स्वतन्त्रता सबैलाई प्यारो लाग्छ । लोकतन्त्रमा समानता र स्वतन्त्रताको अन्तसम्बन्ध कस्तो हुन्छ र स्वतन्त्रता अनि समानता भनेको के हो, कस्तो हुनुपर्छ भन्ने ज्ञात हुनु अत्यावश्यक हुन्छ । सन् १७८९ मा फ्रान्समा भएको राज्यक्रान्तिले स्वतन्त्रता, समानतान र भाइचाराको नारा विश्वभरि फैलायो । आधुनिक संसारमा यसैलाई लोकतन्त्रको आत्म मानिन्छ । स्वतन्त्रतालाई अङ्गे्रजी भाषामा ‘लिबर्टी’ भनिन्छ । यो ल्याटिन भाषाको ‘लिबर’बाट जन्मेको हो जसलाई ‘बन्धनमुक्त’ भन्ने अर्थमा बुझिन्छ । एम. केचनीका अनुसार ‘पूर्ण स्वतन्त्रता जङ्गली गधाझैं हुन्छ’ जसलाई स्वतन्त्रता भन्न सकिन्न । मानिसको जीवनमा स्वतन्त्रता सबैभन्दा ठूलो आवश्यकता हो । जेएस मिल आफ्नो प्रसिद्ध पुस्तक ‘अन लिबर्टी’ मा भन्छन्, ‘व्यक्ति स्वयम् प्रभुत्वसम्पन्न हुनु नै स्वतन्त्रता हो ।’ व्यक्तिलाई सबै कार्य गर्ने स्वतन्त्रता होस् जसले अरूलाई हानि–नोक्सानी नपुगोस् भनेका छन् मिलले । त्यस्तै अर्को परिभाषामा उनी भन्छन्, ‘ती सबै कार्य गर्ने स्वतन्त्रता जसलाई गर्ने व्यक्तिको अभिलाषा हुन्छ ।’ उनको परिभाषामा चाहिने तत्व भए तापनि सम्पूर्ण दृष्टिकोणबाट स्वतन्त्रताको उपयुक्तता देखिँदैन ।
प्रोफेसर सिले भन्छन्, ‘स्वतन्त्रता अति शासनको विपरीत हो ।’ मेकेनीका अनुसार ‘सबै प्रकारका प्रतिबन्धहरूको अभाव होइन बरु अनुचितको स्थापना उचित प्रबन्धहरूको व्यवस्था हो ।’ ‘फ्रोसर लास्की भन्छन्, ‘स्वतन्त्रतामा त्यो शक्ति निहित हुन्छ जसद्वारा व्यक्ति कुनै बाधाबिना अर्थात् बाह्य अड्चनबिना आफ्नो जीवन विकासको बाटो आफैं रोक्न सक्दछ । डा. वार्कर भन्छन्, ‘स्वतन्त्रता बन्धनहरूको अभाव होइन तर यस्ता नियन्त्रणहरूको अभाव हो जो मानवीय विकासमा सहायक हुन्छ ।’ त्यस्तै स्पेन्सरका अनुसार, ‘प्रत्येक व्यक्ति आफ्नो इच्छाअनुसार काम गर्न स्वतन्त्र छ जबसम्म ऊ अरूको स्वतन्त्रतामाथि बाधा पुर्याउँदैन ।’ कोलका अनुसार, ‘स्वतन्त्रताको अर्थबिना कुनै बाहिरी बाधाबाट व्यक्तिको व्यक्तित्व व्यक्त गर्ने स्वच्छन्दता हो ।’ यी भनाइहरूबाट प्रस्ट हुन्छ कि स्वतन्त्रताका पनि सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन् । व्यक्तिले व्यक्तित्वको विकासबाट आफ्नो स्वतन्त्रताको रक्षा गर्ने र राज्यले त्यसअनुकूल वातावरण उत्पन्न गरिदिने सकारात्मक पाटो हो भने स्वतन्त्रतामा बाधा पुर्याउने तत्वहरूलाई समाजबाट हटाउनु स्वतन्त्रताको नकारात्मक अर्थ हो ।
मन्टेस्क्युले स्वतन्त्रतालाई राजनीतिक र नागरिक गरी दुई भागमा विभाजन गरे भने सबै विद्वान्हरूको सार लिने हो भने स्वतन्त्रता प्राकृतिक, नागरिक अथवा सामाजिक, आर्थिक, राजनीतिक, राष्ट्रिय, धार्मिक तथा नैतिक गरी सात भागमा विभाजन गर्न सकिन्छ । कानुनलाई पनि कसैले स्वतन्त्रताविरोधी सम्झन्छन् भने कसैले पूरक/स्वतन्त्रतासँगै समानता पनि गाँसिएर आउँछ त्यसैले समानताबारे पनि उत्तिकै ख्याल राख्नु जरुरी हुन्छ ।
