नेपाली खेलकुदमा आफूलाई दूधले नुहाएको व्यक्तिको रूपमा प्रस्तुत गर्दै आएका अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापाको अहिले नराम्रोसँग धोती फुस्किएको छ । थापाको धोती फुस्किँदा उनले भित्री अर्थात् गोप्यरूपमा गर्ने आर्थिक चलखेलका काला कर्तुतहरूको पनि पर्दाफास भएको छ । विगत सत्र वर्षदेखि नेपाली फुटबलमा तानाशाही चलाउँदै आएका थापाको अहिले भित्री साँठगाँठको पनि भण्डाफोर भएको छ । एन्फाबाट सुका तलब नलिने स्वाङ रच्ने थापा कतिसम्म नाटक गर्दा रहेछन् त्यो यो घटनाले प्रमाणित गरेको छ । डलरको मातमा रम्दै आएका थापाले रुपैयाँलाई गन्नै छोडेको अहिले थुप्रै वर्ष भइसकेको छ । एन्फाका हरेक आर्थिक कारोबार आफ्नो घरबाट गर्दै आएका थापाले यसपटक छोरा गौरव थापालाई पनि यो खेलमा समावेश गरेका छन् । जुन कुराले अहिले सिङ्गो खेलकुद जगत्मा सनसनी फैलाएको छ भने गणेश थापा फुटबलमा टाँसिइराख्नुको पोलसमेत नराम्रोसँग खोलेको छ ।
थापाको धोती फुस्काउने काम अन्तर्राष्ट्रिय एकाउन्टिङ फर्म प्राइसवाटरहाउसकुपर्सले गरेको हो । सो एकान्टिङ फर्मले एएफसीको लेखा परीक्षण प्रतिवेदन हात पारेको उल्लेख गर्दै उक्त प्रतिवेदनमा एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई एक लाख डलरसहित अन्यलाई हजारौँ डलर बाँडेको उल्लेख गरिएको छ । एसियाली फुटबल महासङ्घका पूर्वअध्यक्ष मोहम्मद विन हमालले थापालाई फिफा निर्वाचनका बेलामा भोट किन्नका लागि उक्त रकम प्रदान गरेको खुलासा गरेको छ । सो कार्यका लागि हमामले आफ्नो व्यक्तिगत खाताको प्रयोग गर्दै थापाका छोरा गौरव थापाको नाममा एक लाख डलर राखिदिएको थाहा भएको छ । तर, थापाले आफूले उक्त रकम हमामसँग सापटीको रूपमा लिएको बताएका छन् । हमामसँग आफ्नो नजिकको सम्बन्ध रहेको जिकिर गर्ने थापाले समस्या पर्दा गर्जो टार्न हमामसँग सापटी लिएको स्वीकार गरेका छन् । थापाले आफूले ९ जुलाई २००९ मा हमामसँग सापटी लिएको र उक्त रकम २०११ भित्र नै तिरेको दाबी गरेका छन् ।
थापालाई फिफाको चुनावकै समयमै त्यस्तो के गाह्रो पर्यो र उनले विदेशी मुद्रा नै किन सापटी लिनुपर्यो त्यो अहिलेसम्म बुझ्न सकिएको छैन । थापालाई रकम सापटी चाहिएकै भए उनलाई नेपालमा नपत्याउने बैंक कुन थियो होला र ? यहाँ मनन गर्नु उपयुक्त होला । अर्को कुरा नेपालको कानुनअनुसार पनि विदेशी मुद्रा सापटी लिँदा त्यसको कानुनी आधार र अडचन पनि पूरा गर्नुपर्छ । तर, यहाँ त्यस्तो केही गरिएको छैन । विदेशी रकम छोराको खातामा सीधै जम्मा गरेर त्यसको अपचलन गरिएको छ । जसले गर्दा अहिले थापामाथि आर्थिक अनियमितताको तरबार उठ्नु स्वाभाविक भएको छ । जसको सबै सत्यतथ्य थापाले आगामी दिनमा दिनुपर्नेछ । सापटी लिएको रकम दुई वर्षको अवधिमा पटकपटक गरेर तिरेको दाबी गर्ने थापाले कुन–कुन मितिमा उक्त रकम हमामको खातामा जम्मा गरे त्यसको स्टेटमेन्ट पनि बुझाउनुपर्नेछ । अझ यहाँ बिर्सनै नहुने कुरा के छ भने २००९ मा एक लाख डलर सापटी लिने थापाले दुई वर्षको अवधिमा कहाँबाट ल्याएर त्यो रकम चुक्ता गरे त्यसको स्रोत पनि खुलाउने पर्नेछ । एन्फाबाट सुका तलब नलिने थापाले कुन आयस्रोतबाट त्यत्रो रकम चुक्ता गरे त्यसको पनि खुलासा गर्नुपर्नेछ । थाहा भएअनुसार उक्त अवधिमा थापाले आफ्नो कुनै पनि प्रोपटीको बिचबिखन नगरेको बुझिएको छ ।
