संविधान निर्माणमा असन्तुष्टि प्रकट गर्दै परोक्ष रूपमा छिमेकी भारतले सीमा नाकामा अघोषित नाकाबन्दी गरेपछि नेपाल–भारत सम्बन्धमा मात्र चिसोपन आएको नभई विभिन्न क्षेत्रमा यसका असर देखिएका छन् । अन्य क्षेत्रजस्तै सिने–व्यवसायमा समेत भारतीय नाकाबन्दीको प्रत्यक्ष असर परेको छ । नेपालजस्तो सानो र सहिष्णु छिमेकीप्रति भारतीय व्यवहार असहिष्णु रहेको भन्दै हिन्दी सिनेमा मनपराउने सिनेप्रेमीहरू आक्रोशित बन्न पुगेका छन् । नाकाबन्दीबाट चिढिएका नेपाली दर्शकले हिन्दी सिनेमाप्रतिको मोह स्वाट्टै त्यागेर नेपाली सिनेमाप्रति झुकाव बढाएका छन् । अर्को शब्दमा भन्नुपर्दा राष्ट्रियता झल्काउने भाव प्रकट गर्न उनीहरूले नेपाली सिनेमाप्रति स्नेह बढाएका छन् । यसरी हिन्दी सिनेमालाई दर्शकले बहिष्कार गरिदिँदा नेपालमा हिन्दी फिल्म वितरण गरेर करोडौँ कमाउँदै आएका वितरकहरू टाउकोमा हात राखेर चिन्ता व्यक्त गर्न थालेका छन् भने यतिबेला प्रदर्शनमा आएका नेपाली सिनेमाहरू मालामाल हुने सम्भावना बढेर गएको छ । यसको ज्वलन्त उदाहरण बन्न पुगेको छ हालै प्रदर्शनमा आएको हिन्दी फिल्म ‘कट्टीबट्टी’ र नेपाली चलचित्र ‘वडा नम्बर ६’ । अहिलेकी जल्दीबल्दी वलिवुड नायिका कंगना रनावतले अभिनय गरेको कट्टीबट्टीले बलिउडमा व्यापक सफलता पाएको छ । कंगनाको अभिनय र फिल्मको सफलताको चर्चा चुलिएको सन्दर्भमा नेपालमा पनि यसले व्यापक दर्शक पाउने निश्चित नै थियो । तर, नाकाबन्दीकौ लफडाका कारण दर्शकले हिन्दी फिल्म कट्टीबट्टीलाई दिलबाट ‘कट्’ गरिदिए भने सँगैजस्तो प्रदर्शनमा आएको ‘वडा नम्बर ६’तर्फ जोडतोडले आकर्षित भए । त्यसो त दिपक गिरी, दीपाश्री निरौलालगायतका चर्चित हास्य कलाकारहरूको संयुक्त प्रयासमा निर्माण भएको ‘वडा नम्बर ६’ यसै पनि दर्शकले मन पराउने सुनिश्चित नै मानिएको थियो । तर, निकै सफल मानिएका हिन्दी फिल्मसमेत दर्शकले लत्याइदिएपछि त्यसको प्रत्यक्ष लाभ नेपाली सिनेमालाई पुग्न गएको हो । ‘वडा नम्बर ६’प्रति यतिबेला दर्शक झुम्मिनुको कारण भारतले नेपालमाथि लगाएको नाकाबन्दी पनि प्रमुख हो । चलचित्र वितरकहरूका अनुसार पछिल्ला दिनमा हिन्दी फिल्मको व्यापार नब्बे प्रतिशतभन्दा बढीले खस्किएको छ । देशका विभिन्न स्थानमा घोषित रूपमै भारतीय फिल्म र भारतीय टीभी च्यानल बहिष्कार गरिएका छन् ।
प्रतिक्रिया