तब बन्नेछ नयाँ नेपाल -केशव देवकोटा

तब बन्नेछ नयाँ नेपाल -केशव देवकोटा


(नेपालको वामपन्थी राजनीतिमा देखापरेको प्रचण्ड प्रवृत्तिका बारेमा विस्तृत छलफल आवश्यक छ )
कुनैबेला माओवादी सशस्त्र सङ्घर्षमा थियो । माओवादीको सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथ भन्ने थियो । जनयुद्धलाई माओवादीले प्रयोगको उचाइमा पुर्‍याएर खसालिदियो । अब नेपालमा जनयुद्ध एउटा कथा बनेको छ । माओवादीले आफ्नो सिद्धान्तमा माओवाद सँगसँगै माओ विचारधारालाई खुला गर्‍यो । त्यसैले यतिबेला माओवादी पार्टी माओवादबाट विचारधारातर्फ र्फकंदै छ । उसले प्रचण्डपथको त नाम नै लिन छाडेको छ यद्यपि माओवादीका नेतृत्वकर्ता प्रचण्ड नै हुनुहुन्छ र प्रचण्डपथ माओवादीभित्र मात्र नभएर नेपालका सबै कम्युनिस्ट पार्टीभित्र हावी भएर रहेको छ । तर, प्रचण्डपथभित्रको अन्तरवस्तु फेरिएको छ अर्थात् यो कुनै कम्युनिस्ट सिद्धान्त नभएर एकप्रकारको विकृतिका रूपमा नेपाली समाजमा जरा गाड्न थालेको छ ।
हालै सम्पन्न माओवादीको पोलिटब्युरोको बैठकपछि प्रचण्डपथ विकृति बनेको खुलासा हुन थालेको हो । आपसमा कट्टर विरोधीका रूपमा प्रस्तुत हुँदै आउनुभएका माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण र डा. बाबुराम भट्टर्राई एकाएक आपसमा मिलेर अध्यक्ष प्रचण्डका विरुद्ध आलोचनामा उत्रिदिँदा प्रचण्डको निदहराम भएको यथार्थ प्रकाशमा आयो । यसका कारण ‘प्रचण्ड तेज’ घट्न पुगेको छ । उहाँ गुनासो गर्न थाल्नुभएको छ- आफ्नाहरू नै बिराना भइदिए । वास्तवमा प्रचण्डका केही यस्ता विशेषताहरू रहेका छन्, जसले नेपालको कम्युनिस्ट आन्दोलन मात्र नभएर समग्र राष्ट्रिय राजनीतिलाई नै प्रभावित गरेको छ । प्रचण्डको प्रमुख विशेषता भनेको जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे सोच्नुहुन्छ त्यो भन्नुहुन्न । अर्थात्, उहाँको मन, वचन र कर्म प्रायः फरक हुने गर्छन् । उहाँ जे पनि भन्दिनुहुन्छ । जे पनि गरि्दनुहुन्छ । प्रचण्डका भनाइ व्यङ्ग्य हुन् कि यथार्थ हुन् जोकोहीलाई बुझ्न र छुट्याउन कठिन हुन्छ । नेपालको असली मालिक भारत भन्दिनुभयो । धेरै हङ्गामा भएपछि उहाँले त्यसलाई व्यङ्ग्य गरेको दाबी गरिदिनुभयो । उहाँ भारत जानुभयो, त्यहाँ हिन्दीमा भाषण गरिदिनुभयो । भारतीय दूतावासले कार्यक्रम आयोजना गरे पनि उहाँ हिन्दीमै प्रस्तुत हुनुहुन्छ । भारतसँगको विशेष सम्बन्ध पनि भन्नुहुन्छ । चीन र भारतसँग समान सम्बन्ध हुनुपर्छ पनि भन्नुहुन्छ । तर, भन्नुहुन्छ- म देशभक्तिविरुद्ध कसैसँग सम्झौता गरि्दनँ । उहाँ नेपाल र भारतको सीमामा पुग्नुभयो । त्यहाँ उहाँले भन्दिनुभयो- हाम्रो सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडा -विशाल नेपाल) हुनुपर्छ । तर, नेपालभित्रै देशलाई विभिन्न जातीय राज्यमा विभाजन गरेर सीमा छुट्याउन पनि व्यस्तै हुनुहुन्छ । त्यसलाई उहाँले नाम दिनुभएको छ- नयाँ नेपाल । पुरानो नेपालको नारा नयाँ नेपालको व्यवहार । अर्थात्, विशाल नेपालको नारालाई रोक्न नयाँ नेपालको नारा । माओवादीको खरिपाटी बैठकले नेपाली काङ्ग्रेसलाई प्रमुख दुश्मनका रूपमा ठहर गर्‍यो । तर, प्रचण्ड पुग्नुभयो गिरिजाप्रसादलाई भेट्न सिङ्गापुर । माओवादीको अर्को केन्द्रीय समितिको बैठकले निर्णय गर्‍यो- देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिसँग एकता गर्ने । तर, प्रचण्डले उच्चस्तरीय संयन्त्रका नाममा एकता गरिदिनुभयो काङ्ग्रेस र एमालेसँग । जुन संयन्त्रले माओवादीलाई नै न आन्दोलन न सरकारको अवस्थामा पुर्‍यायो । अहिले गिरिजाप्रसादको देहावसान सँगसँगै उच्चस्तरीय राजनीतिक संयन्त्रको पनि अवसान भएको छ । सबै कम्युनिस्टलाई मिलाएर कम्युनिस्ट केन्द्र बनाउने कुरा गर्नुभयो- तर चिढ्याइदिनुभयो अन्य वाम पार्टीहरूलाई । राष्ट्रिय सहमतिको कुरा गर्नुहुन्छ । तर, व्यवहार देखिन्छ सबै दललाई चिढ्याउने । यसरी नेपालमा प्रचण्डका व्यवहार अरूका लागि आलोचना गर्ने विषय त भएकै थिए अब माओवादी पार्टीभित्रै पनि प्रचण्डको आलोचनाले प्रवेश पाएको छ । सबैतिर र सबै अवस्थामा समाज नीतिनियम र अनुशासनमा चलेको हुन्छ । त्यसले मात्र समाजलाई निश्चित र समाजोपयोगी गन्तव्यमा पुर्‍याउँछ । जब नीति, नियम र अनुशासनका पर्खालहरू तोडिन्छन् तब सवै कुरा छताछुल्ल हुन्छ । समाज अस्तव्यस्त हुन्छ, सामाजिक व्यवहारहरू नियन्त्रणबाहिर पुग्छन् । प्रकृतिको नियम हो- सबै पार्टी, सबै समाज र सबै देशमा यो नियम ढिलोचाँडो लागू हुन्छ । विकृत नेपाललाई नयाँ नेपाल भन्ने र विसङ्गतिहरूलाई प्रचण्डपथ भन्ने अवस्था आउनु राम्रो होइन । नेपालको वामपन्थी राजनीतिमा देखापरेको प्रचण्ड प्रवृत्तिका बारेमा विस्तृत छलफल आवश्यक छ । प्रचण्डको गलत चिन्तन र सङ्गतले उहाँलाई असफल बनायो । यथार्थमा त्यो असफलता उहाँको मात्र होइन । उहाँका सबै सहयोगी र शुभचिन्तकले यसबारे गम्भीर हुनैपर्छ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्ने उखान नै छ तर यसरी खेद्ने प्रवृत्ति राम्रो होइन । विगतको समीक्षा गर्दै सबै मिलेर देशलाई अनिर्णयको बन्दीबाट मुक्ति दिनुपर्‍यो । देशमा शान्ति र संविधानले प्रमुखता पाउनुपर्‍यो । पुराना उपलब्धिलाई ऊर्जाका रूपमा लिनुपर्‍यो । सबै पार्टीमा देखिएका विकृति र विसङ्गतिलाई सबैले अनुभवका रूपमा लिएर हटाउनुपर्‍यो । समय बलवान छ जसलाई कसैले ढाँट्न सक्तैन । पर्छार्न सक्तैन । यस कुरालाई सबैले स्वीकार गर्नुपर्‍यो । अनि मात्र सबै समस्याको समाधान हुनेछ । अनि बन्नेछ नेपाल, अनि अघि बढ्नेछन् नेपाली ।