वास्तविकभन्दा टाढाको हमामसँगको आर्थिक साँठगाँठले अहिले गणेश थापा विवादमा तानिएका छन् । छोरा गौरव थापा त देखाउने दाँत मात्र हुन् । खाने दाँतचाहिँ गणेश थापा नै हुन् भन्ने अहिले सबैको मुखमा झुन्डिएको छ । । बिनास्रोतको यति ठूलो रकम आफ्नो नाममा आउँदा विभिन्न शङ्का–उपशङ्का गरिने र नेपालमा पोल खुल्ने भएकोले थापाकै रणनीतिमा छोरा गौरवको खातामा रकम जम्मा गरिएको हो । छोरा गौरवलाई बलिको बोका बनाएर आफ्नो स्वार्थसिद्ध गरेका थापाले अहिले जस्तोसुकै अभिव्यक्ति दिए पनि त्यसलाई पचाउन निकै गाह्रो भएको छ । यसअघि पनि विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपमा थापा मुछिएका थिए । त्यसमा थापाले पैसाको आडमा रातारात प्रतिवेदन बदल्न लगाई आफूलाई क्लिन चिट दिन लगाएका थिए । तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद्ले रामकृष्ण निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरे पनि उक्त समितिले प्रतिवेदन पेस गर्न सकेको थिएन । आर्थिक अनियमितताका कारणले पटकपटक अख्तियार अनुसन्धान आयोगको ढोका चहारिसकेका थापाले त्यहाँ पनि शक्ति र पैसाको आडमा सबै आरोपलाई रफा दफा गर्न सफल भएका थिए । तर, अहिलेको मुद्दा पहिलेको भन्दा अलि भिन्न र गम्भीर भएकोले थापाले ब्ल्याक मनीलाई कसरी ह्वाइट मनी बनाउँछन् प्रतीक्षाको विषय बनेको छ ।
प्राप्त जानकारीअनुसार विदेशी लगानी व्यक्तिविशेषका लागि नभई उद्योगधन्दा चलाउनका लागि मात्र हुन्छ । त्यो पनि विदेशी लगानी हस्तान्तर ऐनअन्तर्गत राष्ट्र बैंकको स्वीकृतिमा मात्र हुन्छ । तर, थापाले विदेशी मुद्रा सापटी लिँदा राज्यको कुनै पनि निकायको स्वीकृति लिएको देखिँदैन । उनले सापटी लिएको रकमलाई कसरी नेपाल भित्याए र कसरी पुनः उक्त रकम डलरमै तिरे त्यो अहिले बुझिनसक्नु भएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिविशेषका लागि दुई हजारसम्मको कारोबारमा समेत नियम–कानुनमा रहेर गर्नुपर्ने हुन्छ भने त्यसभन्दा माथिको रकममा त सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्नुपर्छ ।
स्रोत नखुलाई विदेशी मुद्रा भित्याउनु र तिर्नुले नेपालको कानुनअनुसार थापामाथि विदेशी मुद्राको अपचलन गरेकोमा कानुनी कारबाही हुने पक्का भएको छ । त्यस्तै न्यायपरिषद्का सदस्य उपेन्द्रकेसरी न्यौपानेले एएफसीको उपाध्यक्ष र एन्फाको अध्यक्ष पदमा बसेको व्यक्तिले व्यक्तिगत भनेर टार्न नमिल्ने बताएका छन् । फिफाको चुनावको सन्दर्भसँग यो रकमको लेनदेन जोडिएकोले सापटी र व्यक्तिगत भनेर टार्न नमिल्ने न्यौपानेले बताए । यो रकममा आर्थिक अनियमियताको गन्ध आएको छ भन्दै न्यौपाने सापटी लिएको रकम किन गणेश थापाको नेपाली एकाउन्टमा जम्मा नभएको भनेर प्रश्न गरेका छन् । उनले राज्यले थापालाई निलम्बन गरी तत्काल छानबिन गर्नुपर्ने बताए । तर, थापाले उक्त रकम गौरवकै खातामा मलेसियामा राखिएको बताएका छन् । साथै थापाको छोरा गौरवलाई हनिमुन मनाउन, दाँत सुन्दर बनाउन, बुल्गेरियन घडी किन्न र परिवारलाई भुक्तानी गर्न हमामले रकम प्रदान गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्मरणीय छ, हमामले थापालाई प्रदान गरिएको रकम सबैभन्दा बढी हो ।
जे होस्, यो डलर काण्डपश्चात् थापाको मान, सम्मान र प्रतिष्ठामा आँच आउने पक्का भएको छ । लहरो तान्दा पहरो गर्जिने सङ्केत साथ सार्वजनिक भएको यो डलरकाण्डले गणेश थापालाई कठघरामा उभ्याउने पक्का भएको छ । विगतका तीनवटा छानबिन आयोगलाई थापाले धोती लगाइदिए पनि यो काण्डले ती आयोगलाई पनि पुनः पुनर्जीवित नबलाउला भन्न सकिँदैन । शक्ति र पैसाको आडमा विगत डेढ दशकदेखि फुटबलमा एकछत्र राज गर्दै आएका थापाको यो डलर काण्डले तेजोबध गरेको छ । यो काण्डपछि उनी फुटबलको मैदानबाट सडकमा नपुग्लान् भन्न सकिँदैन । मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ भनेझैं थापाले पनि छोरा गौरवमार्फत एक लाख डलरको प्वाँख हालेकाले अब उनको दुर्दशा कस्तो हुने त्यो हेर्न लायक भएको छ । यसमा विदेशी मुद्राको अपचलन गर्ने व्यक्तिमाथि सरकारले कस्तो कारबाही गर्छ त्यो महत्वपूर्ण हुनेछ । तर, फुटबलमा झैं राजनीतिमा चतुर खेलाडीको रूपमा रहेका थापाले यो डलर काण्डलाई पनि चाकरी, चाप्लुसी र पैसाको आडमा रफादफा गरे भने अन्यथा मानिने छैन ।