कतिपय मानिस समानताको धेरै नै सङ्कुचित अर्थ लगाउँछन् । ती व्यक्तिहरूका विचारअनुसार सबै बराबर हुनुपर्छ, धनी र गरिब हुनुहुँदैन, शिक्षित र अशिक्षित हुनुहुँदैन, निर्धो, दुब्लो तथा बलियो सबै एकसमान हुनुपर्छ आदि । सबैले एकै समान भोजन गर्न पाउनुपर्छ, एकै समान शिक्षा, आवास गृह आदि । प्रकृतिद्वारा जन्मिएका व्यक्तिमा पनि समानता पाइँदैन, कोही अग्ला छन् कोही पुड्का । मानिसका पाँच औंला त समान छैनन् भने यस किसिमका समानताको सोच आफैंमा भ्रमात्मक हुन्छ । प्रकृतिले नै मानिसको शारीरिक शक्ति, रूप, रंग, मानसिक स्थिति जन्मदेखि नै एक–अर्कामा फरक–फरक उत्पन्न गरेको हुन्छ । त्यसकारण समानताको यस्तो अर्थ ठीक छैन ।
समानताको सही अर्थ हो समाजमा व्यक्तिले समान सुविधा पाउनु । ठूलो, सानो, धनी, गरिब, शिक्षित, अशिक्षित आदिको भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गर्नु । प्रोफेसर लास्की भन्छन्, ‘समानताको अर्थ हो वर्ण, जाति, लिङ्ग तथा व्यवसायको भेद नगर्नु अर्थात् सबैलाई समान सुविधा प्रदान गर्नु ।’ भारतका प्रसिद्ध नेता जवाहरलाल नेहरू भन्छन्, ‘समाजनताको अर्थ प्रत्येक मानिसद्वारा आफ्नो व्यक्तित्व विकासका निम्ति एकै किसिमका सुविधाहरू प्राप्त गर्नु हो ।’ कोही भन्छन्, ‘मानिस आफ्ना अधिकारहरूको सम्बन्धमा समान रूपले पैदा भएका छन् र समान रहेका छन् ।’ सामाजिक न्यायका दृष्टिले सबै समान छन् । सबैलाई मताधिकारको अधिकार छ । यसरी समाज र राज्यले प्रत्येक व्यक्तिलाई कुनै भेदभाव नगरी व्यक्तिको विकासका लागि समान अवसर प्रदान गराउनुलाई नै समानता भनिन्छ । यसरी थाहा हुन्छ कि समानताका पनि दुई पक्ष हुन्छन्, नकारात्मक र स्वीकारात्मक । जन्म, जाति, वर्ण, लिङ्ग, व्यवसायको आधारमा चलिरहेका असमानतालाई कुन प्रकारले हटाई व्यक्तिको व्यक्तित्व विकास गर्न सकिन्छ भन्ने नकारात्मक अर्थ हो भने सबैलाई समान अवसर प्रदान गर्ने, कुनै किसिमको भेदभाव नगरी व्यक्तिको व्यक्तित्वको विकास गर्ने समान सुविधाहरू उपलब्ध गराउनका लागि सरकारले यसको उचित व्यवस्था गर्नु र ‘जुँगा हेरी भाग’ को अवस्था समाज र राज्यले नराख्नु समानताको स्वीकारात्मक पक्ष हो ।
विश्वप्रसिद्ध विद्वान्हरूको परिभाषाको सारमा समानता जम्मा ६ प्रकारका हुन्छन् । ती हुन्– सामाजिक, नागरिक, राजनीतिक, आर्थिक, धार्मिक र प्राकृतिक समानता । रुसोले भनेझैं, ‘मानिस स्वतन्त्र रूपले जन्मन्छन् तर ऊ चारैतिर जन्जिरले जकडिएको हुन्छ ।’ स्वतन्त्रता र समानताका यी परिभाषाहरू वा यथार्थहरूसँगै यी दुईबीचको अन्तर्सम्बन्ध कस्तो छ त्यो थाहा हुनु पनि उत्तिकै अत्यावश्यक हुन्छ ।
