–यदुनाथ बञ्जारा
पोखरा । स्वास्थ्यचौकी भवन बनाउने जग्गा खरिद विषयमा स्थानीय बासिन्दाबीच चर्किएको विवादका कारण निर्माण योजना नै रद्द हुन सक्ने अवस्था सिर्जना भएको छ । पर्वतको भोर्ले गाविसमा रहेको उपस्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न चौकी निर्माण गर्न नेपाल सरकारले साढे दुई करोड रकमसमेत विनियोजन गरिसकेको अवस्थामा स्वास्थ्यचौकी भवनको जग्गा विषयमा उठेको विवादले उग्ररूप लिएको बताइएको छ ।
हाल चौकी रहेको भोर्ले गाविस वडा नं. २ का स्थानीय बासिन्दाले स्वास्थ्यचौकी निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने सम्भावनाबारेमा चर्चा चलिरहँदा स्थानीय टाठाबाठा कहलिएका राजनीतिक दलका कार्यकर्ताले भोर्ले गाविसको तल्लो भेग वडा नं. ३ मा रहेको बलबहादुर विकको जग्गा हतारहतार खरिद गरेर गाविसमा आएको विकास योजनाको बजेट दुरुपयोग गरेको पाइएको छ । ३ नंं. वडामा जग्गा खरिद गर्दा एमालेका स्थानीय नेता रेसम बस्यालले नेपाली काङ्ग्रेस र एमाओवादीका स्थानीय नेताको चित्त बुझाएर बलबहादुर विकको जग्गा खरिद गर्ने प्रपञ्च रची निर्णयसमेत गराई गाविस कोषको विकास बजेटलाई दुरुपयोग गर्ने दुस्साहस गरेका छन् ।
तल्लो भेगमा किनिएको जग्गा खोल्सो पहिरो लाग्न सक्ने जोखिमपूर्ण रहेको भए पनि एमालेका रेसम बस्याल आफंैैले बलबहादुर विकलाई केही वर्षअघि बेचेको जग्गा अहिले स्वास्थ्यचौकी भवनलाई भिडाएर आर्थिक लाभसमेत लिएको आशङ्का उब्जिएको छ । २ नं. वडाको फराक र उज्ज्वल ठाउँमा दाताहरूबाट निःशुल्क जग्गा पाइन्छ भन्ने लगभग निश्चित भएपछि हतारहतारमा र गोप्य निर्णय गरी दुई खोल्साछेउको जग्गा खरिद योजना सफल तुल्याइनुले राज्यकोषको दुरुपयोग भएको छ भने खरिद गरेको जग्गा पनि कमसल र जोखिमपूर्ण रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
भोर्ले गाउँ विकास समितिका सचिव अनुप भुसालसमेत स्वास्थ्यचौकी भवन निर्माणको लागि माथिल्लो भेग २ नं. वडाको जग्गा उपयुक्त रहेको बताउँछन् । उनले भने विशुद्ध ढङ्गले प्राविधिक ल्याएर देखाउने हो भने पनि माथिल्लो जग्गालाई उपयुक्त भन्ने अवस्था छ भने स्थानीय जनता माथिल्लो भेगमै भवन बनाउन पक्षमा बहुमत रहेको दाबी गर्छन् । उनले भने दुई भेगका विवादका कारण गाउँमा आएको योजना नै कोल्याप्स हुने चिन्ता लागेको छ ।’ भोर्ले गाविसका ६ वटा वडाका बहुमत जनताले माथि निःशुल्क जग्गामा स्वास्थ्यचौकी बनाउनुपर्छ भनिरहँदा स्थानीय राजनीतिक दलका नेताहरूले जनभावनाको अवमूल्यन गर्दै तल्लो भेग मा ३ वडामा नै स्वास्थ्यचौकी बनाउन लागिपर्नुले समस्याको आगोमा घ्यू थपेको अवस्था छ ।
जग्गा खरिदमा अनियमितता
निःशुल्क जग्गा पाउने अवस्था हुँदाहुँदै गाविसमा आएको विकास योजनाको बजेटबाट जग्गा खरिद गर्नुले सुरुमै अनियमितताको आशङ्का उब्जिएको छ । अख्तियारले खारेज गरिसकेको राजनीतिक दलको संयन्त्रको दबाबमा बैठक बोलाई गाविसबाट चार लाख १५ हजार रुपैयाँ छुट्याउन लगाएर बलबहादुर विकको जग्गा खरिद गरेको बुझिएको छ । सचिव अनुप भुसालले पनि संयन्त्र बैठकबाट चार लाख १५ हजार रुपैयाँ जग्गा खरिद गर्न छुट्याइएको पुष्टि गरे । स्थानीय विकास अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुखलगायत राजनीतिक दलका कार्यकर्तासमेतको रोहवरमा पैसा निकालेर दिएको सचिव भुसालले बताएका छन् ।
डेढ लाखको थैली चार लाख भुक्तानी
स्वास्थ्यचौकी निर्माण गर्न भोर्ले गाविसको विकास योजना बजेटबाट रकम निकालेर किनिएको जग्गामा भ्रष्टाचार भएको खुलासा भएको छ । जग्गाधनी बलबहादुर विकसँग चार लाख १५ हजारमा जग्गा किनेर र गाउँ परिषदबाट भुक्तानी दिने निर्णय गराई रकम निकासासमेत भइसकेको छ । सरकारी कोषबाट सरकारी कार्यालय प्रयोजनका लागि जग्गा खरिद गरिए पनि डेढ लाखको जग्गालाई चार लाख १५ हजार भुक्तानी गरेको पाइएको छ । बलबहादुर विकबाट स्वास्थ्यचौकीको नाममा जग्गा पास गर्दा जम्मा डेढ लाख रुपैयाँको थैली (मूल्य) राखेर राजीनामा तमसुक लेखी रजिस्ट्रेसन पास गराइएको छ । मालपोतमा डेढ लाख मूल्य तोकी पास गरिएको जग्गालाई चार लाख १५ हजार भुक्तानी देखाइएको छ । यसबाट सरकारी सम्पत्तिको अपचलन भएको सहजै बुझ्न सकिन्छ । चार लाख १५ हजार रकम गाविस कोषबाट निकालिएको रकममध्ये डेढ लाख जग्गा किन्दा खर्च भएकोबाट कटाएर रहेको रकम दुई लाख ६५ हजार कहाँ पुग्यो यसको खोजी हुनु जरुरी छ ।
निःशुल्क जग्गा पाउने अवस्था विद्यमान रहँदारहँदै जोखिमपूर्ण जग्गा खरिद गर्न तम्सने स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको बद्नीयतपूर्ण गतिविधिले भ्रष्टाचारलाई संस्थागत गर्ने प्रयत्न भएको छ । राज्यकोषको दुरुपयोग गर्ने कम थैली देखाएर राजस्व छली जग्गा पास गर्नेउपर राज्यका निकायले स्वतन्त्र छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने अवस्था छ । अख्तियार, स्थानीय प्रशासनको तदारुकता टड्कारो आवश्यकता महसुस भएको छ ।
प्रतिक्रिया