खेलकुदको विकास नचाहनेले भ्रम फैलाएको आरोप
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले खेलाडी जीवन व्यतीत गरिरहेका खेलाडीहरूबाट खेल शिक्षक तयार गर्ने राखेपको निर्णयलाई लडाकु र वाईसीएल भर्ती गर्न खोजिएको आरोपप्रति आपत्ति प्रकट गरेका छन् । लामाले यो खेलकुदको विकास नचाहने केही अराजनीतिक व्यक्तिहरूले भ्रम सिर्जना गर्ने उद्देश्यले फैलाएको हौवामात्र भएको बताएका छन् । राखेपको ९३औँ बोर्ड बैठकले समग्र खेलकुदको विकासका लागि दुई हजार पाँच सयदेखि तीन हजारसम्म प्रशिक्षण दिन सक्ने योग्य व्यक्तिहरू छनोट गरी स्तरीय खेलाडी उत्पादन गर्ने कार्यक्रम अगाडि सारेको थियो । त्रिपुरेश्वरस्थित राखेप हातामा हालै आयोजित बहुआयामिक खेल शिक्षक/दक्ष खेल जनशक्तिसम्बन्धी ‘अन्तरक्रिया एवम् सुझाव सङ्कलन कार्यक्रम’मा सदस्यसचिव लामाले सो कुरा बताएका हुन् ।
सदस्यसचिव लामाले अनैतिक, अराजनीति र गन्तव्यहीन कार्य गर्नुपर्ने अवस्था आएमा आफूले तत्काल राजीनामा दिने सो अवसरमा बताएका थिए । लामाले आफू सदस्यसचिव भएदेखि अहिलेसम्म जंगबहादुर शैलीमा नभई कामको प्रकृति हेरेर सम्बन्धित विभाग, शाखालगायत सबैसँग छलफल गरी कार्य अगाडि बढाउने गरेको प्रस्ट पारेका थिए । एउटा पवित्र उद्देश्य लिएर खेलकुदको विकासका लागि दक्ष खेल जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ राखेपले कोर्स सञ्चालन गर्न लागेको बताउँदै लामाले सहभागीको सुविधालाई ध्यानमा राखी अन्य विकास क्षेत्रमा उक्त कोर्स सञ्चालन गर्ने जानकारी दिएका थिए । लामाले ओलम्पिक कमिटीलगायत राष्ट्रिय खेल सङ्घको आर्थिकलगायत विविध पक्षको छानबिन गर्न गठित उच्चस्तीरय छानबिन समितिले आफ्नो कार्य अगाडि बढाइरहेको बताउँदै यदि दोषी पाइए राखेपले कारबाही गरी छाड्ने बताए ।
दक्ष खेल जनशक्ति उत्पादन गर्ने कोर्समा सहभागितासम्बन्धी मापदण्डबारे जानकारी गराउँदै उनले भने, ‘कम्तीमा एसएलसी वा सोसरह उत्तीर्ण भएको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय वा क्षेत्रीय प्रतियोगितामा सहभागी भएको, मार्सल आर्टमध्ये कराते र तेक्वान्दोको हकमा न्यूनतम ब्ल्याकबेल्ट तथा उसुमा रेड बेल्ट र डिप्लोमा गरेको, विद्यालयमा नियमित रूपमा खेल शिक्षक भई कम्तीमा एक वर्षसम्म कार्यरत रहेका १८ वर्ष पूरा भएकाले कोर्समा सहभागी हुन पाउनेछन् ।’ राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले दक्ष खेल जनशक्ति उत्पादन गर्ने निर्णयलाई लडाकु भर्ना गर्न खोजिएको भन्ने भनाइ निराधार भएको बताउँदै ओलम्पिक कमिटीबाट अहिले खेलाडी र खेलकुदको शिर झुकाउने काम भइरहेको धारणा व्यक्त गरेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले खेलकुदको वास्तविक विकासका लागि खेलकुदलाई तल्लो तहसम्म पुर्याउनुपर्छ भन्ने अवधारणालाई दक्ष खेल जनशक्ति उत्पादन गर्ने राखेपको निर्णयले सहयोग पुर्याउने भन्दै खेलाडीको नाम भजाएर मस्ती गर्नेहरू एक दिन अवश्य परास्त हुने बताउनुभयो ।