केही दार्शनिकहरूले स्वतन्त्र र समानतालाई एक–अर्काका विरोधी बताएका छन् । लर्ड एक्टन र ढाकबिलले आफ्नो तर्कको समर्थनमा मानिस बल, विद्या, बुद्धि, रूप, गुण आदिमा एक–अर्काबाट भिन्न भएकाले र प्रकृतिमा पनि अनेक असमानताहरू भएकाले असमानता प्रकृतिप्रदत्त हो भन्छन् । लर्ड एक्टन भन्छन्, ‘यदि राज्यले यो असमानताको पक्षलाई उपेक्षा गरी समानता स्थापित गर्ने कोसिस गर्यो भने यहाँसम्म हुन सक्दछ कि मेधावी तथा प्रतिभासम्पन्न व्यक्तिले कहिल्यै उन्नति नै गर्नै नसकोस् । राज्यले यसरी समानता त स्थापित गर्दछ तर कतिपय व्यक्तिहरूको स्वतन्त्रता नै समाप्त हुन पुग्नेछ ।’ तर स्वच्छन्दतालाई कहिले पनि स्वतन्त्रता भन्न सकिन्न । मानिसलाई पूर्ण रूपले स्वच्छन्द छाड्ने हो भने पुनः मत्स्यन्याय स्थापित हुन जानेछ । मानव सभ्यताले आजसम्म गरेको विकास समाप्त हुनेछ । अधिकार समानतामै सम्भव छ र स्वतन्त्रताले अधिकारको रक्षा गर्दछ । जुन समाजमा वर्ण, जाति, लिङ्ग, धनी, गरिब, ठूलो, सानोको भेदभाव हुन्छ त्यस्तो समाजमा स्वतन्त्रता केवल सपना मात्र हुन जान्छ । त्यसैले प्रोफेसर टोने लेख्छन्, ‘वास्तविक स्वतन्त्रता समानताहरूको समाजमा नै सम्भव छ ।’
समानताको जगमा नै स्वतन्त्रताको पल फल्दछ । प्रोफेसर लास्की लेख्छन्, ‘राजनीतिक स्वतन्त्रता तबसम्म हुन सक्दैन जबसम्म आर्थिक समानता हुँदैन । व्यक्तिलाई कतिपय अधिकार किन प्राप्त नहुन् यदि समान अवसर प्राप्त नहुने हो भने र नातावाद–कृपावाद चल्ने हो भने सबै अधिकारहरू निरर्थक हुन्छन् । जस्तै एउटा कुनै मिलले वा सरकारले सबै व्यक्तिलाई समान अवसर दिने नीति लिएन भने जतिसुकै योग्य व्यक्तिले पनि पद प्राप्त गर्न सक्ने छैन । त्यसैले समानताबिना स्वतन्त्रता असम्भव छ र समानता र स्वतन्त्रता एक–अर्काका परिपूरक हुन् । स्वतन्त्रताको अभावमा समानताको जन्म सम्भव छैन किनकि सामाजिक समानताको इच्छा गर्नुअघि सामाजिक स्वतन्त्रता हुनुपर्छ । त्यसैगरी राजनीतिक स्वतन्त्रता प्राप्त गरेपछि मात्र व्यक्तिले शासनमा भाग लिन्छ र समानताका लागि उचित वातावरणको सिर्जना गर्न सक्दछ । यसप्रकारले स्वतन्त्रता समानताको स्रोत मानिन्छ । रुसोले भनेका थिए, ‘स्वतन्त्रताको अभावमा समानताको जीवन रहन सक्दैन ।’ त्यसैगरी लास्की भन्छन्, ‘स्वतन्त्रता समानताबिनाको खोक्रो हुन्छ र समानता स्वतन्त्रताबिना अर्थहीन ।’
यी विवेचनाबाट थाहा हुन्छ कि स्वतन्त्रता र समानता प्राण र शरीरजस्तै एक–अर्काका पूरक हुन् । एउटाको अभावमा अर्को प्राणहीन हुन जान्छ । त्यसैले आजभोलि हरेक राष्ट्रले आफ्ना नागरिकलाई मौलिक हकहरूका साथै समान अवसर तथा समान व्यवस्थाको हक दिलाउने गरी संविधानमा व्यवस्था गरेका छन् ।
प्रतिक्रिया