दश वर्षको उमेरमा खेलकुदलाई आत्मसात् गरेका मीनकृष्णको खेलजीवन जति तारिफयोग्य छ, त्यति नै तारिफयोग्य छ राजनीतिक जीवन पनि । छोटो समयमा खेलकुदमा पाएको सफलताले उनको व्यक्तित्वलाई चर्चाको शिखरमा मात्रै सीमित नराखी राजनीतिक वृत्तमा समेत स्थापित गर्न सफल भयो । रंगशालादेखि सडकसम्मको उत्कृष्ट प्रदर्शनले मीनकृष्ण अहिले नेपाली काङ्ग्रेसका चर्चित युवानेता बन्न पुगेका छन् । वर्तमान अवस्थामा खेलकुद र राजनीतिलाई एकसाथ सफलताका साथ डोर्याइरहेका मीनकृष्णले यसैमा आफ्नो भविष्य पनि देखेका छन् । खेलकुद र राजनीतिलाई एक सिक्काको दुई पाटोको रूपमा विश्लेषण गर्ने उनले आगामी दिनमा पनि यी दुवै पाटालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । खेलकुदकै कारणले आफ्नो व्यक्तित्व निर्माण भएको र आमजनताले चिनेको बताउने उनले अहिले सामाजिक क्षेत्रमा गरेको योगदानको पनि खुलेरै चर्चा भएको छ । बाटाघाटो र मठमन्दिर निर्माणदेखि दीनदुःखीको सेवामा उनले गरेको प्रत्यक्ष र अप्रत्यक्ष सहयोगले उनको व्यक्तित्वमा अझ चारचाँद लागेको छ । यिनै नेपाली काङ्ग्रेसका चर्चित युवानेता, खेलकुदका चर्चित खेलाडी, प्रशिक्षक र पदाधिकारीको वास्तविक जीवनबारे खोतल्ने प्रयास गरिएको छ ।
मार्सल आर्टस्का महानायक ब्रुस्लीको खेल देखेर मार्सल आर्टस्तर्फ आकर्षित भएका मीनकृष्ण महर्जनले दश वर्षको उमेरदेखि कराते खेल्न थालेका थिए । घरनजिकैको चापागाउँ डोजोबाट कराते खेल्न थालेका उनले सुरुमा करातेलाई सौखका रूपमा लिए पनि प्रशिक्षण गर्दै जाँदा सफल खेलाडी बन्ने सपना देखेका थिए । यसरी उनले आफ्नो सपना पूरा गर्न विभिन्न समयमा भिन्नभिन्न ठाउँमा तत्कालीन समयका चर्चित गुरुहरू राजेन्द्र कपाली, युवराज लामा र दावा गुरुङसँग प्रशिक्षण लिएका थिए । चार वर्षको कठोर प्रशिक्षणपश्चात् मीनले पहिलोपटक ०४४ सालमा आफ्नो प्रतिभा देखाउने अवसर पाएका थिए । जसमा उनी अब्बल खेलाडी सावित भएका थिए ।
भर्खरै प्रतिबन्ध हटेका कारणले त्यसबेला करातेका खासै प्रतियोगिताहरू हुँदैनथे । वर्षको एकचोटि हुने अल नेपाल च्याम्पियनसिप कराते प्रतियोगिताले खेलाडीको भविष्यको मापन गर्दथ्यो । मीनकृष्णले यो प्रतियोगिता करातेमा लागेको पाँच वर्षपछि मात्र खेल्न पाएका थिए । १४ वर्षका महर्जनले उक्त च्याम्पियनसिपमा ३५ केजीमा प्रतिस्पर्धा गरेका थिए । आफ्नो पहिलो भिडन्तका लागि निकै हौसिएका महर्जनले पहिलो सहभागितामै स्वर्ण पदक जितेर वाहवाही बटुलेका थिए । महर्जनका लागि कोसेढुङ्गा सावित भएको यो प्रतियोगितापश्चात् उनले चितवन र धरानमा आयोजना भएको यही प्रतियोगितामा लगातार स्वर्ण पदक जितेर ह्याष्ट्रिक गर्न सफल भएका थिए । आफ्नो खेलजीवनको आठ वर्षको अन्तरालमा विभिन्न कठिनाइका बाबजुद पनि उनले आफूलाई अब्बल सावित गरेका थिए । यसरी करातेप्रतिको गहिरो लगाव र राष्ट्रियस्तरमा पाएको सफलताले महर्जन आफ्नो समूहमा चर्चित र उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए ।
