जनताको मुक्तिका लागि हिँडेकाहरू आफैं विचल्लीमा

जनताको मुक्तिका लागि हिँडेकाहरू आफैं विचल्लीमा


‘यतिबेला हामी जवानी लुटिएकी युवतीजस्तै बेसहारा भएका छौँ । एमाओवादी नेतृत्वले हाम्रो जवानीलाई कागतीको रस निचोरेजस्तै निचोर फ्याँक्यो । सोचेका थियौँ, ‘माओवादी आन्दोलनबाट आमजनतालाई गरिब र पीडाबाट मुक्ति दिइने र समृद्ध नेपालको नेपाली बन्नेछौँ । तर, कथा ठिक उल्टो भयो,’ माओवादी लडाकुबाट वाईसीएल बनेका खोटाङ, सिम्पानीका पैंतीस वर्षीय सुदन राईले भने, ‘आन्दोलनमा लागेर आफ्नो र परिवारको बिचल्ली भयो ।’ ‘बिहान–बेलुकाको जोहो गर्न मुस्किल बनेको छ,’ गत शुक्रबार भृकुटीमण्डपमा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको कार्यालय परिसरबाहिर भेटिएका राईले भने, ‘पार्टीले हामीलाई घर न घाटको बनायो ।’ उनले थपे, ‘छाडौँ भने यही (माओवादी) पार्टीले जवानी लुटिसक्यो, टाँसिएर बसौँ भने सर्वस्व सकिसक्यो ।’
‘कोठाको भाडा नतिरेको चार महिना भयो, पेटभर खाना नखाएको पनि धेरै भयो, यही अवस्थामा अहिलेकै अवस्थामा पहाड घर खोटाङ जान सक्ने अवस्था पनि छैन, गए पनि त्यहाँको कमाइले पेटभर खान पुग्दैन,’ राईले थपे । उनले अहिलेकै अवस्थामा गाउँ गएर काम गर्न सक्ने अवस्था पनि नरहेको बताए । गाउँका भाइबहिनीलाई हामीले जुन उद्देश्यले पार्टीमा ल्याएका थियौँ त्यो पूरा गर्न सकेनौँ, गाउँका धेरै युवाको भविष्य बर्बाद पार्‍यौँ, त्यसका नाइके हामी कसरी मुख देखाउन जाने गाउँमा,’ उनको गुनासो थियो ।
आफू गाउँ नगई यतै राजधानीमा कतै सटर भाडामा लिएर तरकारी व्यापार गरेर बस्ने बताए । उनले भने, ‘त्यसका लागि साथीहरूसँग ऋण खोजिरहेको छु, अब पार्टी कामभन्दा पनि आफ्नै काममा समय खर्चन्छु ।’ ‘जनमुक्ति सेनाबाट वाईसीएल भएका म मात्र होइन धेरै साथीहरूको हालत मेरोजस्तै छ, उनीहरूको आर्थिक अवस्था निकै दयनीय छ,’ उनले थपे, ‘नेताको वरिपरि घुम्ने र उनीहरूको चाकडी गर्नेहरूले त राजधानीका अलिसान महल ठड्याएका छन् ।’ ‘हामीलाई पहिले पार्टीले खर्च दिन्थ्यो, तर, अहिले उल्टै लिन्छ,’ राईले भने, ‘यतिबेला हामी त भिखारी भएका छौँ, भिखारी ।’
गुल्मीतिर स्थायी घर भएका पूर्वसभासद्समेत रहेका वाईसीएल नेता चन्द्रबहादुर सागरको नेतृत्वमा रहेर वाईसीएलको जिम्मेवारी पूरा गर्दै आएको जानकारी गराउँदै उनले अहिले तिनै सागरले पनि वास्ता गर्न र चिन्न छाडेको बताए । राईले भने, ‘हामीले उठाएको कुनै पनि समस्या न हाम्रा वाईसीएलका नेताले बोल्छन् न त पार्टीकै नेताले । त्यसैले पार्टीको सम्पर्कभन्दा टाठा रहेर व्यवसाय गरेर बस्ने सोच बनाएको छु, हेरौँ कत्तिके सफल भइन्छ,’ उनले नेताहरूप्रति आक्रोश पोख्दै भने ।