कार्यक्रममा उपस्थित अधिकांशले दक्ष खेल जनशक्ति उत्पादन गर्ने कार्यले खेलकुदको विकासमा थप योगदान पुग्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राष्ट्रिय खेल सङ्घका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, राखेप कर्मचारी सङ्घका पदाधिकारीलगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
बदलासँगै एनटीभीलाई फुटबल उपाधि
पाँचौँ डाइरेक्सन नेपाल मिडिया कप फुटबल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजन (एनटीभी) ले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एनटीभीले डिफेन्डिङ च्याम्पियन इमेज च्यानललाई ३–२ गोलअन्तरले पराजित गरेको हो । उपाधिसँगै एनटीभीले अघिल्लो संस्करणको फाइनलमा इमेजसँग व्यहोरेको पराजयको बदलासमेत लिएको छ । निकै प्रतिस्पर्धात्मक रहेको फाइनल खेल निर्धारित ७० मिनेटसम्म १–१ को बराबरीमा टुङ्गिएको थियो । एनटीभीका प्रज्ज्वल शाक्यले २९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए पनि इमेजका सुनील ताम्राकारले ५०औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा पुर्याएका थिए । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
७६औँ मिनेटमा देवेन्द्र महर्जनले गोल गर्दै इमेजलाई २–१ को अग्रता दिलाए पनि इमेजको त्यो अग्रता क्षणिक रहन पुगेको थियो । ७७औँ मिनेटमा नै एनटीभीका प्रज्ज्वलले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । त्यसपछि ८५औँ मिनेटमा बालकृष्ण पौडेलले निर्णायक गोल गर्दै एनटीभीलाई उपाधि दिलाएका थिए । त्यस्तै फाइनलअघि खेलाडी र कलाकार टोलीबीच भएको खेलमा खेलाडी टोली २–१ विजयी भएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पुरस्कृत गर्नुभएको थियो । नेपाल ओलम्पिक सङ्ग्रहालयको आयोजनामा असार २६ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ टिम सहभागी थिए । प्रतियोगिताको उद्घाटन र फाइनल खेल दशरथ रंगशालामा भएको थियो भने अन्य खेलहरू लगनखेलस्थित बुद्धि विकास मण्डलको मैदानमा भएको थियो ।
कराते महासंघको अध्यक्षमा दावा
नेपाल कराते डो महासंघको अध्यक्षमा दावा गुरुङ चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महासंघको पहिलो साधारणासभाले दावाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन गरेको हो । त्यस्तै देवकुमार लामा उपाध्यक्षमा चुनिए भने सानुलाल श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाएका छन । यसैगरि महासंघको सदस्यमा प्रकाशमोहन धौबडेल, ध्वजमान मोक्तान, बलराम मित्र, विसनसिंह खड्का, श्याम शेर्पा, ओमकृष्ण प्रसाईं, नारायणबहादुर मगर, राधिका देउला, कपिल पाण्डे, कुवेरमान राई, इन्द्र वज्राचार्य तथा राजु थापा भए ।
निर्वाचित र मानोनितसहित केन्द्रीय कार्यसमितिको संख्या ३१ रहेको छ । अब समान ४–४ उपाध्यक्ष र सचिव, १ महासचिव र ७ सदस्यको मनोनयन पश्चात केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ । साधारणसभामा पाँच विकास क्षेत्र, गोजुरियो, वादोरियो/वादोकाइ, सोतोकान, सितोरियो, कार्यसमितिअन्तर्गतको विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, निर्णायक, प्राविधिक कमिटी, प्रशिक्षक, दक्षिण एसियाली/एसियाली स्वर्ण विजेता तथा केन्द्रका गरी कूल ९७ प्रतिनिधिको उपस्थिति रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसअघि सदस्य–सचिव लामाले नै साधारणसभाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा एसियाली कराते महासंघका अध्यक्ष चाङ कुवाङ हुइको शुमकामना पत्र वाचन गरिएको थियो ।
प्रतिक्रिया