करातेमा उत्कृष्ट खेलको प्रदर्शन गरेर आफूलाई प्रभावशाली खेलाडीको रूपमा महर्जनले स्थापित गरेको कुरामा सायदै दुईमत होला । आफ्नो खेलजीवनमा उनले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनलाई नियाल्दा नै यो कुराको पुष्टि हुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय करातेका प्रतियोगितामा सहभागी भएर थुप्रै पदक भित्याएर मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्याउन उनी सफल भएका थिए । आफ्नो तौल समूहमा सधैं उत्कृष्ट रहेका महर्जनले अन्तर्राष्ट्रियस्तरमा पनि यो दबदबालाई कायम राखेका थिए । त्यसबेला उनको प्रतिद्वन्द्वी भनेको खुद उनी नै थिए । महर्जनसँग प्रतिस्पर्धा गर्नु भनेको हारलाई स्वीकार गर्नु थियो । तसर्थ प्रायजसो खेलाडी उनीसँग खेल्न डराउँथे । कोही भिडन्तमा उत्रिइहाल्यो भने पनि उसले पराजयको मुख देख्नुपथ्र्यो ।
त्यस्तो प्रतिभावान खेलाडी भएर पनि महर्जनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साफ’मा मुलुकका लागि खेल्ने अवसर भने पाएनन् । यस्तो हुनुमा उनी छनोट नहुनु र अन्य कारणले नभई सातौँ साफसम्म करातेलाई सहभागिता नगराउनुले हो । अहिले उनलाई यो प्रतियोगिता अर्थात् साफमा प्रतिस्पर्धा गर्न नपाएकोमा निकै पछुतो लागेको छ । एउटा सम्भावित पदकविजेता खेलाडीको रूपमा रहेको बेलामा महत्वपूर्ण प्रतियोगिता खेल्नबाट विमुख हुनुपर्दा अहिले पनि उनलाई आफ्नो खेलजीवन अपूरोजस्तै लागेको छ । जब सन् १९९९ मा नेपालमा आठौँ साफको आयोजना भयो, त्यसबेला करातेलाई पहिलोपटक साफ गेममा समावेश गरिएको थियो । दुर्भाग्य मीनकृष्णको, त्यसबेला उनी सक्रिय खेलजीवनबाट सन्न्यास लिएर प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए । आठौँ साफमा नेपालले १५ समूहमा १४ स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान बनाउँदा महर्जनले उक्त टोलीको राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । कराते टोलीलाई ऐतिहासिक सफलता दिलाउन महर्जनको अहम् भूमिका रहेको थियो । उनले त्यसबेला मुलुकलाई सफलता दिलाउन साम, दाम, डण्ड, भेद चारै नीति अवलम्बन गरेका थिए ।
प्रशिक्षकको रूपमा दोस्रो इनिङ शुभारम्भ गरेका महर्जनले त्यहाँ पनि खेलाडीझैं सफलताको स्वाद चाखेका थिए । मिहिनेत, परिश्रम र लगनशीलतालाई सफलताको कडी मान्ने महर्जनले पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएका थिए । सो क्रममा उनले मलेसियामा भएको पाँचौँ सिनियर एसियन कराते च्याम्पियनसिप तथा रेफ्री सेमिनारमा उत्कृष्ट रेफ्री घोषित भएका थिए । त्यस्तै, दक्षिण कोरियाको बुसानमा भएको १४औँ एसियन गेममा जज र श्रीलंकामा भएको दशौँ सागमा रेफ्रीको भूमिका सफलताका साथ निभाएका थिए । उनले सन् १९९२ मा थाइल्याण्डमा किकबक्सिङको तीनमहिने विशेष प्रशिक्षण र सन् १९९७ मा जापानमा दुईमहिने तालिम लिएका छन् । यसबाहेक नेपालमा भएका दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा महर्जनले सफलताका साथ रेफ्रीको भूमिका निभाइसकेका छन् ।
सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि ०४६ मा मीनकृष्ण राजनीतिमा प्रवेश गरेका थिए । ०४६ सालमै काङ्ग्रेसको चारआने सदस्य लिएर राजनीतिमा होमिएका महर्जनको मुख्य उद्देश्यचाहिँ सामाजिक कार्य गर्नु थियो । सामाजिक कार्य गर्न राजनीतिक पार्टीको हाँगा समाउँदा सहज हुने भएकोले उनले आफ्नो उद्देश्य पूर्ति गर्न राजनीतिलाई आत्मसात् गरेका थिए । अझ सर्वमान्य नेता गणेशमान सिंहसँग निकै प्रभावित महर्जनले उहाँको त्याग, तपस्या देखेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेको खुलासा गरेका छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि ०४६ सालमा भएको आन्दोलनमा महर्जनले ललितपुर जिल्लाबाट सक्रिय भूमिका निभाएका थिए । लोकतान्त्रिक आन्दोलन सफल पार्न आफ्नो ज्यानसमेत जोखिममा पारेर महर्जन सडकमा उत्रिएपछि उनी काङ्ग्रेसका चर्चित नेता खुमबहादुर खड्काका नजरमा परेका थिए । पछि नेता खड्काकै प्रेरणाले उनले आफ्नो सक्रिय राजनीतिलाई अगाडि बढाएका थिए । अहिले पनि महर्जन खड्काका दाहिनेहातको रूपमा चिनिन्छन् ।
राजनीतिमा सक्रिय रूपमा लागेको १२ वर्षपछि अर्थात् ०५८ सालमा मीनकृष्ण तरुण दलको केन्द्रीय सदस्य बन्न सफल भएका थिए । त्यसपछि ०६० सालमा महाविधेशन प्रतिनिधि बन्दै चितवनमा भएको महाधिवेशनमा मध्यमाञ्चलबाट अत्यधिक बहुमत पाउँदै तरुण दलको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि वर्तमान अवस्थासम्म तरुण दलको खेलकुद विभाग प्रमुख भएर कार्य गरिरहेका छन् । राजनीतिमा बढदो लगाव र समर्पणको भावनाले गर्दा महर्जनको व्यक्तित्वले पनि शिखर चुम्दै गयो । यसैको प्रतिफलको रूपमा ०६७ सालमा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा उनी अत्यधिक बहुमतले महासमितिको सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै संविधानसभाको चुनावमा क्षेत्रीय कमिटीले उम्मेदवारका लागि एक नम्बरमा छनोट गरेर पठाए पनि नेपाली काङ्ग्रेसको संसदीय समितिमा छलछल हुँदा महर्जन टिकट पाउनबाट वञ्चित भएका थिए । र पनि, पार्टीमा अहम् भूमिका निभाएबापत मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रिय खेलकुद परिषद्मा सदस्यमा नियुक्ति भई कोषाध्यक्ष बन्न सफल भएका थिए ।
खेलकुद होस् या राजनीति दुवैतर्फ सफलताको स्वाद चाख्दै गएका मीनकृष्णको व्यक्तित्व अहिले दिनप्रतिदिन शिखरतर्फ उन्मुख भइरहेको छ । निडर र स्पष्ट वक्ताको रूपमा परिचित महर्जनले खेलकुद र राजनीतिमा आफूलाई यसरी नै प्रस्तुत गरिरहेका छन् । खेलाडीको हकहितदेखि कार्यकर्ताको सुखदुःखलाई आत्मसात् गर्दै यसको समाधानका लागि राष्ट्रिय खेलकुद परिषद्देखि पार्टी कार्यालयसम्म महर्जनले आवाज बुलन्द पार्दै आएका छन् । महर्जनको यही सहयोगी भावनाले गर्दा आज उनी छोटो समयमै खेलकुद र राजनीतिमा ठूलो छलाङ मार्न सफल भएका छन् । ललितपुर जिल्लामा मात्र नभई नेपाली काङ्ग्रेसको दोस्रो पुस्ताका चर्चित युवानेताहरूमा उनको नाम अग्रिपङ्क्तिमा आउँछ । यो कुराको पुष्टि काठमाडौंमा सम्पन्न भएको १२औँ महाधिवेशनमा अत्यधिक बहुमत ल्याएर महासमितिको सदस्यमा निर्वाचित हुनुलाई लिन सकिन्छ ।
