्रले त झन् नयाँ किर्तिमान नै कायम गरी करोडौंको क्लवमा प्रवेश गर्न सफल भएको थियो । चलचित्र प्रदर्शनी हुन् नपाउंदै उपत्यका बाहिरबाट ३५ लाखको विनिमय ग्यारेन्टी प्राप्त भएको थियो । ६ एकान ६ मा जस्तै हाँस्य व्यंग्यमा मात्र आधारित नरहेर यो वडा नम्बर ६ चाहिं विशेषगरी एउटा कथावस्तुमा आधारित रहेर बनेकोछ । माता सरस्वती मुभिजको ब्यानरमा बनेको यस चलचित्रमा दीपक, दीपा, जितु, प्रियंका, दयाहांग, माग्ने बुढा, धुर्मुस, राजाराम, सिताराम कट्टेल, केदार घिमिरे, विल्सन बिक्रम जस्ता कलाकारहरुको समीश्रण रहेकोछ । उक्त सिनेमालार्इ उज्वल घिमिरेले निर्देशन गरेका हुन् भने कार्यकारी निर्देशकको भूमिका निर्मल शर्माले निभाएका छन् ।
प्रियंका कार्की र दयाहांग बाहेकका प्राय सबै कलाकारहरुको यस सिनेमामा लगानी रह्र्कोछ । त्यसै भएर होला जितु नेपालले थोरै लगानी गरेर पनि निर्माता बन्न पाइँदोरहेछ भनेर रमाइलो गरेका थिए । जे भए पनि यो सिनेमा पनि दर्शकहरुले अत्यधिक रुचाएको भन्ने कुराको हालै नेपालमा प्रदर्शनी हुँदाको दृश्यले प्रमाणित गर्दछ । हाँस्य कलाकारहरुको वास्तविक छविभन्दा अलग्गै खालको अभिनय देख्न सकिने कुरा दर्शकहरुले बताएकाछन् । बेलायतको अल्डरसटस्थित द किंग सेन्टरमा आउने अक्टुबर २४ तारिख का दिन प्रदर्शन हुन लागेको कुरा आयोजक वीरेन खड्काले बताएकाछन् । उक्त सिनेमा हेर्दा हाइ आउने र निन्द्रा लाग्ने समस्या आउनेछैन भन्दै दीपक राज गिरीले दर्शकहरुलाई ढुक्क भएर सिनेमा हेर्न भनेका छन् । त्यस्तैगरी नायिका प्रियंका कार्कीले पनि यस सिनेमामा निकै रमाइलो भएको र दर्शकहरुले पनि त्यस्तै रमाइलोको अनुभूति गर्ने कुरा बताएकिछिन् । नेपालमा खस्किँदै गएको चलचित्र व्यवसायमा यस चलचित्रले केहि उर्जा थपेकोछ । विदेशमा बस्ने नेपालीहरुलाई पनि यसले पक्कै पनि मनोरंजन दिलाउनेछ र आगामी अक्टुबर महिनामा बेलायतमा प्रदर्शन हुने भएको हुँदा बेलायतबासीलाई पनि यसले पक्कै पनि मनोरंजन दिलाउनेछ ।
प्रतिक्रिया