वाईसीएलका ललितपुर जिल्ला प्रमुख विश्वासले पनि वाईसीएलमा लागेका साथीहरूको अवस्था दयनीय भएको बताए । ‘वाईसीएलमा लागेको साथीहरू सम्पर्कमा चाहिँ हुनुहुन्छ, तर, कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने जानकारी छैन,’ उनले भने, ‘साथीहरूको अवस्था दयनीय छ, उनीहरूलाई बिहान–बेलुकाको खानेकुरा जोहो गर्दैमा ठीक छ ।’ धेरै साथीहरूले पार्टीकामलाई भन्दा पनि आफ्नो दैनिकी चलाउनका लागि व्यापार–व्यवसायमा लागेको भन्ने जानकारी पाएका छौँ,’ विश्वासले थपे, ‘हामी आफैं पनि समस्यामा रहेकाले पहिलेको जस्तो नियमित सम्पर्क र भेटघाटमा छैनौँ ।’
‘वाईसीएलका धेरै कार्यकर्ता गाउँ फर्किएर आफ्नो खेती–किसानीमा लागेका छन्, केही राजधानीमै रहेर विभिन्न रोजगारी गरिरहेका छन्,’ उनले भने, ‘आर्थिक सङ्कटका कारण अहिले हामी सबै छिन्नभिन्न भएका छौँ र आ–आफ्नो सोचाइका साथ अघि बढेका छौँ ।’ ‘पार्टीको काम पर्दा सम्पर्कमा आउने नत्र नआउने गर्छौं,’ उनले भने, ‘सुरुमा पार्टीकै भर पर्दा अहिले समस्या भएको छ । वाईसीएलका नेता तथा कार्यकर्ता अहिले बिहान र बेलुकाको जोहो गर्न र कोठाभाडा तिर्न नसकेर भागी–भागी हिँड्नुपरेको छ ।’ ‘पहिलेको जस्तो सामूहिक बसाइ पनि छैन, पहिले सँगै रहने साथीहरूसँग अहिले महिनौँसम्म पनि भेट हुन सक्दैन,’ उनले भने ।
आर्थिक अभावका कारण आफू पनि विशेष काम परेको बेलामा मात्र पार्टीको सम्पर्कमा जाने गरेको बताउँदै उनले आफू अर्गानिक खेतीतिर लागेका बताए । ‘पार्टीले केही नहेर्ने भएपछि आर्थिक जोहोेका लागि त केही न केही गर्नै पर्‍योे, त्यसैले हामीले ललितपुरमा अर्गानिक खेतीको व्यवसाय सुरु गर्न लागेका छौँ’ उनले थपे । आफ्नो ललितपुर नै कार्यक्षेत्र भएकाले ललितपुरमा तरकारी खेती, च्याउखेती तथा कुखुरापालनको व्यवसाय सुरु गर्न लागिएको हो । उनले भने, हामीले सबै तयारी गरिसकेका छौँ,’ अब अर्गानिक खेतीतिर लागिन्छ र परेको बेलामा पार्टीको काम गरिन्छ ।’
ललितपुरमा स्वरोजगारका कार्यक्रमहरू पनि अघि सार्न लागिएको बताए । ‘आर्थिक अभावमा अहिले स्वरोजगारको कार्यक्रम अघि बढाउन सकिएको छैन,’ उनले भने, ‘यसका लागि हामीले विभिन्न ठाउँमा भनिरहेका छौँ, केही सहयोग पाउनेबित्तिकै त्यो कार्यक्रम अघि बढ्छ ।’ पार्टीले वाईसीएलको सामूहिक बसाइको संरचनालाई अन्त्य गरेपछि धेरै वाईसीएलका नेता तथा कार्यकर्ता आयमूलक कामतिर आकर्षित भएका थिए । उनले भने, ‘हामीहरूले सामूहिक रूपमा बंगुरपालन गरेका थियौँ तर, त्यो सफल नभएपछि अहिले बेग्लाबेग्लै रूपमा आफ्नो काम अघि बढाइरहेका छौँ,’ विश्वासले भने, ‘साथीहरूलाई एकत्रित गर्न केन्द्रीय उत्पादक मञ्च बनाएका थियौँ । तर, त्यो पनि सम्भव भएन र साथीहरू आफ्नो बाटो लाग्न थाले ।’
भक्तपुरमा वाईसीएल इन्चार्ज हेमन्त चौधरी पार्टीको सम्पर्कबाट बिस्तारै टाढिँदै व्यवसायतिर लागेका छन् । उनले भक्तपुरमै कुखुरापालन, च्याउखेती गरेका छन् । स्रोतका अनुसार अन्य आयमूलक कामहरूलाई पनि उत्तिकै अघि बढाएका छन् । पार्टीको काम गर्दा खान र लाउन समस्या भएको भन्दै पार्टी कामलाई भन्दा पहिले आफ्नो भविष्य बनाउनुण्पर्ने भन्दै व्यवसायतिर लागेका हुन् । पार्टीलाई नै हामी चाहिँदैन भने हामीलाई किन पार्टी चाहियो भन्दै उनी व्यवसायतिर लागेका हुन् । त्यस्तै, यसअघिका भक्तपुरकै जिल्ला इन्चार्ज एवम् वाईसीएल उपत्यकाका सहइन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा पनि वाईसीएलको पगरीलाई पूरै त्यागेर समाचार दैनिक पत्रिकाका प्रधानसम्पादक बनेका छन् । त्यस्तै काठमाडांैका इन्चार्ज ज्वालाले पनि व्यवसाय नै सञ्चालन गरेका छन् । उनले पनि खेतीपातीकै काममा हात हालेका छन् ।