यसरी राजनीतिमा आफ्नो उज्ज्वल भविष्य देखेका महर्जनले भविष्यमा खेलकुदकोे कायापलट गर्ने सपना देखेका छन् । भविष्यमा पार्टीले आफूलाई खेलकुद हाँक्ने जिम्मेवारी दिएमा खेलकुदको स्वरूप नै परिवर्तन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । खेलकुदसँगको आफ्नो नाता निकै गहिरो भएको बताउने महर्जनले खेलकुदको समग्र विकासका लागि आफूले युवा अवस्थामा बगाएको रगत–पसिनालाई त्यसै खेर जान नदिने विश्वास प्रकट गरेका छन् । यसरी राजनीतिलाई कर्मक्षेत्र बनाउँदै समग्र खेलकुदको काँचुली फेर्ने र नयाँ नेपालसँगै नयाँ खेलकुदको तस्बिर महर्जनले देखेका छन् ।
वर्तमान अवस्थामा खेलकुदमा पूरैै राजनीतीकरण गरिएकोले खेलकुद अवस्था डामाडोल भएको उनको कथन थियो । खेलकुद क्षेत्रबाटै विस्थापित भएको व्यक्तिलाई माओवादीले राखेपको सर्वेसर्वा बनाएकै कारणले खेलकुद लथालिङ्ग र भताभुङ्ग भएको महर्जनले आरोप लगाएका छन् । त्यस्तै आफ्नो स्वार्थ पूरा गर्न ओलम्पिक कमिटी विघटनका लागि सदस्यसचिवले प्रस्ताव गरेकोमा उनले असहमति प्रकट गरेका छन् । सर्वोच्च र अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई कदापि विघटन गर्न नमिल्ने भन्दै त्यो राखेपको अधिकार क्षेत्रमा नपर्ने प्रस्ट पारेका थिए । नेपालको कानुनले गर्न नसक्ने कुरामा राखेपले हस्तक्षेप गर्नु कदापि नमिल्ने उनले जिकिर थियो ।
छैटौँका कराते स्वर्णविजेता सम्मानित
सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदको करातेतर्फ स्वर्ण जितेका खेलाडीलाई नेपाल सोतोकान कराते सङ्घले सम्मान गरेको छ । आ–आफ्नो विधामा स्वर्ण जितेका ११ पुरुष र १० महिला गरी २१ खेलाडी सम्मानित भएका हुन् । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस हेल्थ क्लबमा सङ्घद्वारा आयोजित प्रथम राष्ट्रिय रेफ्री सेमिनारको उद्घाटनका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले खेलाडीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।
पुरुषतर्फ मुकुन्द महर्जन, विनोद महर्जन, पर्शुराम बास्तोला, मन्डेकाजी श्रेष्ठ, केदारबहादुर सिम्खडा, गणेशबहादुर थिङ, दिगम्बरप्रसाद पन्त, सुनील लामा, भीमबहादुर तामाङ, दीपेन्द्र देउवा तथा सोनाम लामाले स्वर्ण जितेका थिए । त्यस्तै महिला स्वर्ण विजेतामा मल्लिका थापा, अनु अधिकारी, सुभद्रा श्रेष्ठ, विमला तामाङ, सङ्गीता डङ्गोल, पुनम लामा, गंगादेवी अधिकारी, कल्पना बस्नेत, रोजी नगरकोटी तथा सपना लामा रहेका छन् । रेफ्री सेमिनारमा उपत्यकाका तीन गरी १० जिल्लाका पाँच महिलासहित ३५ जनाको सहभागिता रहेको सङ्घका महासचिव दिलेन्द्रगोविन्द वैद्यले जानकारी दिएका थिए ।
चौथो इन्डो–नेपाल सोतोकान कराते सम्पन्न
चौथो इन्डो–नेपाल सोतोकान कराते प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक च्याम्पियन बनेको छ । कुल ४६ स्वर्णमध्ये सर्वाधिक ३२ स्वर्ण जित्दै नेपालले उपाधिमाथि ह्याट्रिक गरेको हो । पहिलो संस्करणमा भारत पहिलो भएको थियो । उक्त प्रतियोगितामा १४ स्वर्ण जितेको भारत दोस्रो भयो । नेपाल सोतोकान कराते सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा भारतका जगजित सिंह तथा महिलामा नेपालकी आशा श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई राखेपका पूर्वसदस्यसचिव केशव स्थापित, नेपाल कराते डो महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा नेपालका दुई सय ५१ तथा भारतका ६५ गरी कुल तीन सय १६ खेलाडीले ४६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
