सुन्नुस् न… ग्यास रित्तियो
सुन्नु भो ? चामल सिद्धियो !
हेर्नुस् त छोराको झोला च्यातियो
लौ न ! छोरीको जुत्ता फाट्यो
ओहो ! विद्यालयबाट छोराछोरीको फी तिर्ने बिल आयो
थाहा पाउनु भो… घरबेटीले यो महिनादेखि भाडा बढायो
ला ! छोराको मोजामा प्वाल प-यो
ज्या ! छोरीको ज्यामिति बाकस हरायो
कविता लेख्न बस्दै गर्दा
मलाई यी र यस्ता प्रश्नले लखेटिरहन्छन्
बाबा… मलाई नयाँ नाना कहिले किनिदिने ?
बाबा… मलाई रिमोट कन्ट्रोल कार कहिले ल्याइदिने ?
बाबा… हामी फन क्लब नजाने ?
बाबा… हामी जू कहिल्यै नजाने ?
कविता लेख्नै लाग्दा मलाई यी जिज्ञाशाले चिमोटिरहन्छन्
अभाव, अनिश्चय र विद्रुपताका यी भुमरीबीच उभिएर
कुन सौन्दर्य शास्त्रको रचना गरूँ ?!
गरिबीको अत्यासिलो अमिलो रापमा पिल्सिएर
कसौँडीको पिँधमा डाडुपन्यू बज्रिँदा निस्केको
विरक्तलाग्दो कलरवबीच
कुनै सुन्दरीको कल्पना गरी
कसरी कविता लेखुँ म ?
त्यसैले मैले अर्को एउटा अकविता लेखेँ ।
प्रतिक्रिया