वाईसीएल नेता सागर पनि वाईसीएलको नेतृत्वबाट टाठा रहँदै एनजीओतिर लागेका छन् । उनले बेरोजगार युवा सङ्घ नेपाल खोली त्यसको अध्यक्ष बनेका छन् । उनले सम्पूर्ण बेरोजगार युवालाई सङ्गठित गर्ने र रोजगारीका लागि राज्यलाई दबाब दिने भन्दै सङ्घ स्थापना गरेका हुन् । रोजगारीका लागि राज्यलाई दबाब दिन आफूहरू त्यस अभियानमा लागेको उनको भनाइ थियो । पहिलेजस्तो अहिले वाईसीएलमै सक्रिय नभएको जानकारी गराउँदै उनले भने, ‘वाईसीएलका साथीहरू सम्पर्कमा छन्, उनीहरू काम पर्दा आउँछन् नत्र आफ्नै काममा व्यस्त रहन्छन् ।’
‘आमनेपाली जसरी नै बसेका छन् वाईसीएलका साथीहरू पनि अहिले त्यसरी नै बसेका छन्,’ सागरले भने, ‘वाईसीएलका पूर्वनेता दीपशिखालाई लक्षित गर्दै वाईसीएलमा लागेको साथीहरूले तपाईंले जे काम गर्नुभएको छ, उहाँहरूले पनि त्यस्तै गरेका छन् ।’ उनी सबै वाईसीएलले आफ्नो जोहो आफंै गरेको जानकारी गराउँदै भने, ‘साथीहरूले जीविकोपार्जनका लागि विभिन्न व्यवसाय गरिरहेका छन्, यो राम्रो कुरा हो ।’
स्रोतका अनुसार उपत्यकामा खटिएका वाईसीएलका कार्यकर्ताहरू राजधानीका विभिन्न टोलको फोहोर सङ्कलन गर्ने र त्यसबापत घरधनीहरूसँग पैसा लिएर त्यसैबाट चल्ने गरेका छन् । वाईसीएलका एक नेताले भने, ‘अहिले साथीहरू अत्यन्तै कष्टपूर्ण जीवन बिताइरहेका छन्, र उनीहरू बिस्तारै पार्टीको सम्पर्कबाट टाढिँदै गएका छन् ।’ माओवादी स्रोतका अनुसार उपत्यकामा पार्टीको पूर्णकालीन वाईसीएल कार्यकर्ता तीन सयभन्दा बढी छन् । उनीहरू विभिन्न स्थानमा सामूहिक कोठा लिएर बसेका छन् । कतै आक्रमण गर्नु जानुपर्‍यो, कसैको पैसा उठाउनुपर्‍यो, विरोध प्रदशन गर्नुपर्‍यो भने ती वाईसीएलका कार्यकर्ता सामूहिक रूपमा जाने गर्छन् । वाईसीएलका एक नेताले भने, ‘पार्टीको होलटाइमर वाईसीएल पनि छन्, तर तिनीहरूलाई कुनै वास्ता नगर्दा अपराधका घटना बढ्न सक्ने सम्भावन देखिएको छ ।’ उनले थपे, ‘यसबारेमा हामीले पार्टी नेतृत्वलाई पनि जानकारी गराएका छौँ तर, कुनै प्रतिक्रिया आएको छैन ।’
एमाओवादीबाट अलग हुँदै वैद्य समूहको नेपाल कम्युनिस्ट पार्टी–माओवादीमा लागेको वाईसीएलका नेता तथा कार्यकर्ताहरूचाहिँ यतिबेला नयाँ पार्टीको सङ्गठन विस्तारमा लागेका छन् । वाईसीएल नेतृ उमा भुजेलले भनिन्, ‘वाईसीएलमा लागेको साथीहरूको आर्थिक अवस्था दयनीय भए पनि उनीहरू यतिबेला पार्टीका काममा लागेका छन् ।’ अयोग्य भनिएका लडाकु, स्वेच्छिक अवकाश रोजेका लडाकुहरूलाई सङ्गठित गराउने क्रम जारी रहेको भुजेलको भनाइ थियो ।