र्याफ्टिङ एन्ड क्यानोइङमा न्यौपाने
नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घको अध्यक्षमा मनबहादुर न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हालै सम्पन्न सङ्घको दोस्रो साधारणसभाले न्यौपानेको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको थियो । सङ्घको पहिलो साधारणसभा ०५९ मा भएको थियो । कार्यसमितिको उपाध्यक्षमा सूर्यप्रसाद जोशी (वरिष्ठ), कृष्णप्रसाद घले तथा विनोदप्रसाद पन्त रहेका छन् । कुमार रानाभाटले महासचिव, सुदीपराज गौतमले सचिव तथा उत्तम बानियाँले कोषाध्यक्षको जिम्मेवारी पाए । नरेश कार्की, हिराबहादुर खाँण, आरके विष्ट, चन्द्रमान लामा, कान्छी बानियाँ, दीपक भुजेल, सरस्वती केसी, गोविन्दप्रसाद थपलिया, राधाकृष्ण भण्डारी, राजु कार्की तथा लालबहादुर थापा सदस्यमा चयन भएका छन् । महेन्द्रसिंह थापा, सन्तोष पन्त तथा सुनीलकुमार भण्डारीलाई उपाध्यक्षमा मनोनीत गरिएको छ । विधानतः अब १० सदस्यको मनोनयन हुन बाँकी छ । राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।
आर्मी र स्पाइनल कर्ड पहिलो
दोस्रो राष्ट्रिय ह्विलचेयर बास्केटबल प्रतियोगिताको पुरुषको उपाधि आर्मीले जितेको छ । त्यस्तै महिलामा स्पाइनल कर्ड इन्जुरी एसोसिएसनको ‘बी’ टिम पहिलो भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घ तथा नेपाल ह्विलचेयर बास्केटबल सङ्घद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले ह्विलचेयर खेलकुद सङ्घलाई २६–७ ले सहजै पराजित गरेको थियो । पहिलो संस्करणको उपाधि पनि आर्मीले नै जितेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलाको फाइनलमा स्पाइनल कर्ड इन्जुरी एसोसिएसनको ‘बी’ टिमले आफ्नै ‘ए’ टिमलाई ५–४ को झिनो अन्तरले निराश पारेको थियो । पुरुषमा आर्मीका हिमाल अर्याल तथा महिलामा उपाधि विजेता टोलीकी ज्योति अर्याल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए । दुईदिने प्रतियोगिताको पुरुषमा पाँच तथा महिलामा दुई टिमले प्रतिस्पर्धा गरेका थिए । महिलाको स्पर्धा पहिलोपटक राखिएको हो ।
कोरियामा श्रेयालाई एक स्वर्ण र एक रजत
दक्षिण कोरियाको जेजु टापुमा सम्पन्न भएको १२ जेजु इन्टरनेसनल स्पोर्टस् फर अल तेक्वान्दो च्याम्पियनसिपमा श्रेया प्रधानले एक स्वर्ण र एक रजत पदक जित्न गर्न सफल भएकी छिन् । सो कुराको प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री अनुयाज गौतमले जानकारी गराएका थिए । श्रेयाले फिनवेटमा स्पाइरिङतर्फ चीनकी प्रतिद्वन्द्वी छन वान थिङलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी थिइन् । नेपाललगायत अमेरिका, जर्मनी, स्पेन, चीन, जापान, काजाकिस्तान, नर्वे, ताइवानलगायत २२ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगिताको व्यक्तिगततर्फको पुम्से गुम्गाङमा दोस्रो हुँदै रजतपदक प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया