अस्ट्रेलियाका उत्साही चलचित्रकर्मी

अस्ट्रेलियाका उत्साही चलचित्रकर्मी


ritu-posters-1 – राजन घिमिरे
नेपाली चलचित्रले अब आफ्नो प्रदर्शनको पहुँच र विस्तारलाई फराकिलो पार्न थालेको छ । नेपालमा रहेका सीमित हल र नेपालीमाझ मात्र खुम्चिरहेको चलचित्रको प्रदर्शनले प्राविधिक रूपमा आफ्नो विकास गर्दै प्रदर्शनको क्षेत्रलाई पनि विस्तार गर्न सक्नु समग्र कलाकार र यो क्षेत्रसँग आबद्धता जनाउनेहरूका लागि खुसी र प्रसन्नताको कुरा हो ।
यदि राम्रैसँग व्यवस्थापन गर्न सकियो भने यो चलचित्रको लगानी विदेशमा रहेका नेपालीको माझबाटै उठाउन सकिने अवस्थाको सिर्जना भइसकेको छ अहिले । तर, चलचित्रको कथा र विषयवस्तु चोटिलो हुनुपर्ने र भद्दा अनि अश्लील भने हुनुहुँदैन । पर्दाभित्र विदेशमा रहेका नेपालीको कथा र मर्मलाई पनि छुन सकियो भने विदेशमा रहेका नेपालीका लागि चलचित्रले आफ्नो उपस्थिति झनै बलियो र स्थापित गर्छ भन्न सकिने अवस्था छ ।
खाडी मुलुकलाई छोडेर भन्ने हो भने नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढी भएको मुलुकमा पर्दछ अस्ट्रेलिया । अमेरिका बेलायत र युरोपभन्दा नेपाली सिनेमाको राम्रो र सुखद बजार भएको मुलुक हो अस्ट्रेलिया । अस्ट्रेलियामा रहेका नेपालीको सान, मान र कमाइले उनीहरूलाई नेपाली चलचित्रप्रति माया र सद्भाव अनि चासो बढाउँदै आएको छ । अस्ट्रेलियामा रहेका नेपालीको कमाइ राम्रै भएकाले पनि उनीहरू अस्ट्रेलियामा हुने नेपाली चलचित्रको प्रदर्शन र समारोहमा सकभर आफ्नो उपस्थितिलाई अनिवार्य नै ठान्छन् र त्यस्ता कार्यक्रम छुटाउन चाहँदैनन् । यो उनीहरूले नेपाली चलचित्र र चलचित्रकर्मीप्रति देखाएको माया साथ र सम्मान हो ।
अस्ट्रेलियाको सिड्नीमा नेपालीको सङ्ख्या बढी छ । यसकारणले पनि चलचित्र प्रदर्शन र सांस्कृतिक कार्यक्रमको आयोजना सिड्नीमा बढी हुने गर्दछ । त्यसबाहेक पनि मेलबर्न र कानभेरा नेपाली दर्शक बढी भएका सहर हुन् ।
पछिल्लोपटक अस्ट्रेलिया पुगेका चलचित्रहरूमा ‘लुट’ र ‘६ एकान ६’ ले अस्ट्रेलियावासी नेपालीमाझ आफ्नो प्रभाव राम्रो पारेपछि त्यसपछिका चलचित्र पनि राम्रो चले । होस्टेल, होस्टेल रिटर्नस, ऋतु, सेफ ल्यान्डिङजस्ता चलचित्रले पनि त्यहाँ रहेका दर्शकहरूमाझ सकारात्मक प्रभाव छोड्यो । यसैगरी केही समय अगाडि चलेको बोक्सी र यसै हप्ता चलेको वडा नम्बर ६ ले पनि वाहावाही पायो त्यहाँ । त्यसो त राम्रा र स्तरीय चलचित्रहरूले आफ्नो उपस्थिति जनाइरहेको समयमा केही नराम्रो चलचित्रहरू पनि पुग्यो भने त्यहाँ चलचित्रको बजार बिग्रन सक्ने कुरामा चिन्तित पनि छन् अस्ट्रेलियावासी नेपाली । नेपालबाट नेपाली चलचित्र लिएर जाने एकजना सर्जक हुन् राम रुवाली । उनी विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन् । अस्ट्रेलियामा नेपाली चलचित्रको बजार विस्तार गर्न उनको योगदानलाई उल्लेखनीय मानिन्छ । चलचित्र ठूली, श्री ५ अम्बरेलगायतका थुप्रै चलचित्र अस्ट्रेलिया पु-याएका रुवाली आफूहरू नेपालमा चर्चा पाएकै आधारमा चलचित्रहरू अस्ट्रेलिया मगाउने गरेको कुरा बताउँछन् । उनका अनुसार राम्रोसँग प्रदर्शन गर्न सकियो र राम्रो फिल्म भयो भने अस्ट्रेलियामा मात्र नेपाली रकम १० देखि ४० लाखसम्मको व्यापार गर्न सक्छ । गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल अस्ट्रेलियामा विशेष गरेर सामाजिक विषयका चलचित्रहरूले प्रभाव पारिरहेका छन्, उनी भन्छन् युवा पुस्ताको विषय पनि यहाँ बिक्न सक्छन् ।
यता विगत १५ वर्षदेखि त्यहाँ बस्दै आएका प्रेम सापकोटाको भनाइमा भने अस्ट्रेलियामा रहेका युवा पुस्तालाई चलचित्रले बाँध्न सक्नुपर्छ । उनीहरूलाई आफ्नो कला, संस्कृति र साहित्यतर्फ चासो बढाउने पक्षलाई पनि चलचित्रले उजागर गर्न सक्यो भने झनै सुनमा सुगन्ध हुन सक्ने कुरा गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका पूर्वउपाध्यक्ष प्रेम सापकोटा बताउँछन् ।
नेपाली चलचित्र अस्ट्रेलिया लगेर सिनेमाको बजार विस्तार गर्नेहरूको योगदानलाई एकातिर भुल्न सकिँदैन भने अर्कोतर्फ अस्ट्रेलियामा नै बसेर नेपाली चलचित्र बनाउने अनि काम गर्ने सिनेकर्मीहरूको उत्साह, उमङ्ग र उनीहरूको हौसलाको पनि कदर गर्नैपर्छ । विदेशमा रहेर पनि नेपाली चलचित्र बनाउने नेपालीको सङ्ख्यामा विश्वमै अस्ट्रेलिया एक नम्बरमा पर्छ । अहिले पनि आधा दर्जनभन्दा बढी नेपाली अस्ट्रेलिया बसेर पनि नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिइरहेका छन् । चलचित्र ऋतुका निर्माता अपिल विष्ट, सेफ ल्यान्डिङका निर्माता वसन्त भण्डारी, नाइँ नभन्नु ल २ र भुलभुलैयाका निर्माता दिनेश पोख्रेल, भाले फाइटका निर्माता÷निर्देशक अशोक राई ‘च्याप’, दोखका निर्माता मनोज अधिकारी र हमजाएगाका निर्माता÷निर्देशक सुरेन्द्र पुनले आर्थिक रूपमा जे–जस्तो अवस्था रहे पनि अस्ट्रेलियाबाटै चलचित्र निर्माण गरे । यो सब नेपाली चलचित्रलाई माया गर्ने र योगदान दिने उनीहरूको सोख हो । यी निर्माता÷निर्देशकहरूले अझै पनि चलचित्र निर्माणलाई अगाडि बढाउने’ नाफाका लागि होइन कि चलचित्र क्षेत्रमा आफ्नो उपस्थिति र योगदानका लागि लगानी गरिएको हो ।’ चलचित्र सेफ ल्यान्डिङका निर्माता भण्डारी बताउँछन् ।
अस्ट्रेलिया बसोवास गर्ने केही उत्साही चलचित्रकर्मीहरूको आँटले गर्दा नै अहिले उतैबाट चलचित्र निर्माण गर्नेहरूको सङ्ख्या बढ्दै छ । अस्ट्रेलियाको यो प्रभाव बिस्तारै अन्य मुलुकमा रहेका नेपालीको माझ पनि पुग्न थालेकाले क्रमशः विदेशबाट नेपाली चलचित्रमा लगानी भित्रने क्रमलाई सकारात्मक रूपमा लिन सकिन्छ ।